कला


गाईजात्रामा मनोज गजुरेलले पोखे मिटरब्याजदेखि सहकारी पीडितसम्मको पीडा

‘म बेरोजगारीले बौलाएको बादल हुँ, मिटरब्याजीले बजाएको मादल हुँ, सहकारीले सकाएको पोको हुँ’
गाईजात्रामा मनोज गजुरेलले पोखे मिटरब्याजदेखि सहकारी पीडितसम्मको पीडा

लक्ष्मी बलायर
भदौ ३, २०८१ सोमबार १९:५१, काठमाडौँ

आइतबार साँझ। ‘एकासीको गाईजात्रा’ को पहिलो दिन। प्रज्ञा प्रतिष्ठानको ठूलो हल भरिभराउ थियो। गाईजात्रामा कलाकारको प्रस्तुति हेर्न आतुर थिए दर्शक। 

बालकलाकार युमी गौतमको व्यङ्ग्यात्मक कवितासँगै गाईजात्रा सुरूवात गरियो। त्यसपछि कसको प्रस्तुति होला? दर्शकहरूको मनमा कुतुहल थियो।

यत्तिकैमा कार्यक्रम सञ्चालक रिमा विश्वकर्माले उद्घोष गरिन्- ‘एकासीको गाईजात्रामा हामीबीच एकजना यस्तो कलाकार हुनुहुन्छ, जसले कहिले राजा त कहिले प्रजा, कहिले नेता त कहिले विश्वराजनीतिका विजेता, कहिले आमा त कहिले मामा, एकजना यस्तो अवतारी जसले कमेडीका सयौँ रूपमार्फत हामीलाई पेट मिचिमिची हसाउँदै मात्रै आउनुभएको छैन। हामीलाई सचेत गराउँदै पनि आउनुभएको छ।’

रिमा बोलिनसक्दै दर्शकदीर्घाबाट एक पुरुषले ठूलो स्वरमा भने, ‘बन्द गर तिम्रो गाईजात्रा हो कि घाईजात्रा। बन्द गर।’

लामो कपाल। रातो स्वेटर लगाएका ती पुरुषले भारी बोकेका थिए। उनको हुलिया विक्षिप्त व्यक्तिको जस्तै देखिन्थ्यो। बेलाबेला उनी भन्ने गर्थे, ‘मेरो २० लाख दे।’

अनि आफैँलाई प्रश्न गर्थे- म को हो?

आफ्नै प्रश्नको जवाफमा भन्थे- म बेरोजगारीले बौलाएको बादल हुँ। मिटरब्याजीले बजाएको मादल हुँ। सहकारीले सकाएको पोको हुँ। शरणार्थी काण्डले तर्साएको बोको हुँ।

दर्शक गललल हाँस्छन्। तर, उनको अभिव्यक्तिमा साधारण नेपालीको भोगाइ छ। अनि ठूलाबडाका कारण भोग्नुपरेको पीडाको भारी छ। त्यो प्रस्तुति हेरिरहँदा लाग्छ, ‘मनोज गजुरेल मञ्चमा प्रस्तुति दिइरहेका छैनन्, एक पीडित सर्वसाधारण आफ्नो बह पोखिरहेका छन्।’

हुन पनि नेपालीहरू यी समस्याबाट निकै प्रताडित छन्। रोजगारीको अवसर छैन। कृषि गरे पनि भारतबाट सजिलै आयात हुँदा नेपाली उत्पादनको मोल छैन। देशका जनताले मिटरब्याजदेखि सहकारीसम्मका दु:ख खेप्नुपरिरहेको छ।

आन्दोलन गरेर पैसा फिर्ता हुन्छ भने सर्वसाधारणहरू तराईबाट खाली खुट्टा हिँड्दैहिँड्दै काठमाडौं आए। कहिले शान्तिवाटिका पुगे त कहिले माइतीघर। तर, अन्त्यमा जेल जानुपर्ने तितो यथार्थलाई गजुरेलले आफ्नो प्रस्तुतिमा समेटेका छन्।

विदेश जान पनि सजिलो कहाँ छ र? ऋण निकालेर छोरालाई कोरियाको तयारी गर्न पठायो, बालकुमारीजस्ता घटनामा ज्यान जान्छ। नेपाली जनताका पीडालाई सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ। 

यसै विषयमा गजुरेल प्रस्तुतिका क्रममा भन्छन्, ‘२० लाख लाने अर्को दलाल। अमेरिका लान्छु भन्यो। नेता थियो। जग्गा बन्धकी राखेर दिए। त्यो शरणार्थी काण्डमा जेल परेछ। अहिले त्यो अपराधी जेलबाट निस्किएर फेरि मन्त्री बन्ने तरखरमा छ रे।’

यस संवादले जनताको पीडा मात्रै बोल्दैन। नेपालको राजनीति र कानुनी प्रणालीमाथि नै व्यङ्ग्य गर्छ। भावुक प्रस्तुति भए पनि गजुरेलका पञ्चलाइन सुनेर दर्शकहरू बेलाबेला ताली बजाउँछन्। अनि बेस्सरी हाँस्छन्।

मनोजले आफ्नो प्रस्तुतिमार्फत कसैलाई पनि बाँकी राखेनन्। उनले महानगरका मेयर बालेन्द्र शाहलाई पनि व्यङ्ग्य गर्न भ्याए।

भने, ‘म भारी बोक्न थालेँ। श्रीमती बजारमा मकै बेच्न थालिन्। आगो महानगरमा लाग्यो। दुई-चार रूपैयाँ सहकारीमा जम्मा गरियो। उपचार गर्न सहकारी जाँदा राई माइलाले गाउँ छोड्नु भन्दा पहिले सहकारीले ठाउँ छोडेर गइसकेछ। हामी फेरि पागल भयौँ।’

अन्तिममा मनोज सरकारप्रति क्रुद्ध देखिन्छन्।

‘ओ मन्त्री, तिम्रो कुनै काम छैन। तिम्रो सरकार परिवर्तनको अंकगणितले मेरो मिटरब्याजको पैसा तिर्न सक्दैन। तिम्रो संविधान संशोधनको हिसाबकिताबमा मेरो सहकारीको धन फिर्ता हुँदैन। तिम्रो राजनीतिको बहुमत र अल्पमतको लडाइँमा मेरो मरेको छोरो जन्मिँदैन। मेरो डुबेको संसार फर्किदैन,’ गजुरेलले भने। 

दर्शक हाँस्नु न रूनुको अवस्थामा पुग्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad