स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीवार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताए।
तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको उनले जानकारी दिए।
उनले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताए।
मन्त्री पौडेलले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले , ‘तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति छैन। त्यसैले हामीसँग उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी छ । यो प्रत्यारोपणको क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रमा पनि यसरी हामीसँग उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर हाम्रो स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक छ।’
फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा बिस्तार गर्ने सरकारको योजना रहेको बताए। नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरु एक वर्षका लागि अनुमति दिएको हो।
Shares

प्रतिक्रिया