ad ad

कला


यी हुन् यसपालि सर्वाधिक तीज गीत गाउने पाँच स्रष्टा

यी हुन् यसपालि सर्वाधिक तीज गीत गाउने पाँच स्रष्टा

लक्ष्मी बलायर
साउन १६, २०८१ बुधबार १९:२६, काठमाडौँ

महिलाहरूको महान चाड हरितालिका तीज नजिकिँदै छ। साउन सुरु भएसँगै तीजलक्षित गीतहरू सार्वजनिक भइरहेका छन्। युट्युबमा यतिखेर पाँच दर्जन बढी तीज गीत सार्वजनिक भइसकेका छन्।

थुप्रै तीज गीतहरू रिलिजको तयारीमा छन्। हरेकवर्ष तीज नजिकिएसँगै धेरैजसो गायकगायिकाले तीजलक्षित गीत निकाल्ने गर्छन्। जसमा पनि केही गायक–गायिकाहरूको बर्चस्व देखिने गरेको छ। हामी यसवर्ष धेरै तीज गीत गाउने पाँच गायिकाको बारेमा चर्चा गर्नेछौँ:

शान्तिश्री परियार
पछिल्लो समयकी सर्वाधिक लोकप्रिय गायिका हुन्: शान्तिश्री परियार। बोल मायाबाट हिट भएकी शान्तिले पछाडि फर्किएर हेर्न परेको छैन। उनले गाएका गलबन्दी च्यातियो, कुरा बुझ्न पर्छु, जाम भो साइँली, आगोबिना बिँडी जल्दैन लगायतका गीतहरू निकै हिट छन्।

लोकदोहोरीमा मात्रै होइन् तीजका गीतमा पनि शान्तिश्रीको अत्यधिक माग हुने गर्छ। यसपालि धेरै तीज गीत गाउनेमा शीर्षस्थानमा शान्तिश्रीको नाम छ। उनका एकदर्जन बढी तीज गीतहरू युट्युबमा आइसकेका छन्। जसमध्ये छोरीको पीडा समेटेको गीत काली पसम की गीतलाई दर्शकहरूले निकै मन पराइरहेका छन्। अझै दर्जनौँ गीत सार्वजनिकको तयारीमा छन्।

विशेषगरी, यसगीतका शब्द र स्मारिका ढकालको अभिनयले दर्शकको ध्यान तानिरहेको छ। २१ लाख भ्युज पाएको यो गीत म्युजिकतर्फको ट्रेन्डिङको पहिलो स्थानमा छ। गतवर्ष पनि उनले गाएको तीज गीत अरेली काँडैले निकै चलेको थियो।

चर्चासँगै योपटक शान्तीश्री तीज गीतका कारण विवादमा समेत फसेकी छिन्। उनको स्वर रहेको बिस्ताराले पोल्यो बोलको तीज गीतको अहिले निकै आलोचना भइरहेको छ। शान्तीश्रीजस्तो गायिकाले छाडा गीत गाएको भन्दै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक उनीमाथि खनिरहेका छन्। चर्को आलोचनापछि उनले विज्ञप्ति नै जारी गरी माफीसमेत माग्नुपरेको छ।

पशुपति शर्मा
बहुचर्चित लोक गायक पशुपति शर्मा पनि धेरै तीज गीत ल्याउनेमा पर्छन्। विशेषगरी, आफ्नै सिर्जनाका गीत ल्याउने उनले यसपटक अरुका तीज गीत पनि गाएका छन्।

आफ्ना र अरुकासहित १५ देखि २० सम्म गाइसकेको सुनाउँछन् उनी। उनकै सिर्जनामा योपटक ४/५ वटा तीज गीत बनेका छन्। जसमध्ये उनकै शब्द, संगीत र स्वरमा दुई गीत मै लुरी र मलाई त मन पर्छ केरे सार्वजनिक भइसकेका छन्। पशुपति शर्मा युट्युब अकाउन्टमा सार्वजनिक गरिएको तीज गीत मै लुरी निकै रुचाइएको छ। यस गीतको भिडिओलाई युट्युबमा १३ लाख बढी पटक हेरिएको छ।

त्यसैगरी, पशुपतिका स्वर रहेका भंगेरी चरीले, झुम्का हरायो, घरझगडा भाग ६ लगायतका तीज गीतहरू पनि दर्शकको रोजाइमा परेका छन्। आधाजति गीतहरू भने सार्वजनिक हुन बाँकी छन्।

यसअघि पशुपतिले अचम्मै राम्रो नाच्छे मोरीले, बाजी ठोकौँ आऊ, लरक्कै लर्क्यो रातो सारी, बत्ती बाल्न पर्देन जस्ता चर्चित तीज गीत दिइसकेका छन्।

सुनिता बुढा क्षेत्री
लोक दोहोरी गायिका सुनिता बुढा क्षेत्रीको तीजका गीतमा अत्यधिक माग छ। यो वर्ष युट्युबमा सुनिताकै तीज गीतहरू बढी देखिन्छन्। गएको जेठदेखि नै सुनिताले तीज विशेष गीत गाउन थालेकी हुन्।

हालसम्म आफूले तीन दर्जनबढी तीजका गीतमा स्वर दिइसकेको उनको भनाइ छ। जसमध्ये एकदर्जन गीतहरू युट्युबमा समेत सार्वजनिक भइसकेका छन्। बिजुली चमक्क, सीताका माइती, गुल्मेलीको नाच, रहरैमा गीतहरू युट्युबमा रुचाइएका छन्। अरु गीतहरू भने रिलिजको तयारीमा छन्।

२०७० सालदेखि तीजका गीत गाउन सुरु गरेकी सुनिताको स्वर रहेका थोपडाले धोका दियो बरिलै, झमझम झम्काना, रमाउने हो कमाउने हो जस्ता गीतहरू चर्चित छन्।

खुमन अधिकारी
चर्चित लोकदोहोरी गायक खुमन अधिकारी लामो समयदेखि तीजका गीत गाउँदै आइरहेका छन्। हरेक वर्ष निकै माग हुने उनले यसवर्ष मात्रै एक दर्जन बढी तीजका गीतमा स्वर दिइसकेका छन्।

खुमनले पहिलोपटक वि.सं २०६४ सुनौँ समाचार भन्ने बोलको तीज गीत गाएका थिए। त्यसपछि उनले गाएका अब त मैले झुम्का लगाउँछु, आज त भेट्न आउँदिनँ न है काली, ओम शिव शंकर भोला, उनको लागि व्रत बसेको, भंगेरी चरी जस्ता हिट गीत दिन सफल भए।

यसवर्ष युट्युबमा खुमनका सातआठ गीत रिलिज भइसकेका छन्। जिन्दगीको मजा, हाम्रो पनि दिन आउला, कुर्ता नि सुहाउँछ गीतलाई युट्युबमा राम्रै भ्युज मिलेको छ। अन्य गीतहरू रिलिजको तरखरमा रहेको समेत उनले सुनाए।

खेम सेन्चुरी
पछिल्ला वर्ष तीज गीतमा निकै रुचाइएका गायक एवं सर्जक हुन खेम सेञ्चुरी। हरेक वर्ष उनका तीज गीतले बजारमा राम्रो चर्चा पाउने गरेका छन्। चार वर्षअघिको सोचझैँ जिन्दगीदेखि गतवर्षको कमाउने नि होसम्म निकै चलेका थियो।

यसपालि पनि खेमको स्वरमा चारपाँच गीतहरू युट्युबमा आइसकेका छन्। केही सार्वजनिक हुने तयारीमा छन्। यसपालि भने उनले विगतको दाँजोमा कम तीज गीतमा स्वर दिएका छन्। उनले छनोट गरेर मात्रै गीतमा काम गरिरहेका छन्। तिमीलाई पछ्यौरी किनिदिउँला नयाँनयाँ, तीजै रमाइलो युट्युबमा रूचाइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .