सन् २०१६ मा ‘ड्रिम्स’बाट सिनेक्षेत्रमा डेब्यु गर्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मात्र १७ वर्षकी थिइन्। न उनलाई अभिनयमा रूचि थियो, न फिल्म क्षेत्रबारे चासो नै। सिनेमालाई निरन्तरता दिन्छु भन्ने त सोचबाहिरको कुरा।
त्यसमाथि सुटिङ सेटमा भोगेको घटनाले साम्राज्ञीको मन बिथोलिरहेको थियो। सुन्नै नसकिने गालीदेखि र दुव्यर्वहारसम्म भोग्नुपरेको उनको भनाइ छ। जसले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी थिइन् उनी।
‘त्यो घटनाले म एकदमै सक्ड थिएँ। बच्चैदेखि होस्टेलमा हुर्केको। दिल्लीमा गर्ल्स होस्टेलमा बसेर पढेको। होस्टेलमा हुर्किँदा हाम्रो दुनियाँ एकदमै सानो हुन्थ्यो। स्कुल, साथी र रुमबाहेक केही थाहा थिएन। घर जाँदा ममीपापा देख्ने बानी। सबैतिर नर्मल त होला भन्ने सोच्थेँ,’ उनले विगत सम्झिँदै भनिन्, ‘फिल्मक्षेत्रमा आउँदा ठूलो टिमसँग काम गरेँ। दुर्व्यवहार भोग्दा म सक्ड भएकी थिएँ। बच्चा भए पनि मलाई यो राम्रो होइन भन्ने थाहा थियो।’
त्यहीकारण साम्राज्ञीलाई फिल्म क्षेत्र नै मन पर्न छाडेको थियो। यस क्षेत्रबाट सधैँका लागि टाढा जान चाहन्थिन् उनी।
तर, साम्राज्ञी र अनमोल केसीको मुख्य भूमिका भएको ‘ड्रिम्स’ हिट भयो। जसका निर्देशक र निर्माता थिए भुवन केसी।
यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार मात्रै गरेन। साम्राज्ञी रातारात स्टार बनिन्। यतिसम्म कि सिनेजगतमा उनलाई सम्भावना बोकेकी अभिनेत्रीको रूपमा समेत हेर्न थालियो। डेब्यु फिल्म नै हिट भएपछि उनले पनि फिल्म क्षेत्रलाई चटक्कै माया मार्न सकिनन्।

त्यसमाथि, त्यो कठिन समयमा उनकी आमा हौसला बनिदिइन्।
‘ए मेरो हजुर २ को अफर आउँदा काम गर्न मन थिएन। त्यो घटनाले निकै रोएकी थिएँ। मानसिक रूपमा गाह्रो बनाएको थियो। यो क्षेत्र छोड्ने विचार गरिसकेकी थिएँ। तर, मामुले यति सहजै हार नमान भन्नुभयो। एकचोटि ट्राइ गर भनेर सम्झाउनुभयो,’ उनले सुनाइन्।
आमाको आडभरोसापछि हिम्मत जुटाएर साम्राज्ञीले नयाँ फिल्म साइन गरिन्। तर, त्यसपछिका केही फिल्मको सुटिङमा पनि नमिठो अनुभव भोगेको उनको भनाइ छ।
‘त्यसपछिका केही फिल्ममा पनि नमिठो अनुभव भोगेँ। अहिले लाग्छ, हामी मान्छे भएर राम्रो नराम्रो सबै देख्नुपर्दो रहेछ। नत्र राम्रो मात्रै भइराख्यो भने भुइँमा खुट्टै हुँदैन नि। हुन त दु:ख बुझेर मान्छे ठूलो त हुने होइन। तर, मन बलियो हुन्छ। परिपक्वता आउँदो रहेछ। आफ्नो वरिपरि के भइरहेको छ भन्नेमा ध्यान जाँदो रहेछ,’ साम्राज्ञी भन्छिन्।
साम्राज्ञीलाई आफूले भोगेका विभेद र दुर्व्यवहार भन्न केही समय लाग्यो। सन् २०२० ताका कोरोनाको महामारीबीच साम्राज्ञीले पुरानो घटनाको विवरण सामाजिक सञ्जालमा पोखिन्। भुवन केसीले आफूलाई गरेको दुर्व्यवहारबारे पनि खुलेर बोलिन्।
निकै समय मानसिक रूपमा डिस्टर्ब भए पनि त्यस घटनाले आफूलाई निकै बलियो बनाएको सुनाउँछिन् उनी।
भन्छिन्, ‘हुन त त्यो घटना मैले भोग्नै नपर्ने हो। तर, त्यो कुराले निकै बलियो बनायो। अहिले त्यही कुरा मलाई कसैले दुर्व्यवहारको आँट गर्न सक्दैन। त्यस्तो अवस्थामा कोही पनि नपरोस्।’
सुरुका फिल्ममा नराम्रो अनुभव बटुले पनि पछि राम्रो मान्छेहरूको साथले काम गर्न सहज भएको उनको अनुभव छ।
‘बिस्तारै काम गर्दै जाँदा हरेक ठाउँमा यस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ। सबै ठाउँमा नराम्रो मात्रै होइन, राम्रो पनि हुनुहुँदोरहेछ। मैले राम्रो मान्छेसँग काम गर्न पाएँ। त्यसैले त अहिलेसम्म निरन्तर छु,’ साम्राज्ञी भन्छिन्।

एक्लो महसुस गर्छिन् साम्राज्ञी
‘लन्डन टु पेरिस’ साम्राज्ञीको ११औँ फिल्म हो। घनश्याम लामिछाने निर्देशित यो फिल्म जेठ २५ गतेबाट प्रदर्शन हुँदैछ। यस फिल्मले ट्राभल लभस्टोरीको कथा भन्छ।
ड्रिम्सदेखि लन्डन टु पेरिससम्म पुग्दा साम्राज्ञीले आठ वर्ष सिनेक्षेत्रमा बिताइसकेकी छिन्। उनी आफ्नो करिअरलाई कसरी हेर्छिन् त?
‘खासमा म अभिनय करिअरमा हुन्छु भन्ने नै सोचेकी थिइनँ। ड्रिम्स साइन गर्दा म बच्चै थिएँ। १६/१७ वर्षको उमेरमा फिल्मक्षेत्रबारे चासो नै थिएन। ग्ल्यामर, ब्युटी क्षेत्रमा रुचि थियो। मोडलिङ वा फेसन डिजाइनमा हुन्छु भन्ने लागेको थियो। फिल्ममा अभिनय गर्छु भन्ने सोचेकी पनि थिइनँ। एउटा मुभी त हो नि भनेर आएकी थिएँ। तर, यसै क्षेत्रमा लागेको आठ वर्ष पुगिसकेछ,’ उनले भनिन्।
नेपाली सिनेक्षेत्रमा गुटबन्दी भएको आरोप लाग्ने गर्छ। तर, साम्राज्ञी कुनै समूहमा लागेकी छैनन्। उनका धेरै साथी पनि छैनन्। मनमा लागेको कुरा बेधक भन्ने बानी छ। त्यसैले कहिलेकाहीँ उनी एक्लो महसुस गर्छिन्।
‘आँट गरेर बलियो मन भएर टिक्न त टिकेँ। तर, अहिले पनि एक्लो फिल हुन्छ। अगाडि त जो पनि हाँसेर बोल्नुहुन्छ। आफ्नो भनेको एकदुईजना हुनुहुन्छ। तर, धेरैजनाले आउटसाइडरकै रूपमा हेर्नुहुन्छ। म कुनै पनि ग्रुपमा बाँधिइनँ। मलाई सबैजनासँग काम गर्न पाइयोस् भन्ने लाग्छ। किन एउटै ग्रुपको हुनुपर्ने? कलाकार भएपछि सबैसँग काम गर्नुपर्छ,’ उनले सुनाइन्।

एकैखालको स्क्रिप्टले हैरान, बोक्सीको घरजस्तो फिल्म खेल्ने चाहना
आठ वर्षको करिअरमा साम्राज्ञीका हिट फिल्मभन्दा फ्लप फिल्मको संख्या बढी छ। पछिल्लो समय त उनले खेलेका फिल्महरू लगातार बक्सअफिसमा असफल छन्। भलै गतवर्ष सहायक भूमिका रहेको ‘नांगो गाउँ’ ले लगानी सुरक्षित गरेको थियो। त्यसबाहेक ह्यारीकी प्यारी, तिम्रो मेरो साथ, कायरा लगायतका फिल्महरू चलेनन्।
जसकारण पनि ‘लन्डन टु प्रेरिस’ हिट हुनुपर्ने दबाबमा छिन् उनी।
‘आफूले गरेका फिल्महरू सफल नहुँदा अवश्य प्रेसर हुन्छ। आफ्नो काम राम्रो होस् भन्ने जसलाई पनि लाग्छ। तर, फिल्म हिट हुने मेरो हातको कुरा हैन। मलाई कतिजनाले एउटै टाइपको किन खेलेको पनि भन्नुहुन्छ। पक्कै पनि मलाई केही नयाँ र राम्रो गर्ने मन लाग्छ। तर, के गर्नु, मलाई एउटै टाइपको फिल्मको अफर आइरहेको हुन्छ। सात/आठवटा स्क्रिप्टमा पनि दुई/तीन वटा छानिन्छ। त्यसमा नि बल्ल एउटा राम्रो हुन्छ।’

एउटै किसिमका स्क्रिप्टको अफर आउँदा हैरान भइसकेको उनको भनाइ छ।
‘पक्कै पनि राम्रो स्क्रिप्टको पर्खाइ छ। फरकफरक भूमिकामा देखिन मन छ। तर, त्यस्तो स्क्रिप्ट आउँदैन। रोमान्टिक फिल्मका डाइलग देखेर हाँसो लाग्छ,’ उनले सुनाइन्।
साम्राज्ञी प्राय: सहरकेन्द्रित पात्रको भूमिकामा हुन्छिन्। सहरकेन्द्रित भूमिकामा देखिए पनि मेकरहरूले सहरका कथा भन्न नसकेको उनको ठहर छ।
भन्छिन्, ‘सहरकेन्द्रित फिल्ममा पनि फरक फरक चरित्र हुन्छ। राम्रो फिल्म बनाउन गाउँ नै जानुपर्छ भन्ने छैन। सहरमा पनि कति सरल कथाहरू हुन्छन्। जहिले पनि फिल्ममा म धनी केटी हुन जरुरी छैन। सहरका अरू स्टोरी पनि आइदिए हुन्थ्योजस्तो लाग्छ। सहरकेन्द्रित स्टोरी हामीले समात्नै सकेका छैनौँ।’

आफू भर्सटायल कलाकार नभए पनि फरक चरित्रमा देखिन मन भएकाे उनी बताउँछिन्। राम्रो फिल्म र टिमसँग काम गर्न इच्छुक छिन् उनी।
‘पक्कै पनि मलाई राम्रो फिल्म र राम्रो टिमसँग काम गर्न मन छ। म भर्सटायल एक्टर होइन। तर, सिक्न र केही फरक गर्न मन पराउँछु। मलाई रोमान्टिक फिल्म मनपर्छ। यसबाहेक कमेडी डार्क, थ्रिलर र हरर फिल्म पनि राम्रो लाग्छ,’ उनी भन्छिन्।
अन्य विधाका फिल्म खेल्ने चाहना भए पनि रोमान्टिक फिल्म नछोड्नेको उनको भनाइ छ।
‘रोमान्टिक मुभी भने कहिल्यै छाड्दिनँ। तर, महिलाकेन्द्रित फिल्म पनि खेल्न मन छ,’ उनी भन्छिन्, ‘बलिउडमा महिलाकेन्द्रित फिल्म बनिरहेका छन्। महिलाका कथामा दु:खै हुनुपर्छ भन्ने छैन। रमाइलोको भए पनि हुन्छ। हरेक केटीको जीवन केटाकै वरिपरि घुम्न जरुरी छैन। मायाप्रेम सबैलाई चाहिन्छ। तर, सुरुमा आफूमा बलियो हुनुपर्छ।’
वैशाख १४ गतेबाट रिलिज भएको ‘बोक्सीको घर’ पछि आफू आशावादी भएको उनी सुनाउँछिन्।
‘बोक्सीको घर चलेको देख्दा अलिकति होपफुल भएँ। अन्तत: यस्तो मुभी पनि चल्यो भनेर खुसी लाग्यो। यस्तो फिल्म धेरैजनाले बनाउन खोज्नुभएको थियो। तर, चलिरहेको थिएन। आर्ट टाइपको फरक मुभी चल्दैन भन्ने थियो,’ साम्राज्ञी भन्छिन्, ‘भविष्यमा यस्तै राम्रो स्क्रिप्ट आयो भने म गर्छु। किनकि चल्दो रहेछ नि। अब बिस्तारै अडियन्स पनि चेन्ज हुनुभयो।’

‘सिक्न बाँकी छ’
अभिनय क्षेत्रमा आएर साम्राज्ञीले धेरै कुरा सिकेकी छिन्। त्यतिबेला आफूलाई सबैकुरा थाहा छ भन्ठान्ने साम्राज्ञीलाई आजभोलि भने केही आउँदैन जस्तो लाग्छ।
‘त्यो बेला सबैकुरा आउँछ जस्तो लाग्थ्यो। तर, होइन रहेछ। त्यो बचपना रहेछ। अहिले मलाई केही आउँदैन। म अझै सिकिरहेकी छु। हो पहिलेभन्दा मैले धेरै कुरा सिकेँ। तर, अझै पनि धेरै कुरा सिक्न बाँकी छ,’ उनी आत्मस्वीकृतिमा बोल्छिन्।
‘मैले सबै कुरा सुर्धानुपर्छ। पहिलो त सुर्धानुपर्ने डाइलग डेलिभरी हो। म बच्चैदेखि हिन्दी बोल्ने। आठ कक्षामा नेपालमा पढ्न थालेपछि बल्ल नेपाली बोल्न थालेको। मेरो नेपाली अहिले पनि राम्रो छैन। यति भाको नि फिल्ममै आएर हो,’ साम्राज्ञीले भन्छिन्।
साम्राज्ञीले वर्कसपबाहेक हालसम्म अभिनय कक्षा लिएकी छैनन्। अभिनय सिक्नुभन्दा पनि फिल्मको पात्रका लागि मेहनत गर्न मनपर्ने उनले सुनाइन्।

लन्डन टु पेरिसको सुटिङ सकिन दुई वर्ष लाग्यो। लामो समयपछि फिल्म रिलिज हुँदा उत्साहित रहेको उनको भनाइ छ।
‘ट्रेलरमा धेरै कुरा लुकाइएको छ। फिल्मभित्र निकै सप्राइज छ। मेरो क्यारेक्ट एकदमै आत्मनिर्भर खालको छ। तर, जस्तोसुकै बलियो मान्छेलाई पनि एकजना साथी चाहिन्छ। साथी नपाउँदाको खल्लोपन पनि रिलेट गर्छ,’ उनले भनिन्।
साम्राज्ञीसहित निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का मुख्य भूमिकामा छन्। जसमध्ये निश्चल र गरिमाको यो डेब्यु फिल्म हो। तर, साम्राज्ञीलाई भने नयाँ कलाकारसँग स्क्रिन सेयर गर्न मज्जा लाग्छ।
‘फिल्म खेल्दा डेब्यु कलाकार भनेर म कहिल्यै सोच्दिनँ। म पनि त पहिले नयाँ थिएँ नि। नेपालमा प्रतिभा छन्। मैले त पाएको अवसर गुमाइनँ। कतिजनाले त्यो अवसर पाउनसक्नुभएको छैन। नयाँ अनुहार आउन जरुरी छ,’ साम्राज्ञी भन्छिन्।
बिहेबारे तत्कालै सोच नबनाएकी साम्राज्ञीलाई फिल्म क्षेत्रमै लागिरहन मन छ। लन्डन टु पेरिसको रिलिजलगत्तै उनी आगामी फिल्म ‘रुमानी रंग’ मा जोडिनेछिन्।
भिडिओ-
Shares

प्रतिक्रिया