भारतीय अभिनेता गोविन्दा र उनका भान्जा तथा कमेडियन कृष्णा अभिषेकबीचको झगडा टुंगिएको छ। हालै कृष्णा अभिषेकले आफ्नो ७ वर्ष पुरानो झगडा बिर्सेर मामा गोविन्दको घर पुगेर उनको हालखबर सोधे।
एक अन्तर्वार्तामा कृष्णले यस भेटलाई उल्लेख गर्दै भने ‘म भारत फर्कने बित्तिकै ७ वर्षपछि पहिलो पटक मेरो मामाको घरमा भेट्न गएँ। आधा बनबास पूरा गरेजस्तो लाग्यो। उहाँ निको हुँदै हुनुहुन्छ। मैले उहाँसँग करिब एक घण्टा बिताएँ। यो निकै भावुक क्षण थियो।’
केही समयअघि आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा गोविन्दाको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए। उपचारको तीनदिनपछि डिस्चार्ज भएका उनी यतिखेर घरमा आराम गरिरहेका छन्।
त्यसवखत कृष्ण कामको सिलसिलामा अष्ट्रेलियामा थिए। तर उनकी श्रीमती कश्मिरा शाह गोविन्दालाई भेट्न आएकी थिइन्।
अहिले अस्ट्रेलियाबाट फर्किएपछि कृष्णले आफ्नो झगडा बिर्सेका छन्।
कृष्णले थपे, ‘जब मेरो मामासँग यो घटना भयो, म अष्ट्रेलियामा थिएँ। मैले मेरो भ्रमण लगभग रद्द गरेँ तर अस्पतालका कर्मचारी र पत्नी कश्मिरासँग कुरा गरेपछि उहाँ निको भइरहनुभएकोमा म खुसी थिएँ।’
कृष्णले मामाको घर पुगेपछि मैले नम्मो (गोविन्दाकी छोरी टिना आहुजा) सँग पनि सात वर्षपछि भेट गरेँ। ‘यो साँच्चै एक धेरै भावनात्मक क्षण थियो। मैले मामालाई सिधै अँगालो हालेँ। यस वार्तालापमा हामीले विगत उल्लेख नगरेकोमा म खुसी छु।’
साथै कृष्णाले ठूलोका गाली सुन्न तयार हुनुपर्ने समेत बताए।
कृष्णले भने, ‘परिवार यस्ता हुन्छन्। त्यहाँ गलतफहमी हुन सक्छ, तर कुनै पनि कुराले हामीलाई लामो समयसम्म अलग राख्न सक्दैन’ उनले भने, ‘मैले माइजुलाई भेट्न सकिन किनभने उहाँ व्यस्त हुनुहुन्थ्यो। तर, इमानदारीपूर्वक मलाई उहाँको सामना गर्न अलिकति डर लाग्यो। मलाई थाहा छ उहाँ मलाई डाढ्नुहुन्छ। तर, नजानेर केही गल्ती गर्यो भने ठूलाको गाली सुन्न तयार हुनुपर्छ।’
गोविन्दा र उनका भान्जा कृष्णाबीच विगत धेरै वर्षदेखि विवाद चर्किएको थियो। एक अन्तर्वार्तामा गोविन्दाले आफ्नो भान्जाको सेन्स अफ ह्युमर र अभिनेतामाथि बनाइएका जोक्समा खुलेर आपत्ति जनाएका थिए।
यसबाहेक उनले कृष्णाकी श्रीमतीसँग पनि आफूलाई टाढा राखेका थिए र उनीसँग अब कहिल्यै कुरा नगर्ने वाचा गरेका थिए।
तर, यसवर्ष अप्रिलमा कृष्णकी बहिनी आरतीको विवाह हुँदा गोविन्दा आफ्ना छोरा यशवर्धनसँग बिहेमा सहभागी भएका थिए।
Shares

प्रतिक्रिया