दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ।
पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ। नाजिर र सृष्टिको प्रेमका उतारचढाव टिजरमा देखाइएको छ।
नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गरिएको छ। टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न पाउँछन्। यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो।
चलचित्रको अनौठो र रहस्यमय कथावस्तुले दर्शकलाई झन् उत्साहित बनाएको छ। कात्तिक ३० गतेदेखि रिलिज हुने फिल्मले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। चलचित्रमा अमितेष शाह विशेष भूमिका छन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन छ।
चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।
Shares

प्रतिक्रिया