ad ad

कला


जापानमा पलसँगै १५ सय दर्शकले एकसाथ हेरे फिल्म ‘पुजार सार्की’

जापानमा पलसँगै १५ सय दर्शकले एकसाथ हेरे फिल्म ‘पुजार सार्की’

नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:२३, काठमाडौँ

गत बिहीबार प्रदर्शन भएको फिल्म ‘पुजार सार्की’काे जापानमा ऐतिहासिक सो भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलोपटक एकसाथ १ हजार ६ सय दर्शकले चलचित्र हेरेका हुन्।

सोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक विकास सुवेदी टोकियो पुगेका थिए। नाकानो जेरो हलमा भएको सोमा दर्शकसँगै बसेर अभिनेता शाहले पनि यो चलचित्र हेरे।

नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायांकनमा व्यस्तता र छोटो समय मात्र काठमाडौँमा रहेकाले उनले ‘पुजार सार्की’ हेर्न पाएका थिएनन्।

उक्त सोका आयोजकमध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भिडका साथ चलचित्र चलाइएको बताए।

‘हामीले भिड थाम्नै नसक्ने अवस्था थियो। व्यवस्थापन मिलाउन खोज्दा भिड आउट अफ कन्ट्रोल भयो। यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ। चलचित्र पनि निकै राम्रो बनेको रहेछ,’ उनले भने।

जापानमा अन्य चारवटा सो तय भइसकेको जानकारी पनि सचिनले दिए।

यसअघि ‘कबड्डी ४’ चलचित्र रिलिज हुँदा पनि लगभग यस्तै भएको सम्झना गर्दै आचार्यले भने, ‘तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो। तर अहिलेजस्तो भने कहिल्यै भएको थिएन। हलको सिट संखया १२ सय जनाको हो तर १५ सयभन्दा धेरै भएपछि उभिएर र भुईँमै बसेर ‘पुजार सार्की’ हेरे। हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५ सयले नै हेरे।’

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए।

बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले राम्रो व्यापार गरिरहेको निर्माणपक्षले बताएको छ। पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भ्रमण गरेका थिए। त्यसपछि उनी जापानतर्फ लागेका थिए।

दिनेश राउत निर्देशित यस फिल्ममा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय छ। सुवास भुसालले निर्माण गरेको यस फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस् हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .