नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ विमोचन भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा कार्यक्रम आयोजना गरी उपन्यास विमोचन गरिएको हो।
उपन्यासकी प्रमुख पात्र विद्या ढकाल (का. जलजला) की आमा ललिता ढकालले उपन्यास विमोचन गरेकी हुन्।
समीक्षक डा. देवी नेपाल, डा. रामप्रसाद ज्ञवाली, प्राज्ञ बाबा बस्नेत, नेकपा एमालेका नेता तथा प्रगतिवादी साहित्यकार रघुजी पन्त, प्रगतिवादी समीक्षक निनु चापागाईंलगायतले उपन्यासको समीक्षा गर्दै धारणा राखेका थिए।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले उपन्यासकार मोहनविक्रम सिंह राजनीतिक लेखनमा मात्र नभएर साहित्यिक लेखनमा पनि त्यत्तिकै सशक्त रहेको बताए।
सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाशीश कल्याण श्रेष्ठले यति विस्तृत उपन्यास आफूले अहिलेसम्म नदेखेको, नसुनेको उल्लेख गर्दै विश्वकोशका रूपमा ‘कामरेड जलजला’ उपन्यास आएको बताए।
जर्मन कम्युनिस्ट पार्टीका नेता गाबीले मोहनविक्रम सिंह नेपालको मात्रै नभएर संसारभरिको र जर्मनीका कम्युनिस्टको पनि प्रिय नेता भएको बताइन्। प्रस्तुत कृति अंग्रेजीमा पनि अनुवाद भइरहेकामा उनले खुसी व्यक्त गरिन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षता तथा अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) का अध्यक्ष समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा प्रकाशक जनशिक्षा गृहको तर्फबाट सिंहकी पत्नी दुर्गा पौडेलले स्वागत गरेकी थिइन्।
कार्यक्रममा उपन्यासकार सिंहको लिखित मन्तव्य वाचन गरिएको थियो।
१ हजार ३२० पृष्ठको उपन्यासमा करिब ५०० पात्र छन्। पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अंकमा विभाजित छ। उपन्यासको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।
Shares

प्रतिक्रिया