कला


गीतकार डम्बर याक्सोको ‘आमाको तृष्णा’ सार्वजनिक (भिडिओ)

भन्छन्ः छायांकनकै क्रममा युनिटका केहीले आँसु थाम्न सकेनन्
गीतकार डम्बर याक्सोको ‘आमाको तृष्णा’ सार्वजनिक (भिडिओ)

मगेन्द्र राई
मंसिर २०, २०८१ बिहिबार १३:४३, हङकङ

आमा जो आफ्नो काँधमा सारा दु:खको भार बोक्दै भित्रभित्र रोएर दुनियाँसामु आफ्ना सन्तानका निम्ति मुस्कान छर्छिन्। आफ्ना सन्तानप्रति आमाको माया कहिल्यै कम हुँदैन, ओइलाउँदैन।

त्यसैले मनुष्य जातिको जिब्रोले उच्चारण गर्ने सबैभन्दा सुन्दर शब्द हो- आमा। आमाको माया फुलेको फूलभन्दा सुन्दर हुन्छ। 

त्यस्तो ममतामयी आमा गुमाउनुपर्दा कस्तो पीडा होला!

यस्तै कारुणिक अवस्थालाई शब्दमा उनेर कवि तथा गीतकार डम्बर याक्सो लिम्बुले ‘आमाको तृष्णा’ म्युजिक भिडिओ  सार्वजनिक गरेका छन्। 

गायिका मुना ठटालको  स्वर र विक्रम राईको संगीत रहेको ‘आमाको तृष्णा ’ म्युजिक भिडिओ सेवा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सोमबार (मंसिर १७ गते) सार्वजनिक गरिएको हो।

रेकर्डिङ, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङको रहेको उक्त गीतको अरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन्। सेवा स्टुडिओमा रेकर्डिङ गरिएको गीतको छायांकन पारस मुकारुङले गरेका हुन्।

भिडिओ निर्देशन र सम्पादन जीवन मुकारुङले गरेका हुन् भने हाङमा वनेमले मेकअप गरेकी हुन्।

गीतको भिडिओमा गीतकार  स्वयं याक्सो, सुकमाया थाङ्देन याक्सो, चन्द्रकला हुक्पा चोङबाङ थाङ्देन, हविप थाङ्देन, चन्द्र एभेङ र प्रितुसा थाङ्देनले अभिनय गरेका छन्।

गीतमा सानै उमेरमा आमा गुमाउनुपर्दाको पीडालाई कारुणिक ढंगले प्रस्तुत गरिएको छ। छायांकनकै क्रममा युनिटका केहीले आँसु थाम्न नसकेको याक्सोले नेपालखबरलाई सुनाए। 

गीत निकै मार्मिक बनेछ, कुन परिस्थितिमा यस्तो गीतको सिर्जना भयो?

नेपालखबरको जिज्ञासामा गीतकार याक्सोले भने, ‘हो, अलि कारुणिक नै छ, छायांकनका क्रममा केही क्रु मेम्बरहरूले पनि आँसु थाम्न सकेनन्। हुन अनि आमाको माया ताजा फूलभन्दा सुन्दर हुन्छ। हरेक सन्तानका लागि आमा शीतल छहारी हो, आमाभन्दा महान् अरू कोही हुन सक्दैन, आमाको स्थान कसैले लिन सक्दैन। त्यसैले आमा गुमाउनुको पीडा असह्य हुने गर्दछ।’

गीतकार याक्सोले आफ्नो श्रीमतीको आमा गुमाउँदाको पीडाको अनुभव  सुनाउँदै थपे, ‘पुरुषको तुलनामा महिलाहरु अलि बढी संवेदनशील हुन्छन्, यो गीत सबै आमा गुमाउनेहरूका लागि हो।’ 

ताप्लेजुङ हाङ्पाङका स्थायी बासिन्दा याक्सो पूर्वबेलायती सैनिक हुन्। हाल ललितपुर तिखेदेवलमा बस्ने याक्सो सेवानिवृत्त जीवन समाजसेवा र साहित्य सेवामा व्यतीत गर्ने सोच बनाएका छन्।

गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad