ad ad

कला


फर्की फर्की : लुटपछि नेपाली सिनेमाको सूत्र भत्काएको कथा

फर्की फर्की : लुटपछि नेपाली सिनेमाको सूत्र भत्काएको कथा

श्रीजु सरल
जेठ १२, २०८१ शनिबार १९:८, काठमाडौँ

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा सुयोग गुरुङ लिखित एवं निर्देशित फिल्म 'फर्की फर्की' प्रदर्शनरत छ। प्रायः नेपाली कमर्सियल सिनेमामा एकै किसिमका कथा थोरै मोडिएर फर्की फर्की हलमा आउने गरेका छन्। तर, यसपटक भने निर्देशक गुरुङले नेपाली सिनेमामा नौलो खुराक पस्किएका छन्।

यसो भन्दै गर्दा यो भने अवश्य भन्नुपर्ने हुन्छ कि यो नेपाली सिने जगतका लागि नौलो खुराक विश्वजगतको परिप्रेक्ष्यमा भने नौलो होइन। त्यसो त फिल्मभित्रै पनि मुख्य पात्रमार्फत् गुरुङले सन् १९९३ को अमेरिकी रोम्यान्टिक कमेडी 'ग्राउन्डहग डे'को कथाबाट आफू प्रेरित भएको सङ्केत गरेका छँदैछन्। यद्यपि, 'ग्राउन्डहग डे'ले जसरी 'टाइम लुप'को प्रयोग गरेर नेपाली सिनेमाले पनि कथा भन्न सक्छ है भन्ने चरितार्थ गर्न ३ दशकभन्दा बढी समय लागेको छ र त्यो निर्देशक गुरुङले गरे।

खुसीको कुरा यो हो कि नेपाली सिनेमाका लागि यो जरुरी थियो। अपेक्षा गरौँ, 'फर्की फर्की'पछि नेपाली सिनेमाले कथा भन्ने नौला र अनौठा आयामहरू पहिल्याउनेछ। आज कसैबाट प्रेरित नेपाली सिने जगत भोलि कसैका लागि आफू स्वयं प्रेरणादायी बन्न नसक्ला भन्न सकिँदैन। त्यसका लागि कमर्सियल नेपाली सिनेमाले आफ्नो सेरोफेरोमा ठड्याउँदै आएको जुन पारम्परिक सूत्रको बाँध छ, त्यसलाई अलिकति हिजो सन् २०१२ को 'लुट'ले भत्काएको थियो भने त्यसको १२ वर्षपछि आज अलिकति 'फर्की फर्की'ले भत्काएको छ।

आउनुस् अब फिल्मकै कुरा गरौँ।

कथा
पछिल्लो समय नेपाली सिनेमाले कथा भन्नकै लागि मात्र कथा भनिरहेको छैन। फर्की फर्की हेर्ने हो भने पनि २०२० को आमा, २०२२ को महापुरुष, २०२३ को जारी लगायतका सिनेमाले दर्शकलाई मनोरञ्जन दिनुका साथसाथै पात्रको चरित्र वृत्तमार्फत् समाजलाई सुन्दर बनाउन आत्मसमीक्षा गर्ने, समाज र वरिपरिका पात्रहरूलाई हेर्ने दृष्टिकोणमा आवश्यक परिवर्तनको वकालत गर्ने काम गरेको देखिन्छ। गुरुङको 'फर्की फर्की'ले पनि त्यसलाई निरन्तरता दिन सकेको छ।

धनी बाबुआमाको पुलपुलिएको पुत्र, एउटा जवान युवक- म्याडी! ऊ आफूबाहेक कसैलाई गन्दैन, साथीहरूलाई स्वार्थका लागि प्रयोग गर्छ, छोरी मान्छेलाई त ऊ मान्छे पनि सम्झँदैन! कसैको भावनामा ठेस लाग्ला, कसैको जीवन मेरो कारणले बर्बाद होला ... यस्तो सोच्नु त उबाट अपेक्षा गर्न पनि सकिँदैन। अरू त अरू, ऊ आफ्नो अफिसको बोसलाई समेत गन्दैन। ऊ मनलाग्दी हिँड्छ, जिउँछ। जागिर जाला भन्ने चिन्ता छैन उसलाई। आखिर, जीवनको उकाली ओराली, दु:ख-सुख उसले देखेको नै कहाँ छ र? यस किसिमको अराजक, आत्मकेन्द्रित स्वार्थी युवक अचानक एकाबिहानै 'टाइम लुप'मा छिर्छ। र तबसम्म एउटै घटना दोहोरिरहन्छ जबसम्म उसले त्यसलाई सम्हाल्न सक्दैन।

प्रश्न रह्यो- के 'फर्की फर्की' र 'ग्राउन्डहग डे' को कथा एउटै हो? हो र होइन पनि। हो कसरी र होइन कसरी? यो छुट्याउने जिम्मा भने दर्शकहरूलाई नै। 

पटकथा
अवश्य पनि कसैबाट प्रेरित भएर काम गर्नु चुनौतीपूर्ण काइदा हो। एउटा अमेरिकी परिवेशको कथालाई नेपाली परिवेशमा ढाल्नु निश्चितै अफ्ठ्यारो हुन्छ। तर, 'ग्राउन्डहग डे' नहेरेका दर्शकले कतैबाट पनि यसमा अमेरिकी परिवेशको गन्ध पाउनेछैनन्। र पटकथा लेखनका क्रममा यसलाई नेपालीकरण गर्न गरिएको मिहेनतले नै यो सम्भव भएको हो। यो फिल्मको प्रशंसनीय पक्ष हो।

पटकथा लेखनका क्रममा राखिएका 'सिक्वेन्स'को साङ्ली कतै अल्झिएको छैन, सलल बगेको छ। यद्यपि, ती 'सिक्वेन्स'भित्रका कतिपय दृश्यहरूलाई भने अझै माझ्न सकिन्थ्यो कि?

जस्तो, फिल्ममा मुख्य पात्र 'म्याडी'ले कसैलाई कसेर मुक्का हान्छ। र केही कुरा मनैमन सोच्न लाग्छ। यस्तो स्थितिमा उसले त्यो कुरा सोचुन्जेल मुक्का खानेका साथी/बडीगार्ड वा केटाहरू जे भनौँ, ट्वाल्ल परेर हेरिरहन्छन् मात्रै। मानौँ, उनीहरू म्याडीलाई मनैमन कुरा गर्नकै लागि समय दिइरहेका छन्! यस्ता दृश्यलाई लेखनकै समयमा अझै निखारेर पस्किइन्थ्यो भने फिल्मको दर्शकहरू मानौँ 'फर्कीफर्की' हेर्न फर्कीफर्की जानसक्थे। एकपटक हेर्नेलाई दुईपटक र दुईपटक हेर्नेलाई तीनपटक हेर्ने लोभ जाग्नसक्थ्यो।

दुईपटक हेर्नेलाई चारपटक हेर्ने लोभ जगाउन भने संवादहरूमा अझै मिहेनत गर्न सकिन्थ्यो। त्यसो त आजको युवाको कथा भनिरहेको यस फिल्मका पात्रहरू आजकै भाषामा बोल्छन्। अधिकांश डायलग पनि विश्वसनीय नै लाग्छन्। तर, मान्छे अति सुन्दर कुरालाई नै शत प्रतिशत सुन्दर कसरी बनाउन सकिन्छ भन्नेबारे सोच्दो हो!

कथावाचन
त्यसो त 'ग्राउन्डहग डे'लाई बारम्बार तानिरहनु आवश्यक होइन। ट्रेलर सार्वजनिक भएदेखि नै यी दुई फिल्मबीच तुलनात्मक चर्चा हुँदै आएको अवस्थामा यिनको कथा भन्ने शैलीमा देखिएको अन्तर पनि पक्कै चर्चायोग्य विषयवस्तु हुनसक्छ।

अँ, 'ग्राउन्डहग डे'ले जसरी लिनियर स्टोरीटेलिङ गर्दैन 'फर्की फर्की'ले। ग्राउन्डहग डे मा 'आजको कथा' छ र त्यसपछि 'आजको कथा' छ र त्यसपछि पनि 'आजकै कथा' छ। त्यसमा हिजोको कथा कतै पनि आउँदैन। बरु, आज सकिएपछि भोलि आउँछ र भोलि आइसकेपछि दोहोर्‍याएर 'फिल' को जिन्दगीमा आज आइरहँदैन, त्यसपछि सबै सामान्य अवस्थामा फर्किन्छ।

तर, फर्की फर्कीमा आजको कथापछि भोलिको कथा आइहाल्छ र त्यसपछि फेरि आज दोहोरिरहन्छ। बल्लबल्ल फेरि भोलि हुन्छ तर, यहाँ भोलि आएपछि पनि हिजो आइदिन्छ। यसरी 'ब्याक एन्ड फोर्थ' गर्दै ननलिनियर शैलीमा कथा भन्ने 'फर्की फर्की' प्रेरित हुँदाहुँदै पनि कथावाचनको हकमा 'ग्राउन्डहग डे'बाट बिलकुलै भिन्न छ। यसलाई यसरी भनौँ, नेपाली मास अडियन्सले खोज्ने नेपाली मसला मोल्न निर्देशक गुरुङले जानेका छन्।

पात्र
फिल्ममा विशेषगरी दुई पुरुष पात्र र दुई महिला पात्र छन्। फिल्मको कथा एउटा घर हो भने यी पात्र मानौँ त्यस घरका चार मुख्य खम्बा हुन्।

सबैभन्दा पहिला अनमोल केसीको पात्र म्याडी उर्फ माधवको कुरा गरौँ। एउटा अराजक र बिलकुलै आत्मकेन्द्रित पात्र म्याडी कथाको अन्त्यसम्म एउटा विनम्र पात्र माधव बनेर निस्किन्छ। उसको चरित्रको यात्रावृत्त यस्तो देखाइएको छ मानौँ उसको आत्माले नै काँचुली फेरेको होस्। र यो काँचुली फेर्ने यात्रामा फिल्म आनन्दले हिँडेको महसुस हुन्छ। म्याडीले माधवसम्म यात्रा गर्दा बनेको यो सकारात्मक पात्रवृत (पोजिटिभ क्यारेक्टर आर्क) लाई दर्शकहरूले पक्कै पनि रुचाउनेछन्। र यसले फिल्मको कथालाई पनि न्याय गर्न सकेको छ।

रवि काफ्लेको पात्र 'सुवास' भने यी चारमध्ये सबैभन्दा न्युट्रल पात्र हो। ऊ सुरुदेखि नै म्याडीको अघि नतमस्तक छ र अन्तिमसम्म पनि रहिरहन्छ। उसको स्ट्रेट पात्रवृत्त अविश्वसनीय नै त लाग्दैन (दर्शक अलि इखालु मनका नपरेसम्म)। यद्यपि, मिल्थ्यो भने कतिपय दर्शकले सुवासलाई पक्कै सोध्दा हुन्- कति चाँडै माफी दिइहालेको? सुझाउँदा हुन्- 'केही मिनेट त तड्पाउनु थियो नि!'

अब महिला पात्रहरूको कुरा गरौँ। जसिता गुरुङको पात्र 'सायरा' सुरुवातमा आत्मनिर्भरताको कुरा गर्छे। ऊ आत्मनिर्भर छ पनि र साथसाथै आफ्नो जिन्दगीका साना-ठूला सबै निर्णय ऊ आफ्नो मर्जीअनुरूप गर्छे। तर, अचानक ऊ प्रेममा पर्छे र त्यसपछि उसको निर्भीक व्यक्तित्व मानौँ मक्किन्छ र ऊ समस्यासँग जुध्ने साहस गर्नुको साटो पलायन रोज्छे। जुन रोजाइमा पनि ऊ दृढ छैन। र अन्तिम बिन्दुसम्म आइपुग्दा त ऊ आफ्नो लागि आफू स्वयं नै आत्मपीडक निर्णय गर्छे। मन नपरी नपरी कुनै निर्णय वा परिस्थितिमा आफूलाई होमिदिन्छे।

हुन त, माधवको अन्तिम मौकाले उसलाई त्यस भासबाट त बचाउँछ। खैर, माधवको विशेष संसारलाई एकैछिन छेउ लगाएर हेर्ने हो भने, 'सायरा'को आफ्नो चरित्र भने बलियोबाट निम्छरो हुँदै गएको छ। पात्रको यो किसिमको नकारात्मक पात्रवृत्तले कथाको गति र द्वन्द्वलाई कायम राख्न सहयोग गरेको छ।

तर, यस पात्रले बनाउने पात्रवृत्तको मध्यभागतिर एउटा 'जर्क' देख्न सकिन्छ। स्पोइल नगरी भन्नुपर्दा पहिलो वियोगपछिको मिलनको दृश्यमा म्याडीप्रति सायरा यसरी पूर्णतया समर्पित भइदिन्छे कि मानौँ, उनीहरूबीच केही भएकै छैन। मानौँ, ऊ फर्केर आउनु नै उसलाई आँखा चिम्लिएर विश्वास गर्नका लागि यथेष्ट कारण हो। नारी मनोविज्ञानको ज्ञान नहुनु वा भन्न सकिन्छ पुरुषको आँखाबाट लेखिएको हुनाले यस महिला पात्रको चरित्र चित्रणमा यस किसिमको अस्वाभाविकता देखापरेको हो।

यद्यपि, समृद्धि अर्याल अभिनीत फिल्मको दोस्रो महिला पात्र 'सुजी' भने आफ्नो चरित्रमा सुरुदेखि अन्त्यसम्म स्वाभाविक रूपमै काय रहन सकेको पात्र हो। सुजीलाई सुरुदेखि अन्तिमसम्म पनि निर्भीक र मुखर पात्रको रूपमा चित्रण गरिएको छ। खैर, कुनै एक घटनापछि भने मुख्य पात्र म्याडीलाई हेर्ने उसको दृष्टिकोणमा परिवर्तन आएको हुँदा उसको बाहिरी व्यक्तित्वले एउटा पोजिटिभ आर्क बनाएको छ।

अन्यथा, सुवासको जस्तै सुजीको पनि पात्रवृत्त भने स्ट्रेट नै देखिन्छ। तर, उसको चरित्रमा भने दर्शकलाई प्रश्न उठाउने ठाउँ मिल्नेछैन।

अभिनय
सन् २००१ मा 'सुपरस्टार' बाट बाल कलाकारका रूपमा अभिनय क्षेत्रमा छिरेका अनमोल केसीले २०२४ सम्म आइपुग्दा दुई दशकभन्दा लामो अनुभव बटुलिसकेका छन् भने दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। अघिल्लो वर्ष छड्के-२ मा आफूले खेल्दै आएको भन्दा बेग्लै पात्रको रूपमा पर्दामा आउँदा उनको अभिनय क्षमतामाथि चौतर्फी प्रश्नहरू उठे। र त्यसैकारण पनि यसपटक उनी कस्तो पात्रमा देखिन्छन् र त्यसले उनी पुन: नेपाली सिनेमामा जम्न सक्लान्, नसक्लान्? समग्र नेपाली दर्शकहरूको यो नै साझा खुलदुलीको विषय बनेको थियो।

र यतिबेला जगजाहेर भइसकेकै छ, आफ्नो पुरानै एलिट-लबरब्वाइ लुक्समा देखिएका उनी फिल्मको कथा र पात्र दुवैमा सुहाउँदिला साबित भएका छन्। अभिनयको कुरा गर्नुपर्दा उनी आफ्ना अघिल्ला फिल्महरूमा भन्दा खारिएका देखिन्छन्। मान्न सकिन्छ, फर्की फर्कीले उनलाई मास अडियन्सको हृदयमा पुन: फर्काइदिएको छ।

सुवासको भूमिकामा रवि काफ्लेले पनि प्रशंसनीय काम गरेका छन्। जसिता गुरुङको अभिनय पनि सदाबहार नै लाग्छ भने सुजीको भूमिकामा देखिएकी समृद्धि अर्यालको काम हेर्दा पनि लाग्छ नेपाली सिनेमामा उनी आउन र हराउन नभएर फर्की फर्की आउनकै लागि देखिएकी हुन्। यद्यपि, यसअघि पनि उनले 'कृष्ण छायाँ', 'प्रे' लगायतका केही सर्ट फिल्महरूमा काम गरिसकेकी छन्।

प्रविधि र कला
भव्य सेटभित्र खिचिएको दृश्यले दर्शकलाई यसै पनि आकर्षित पार्छ नै। तर, फिल्ममा दर्शकले सेटबाहिरका सटहरूमा पनि उत्तिकै आकर्षण महसुस गर्नेछन्। जसका लागि सिनेम्याटोग्राफीमा नरेन्द्र मैनालीले उल्लेख्य काम गरेका छन्। विभिन्न सेटिङमा खिचिएका फिल्मका गीतहरूले पनि दर्शकलाई राम्रैसँग बाँधेर राख्नेछन्।

शीर्ष गीतमा प्रयोग गरिएको बडेमानको स्ट्रिट क्लक र डान्सिङ रिङले फिल्मको थिमलाई बिम्बात्मक रूपमा चित्रण गरेको छ। यसले निर्देशक गुरुङको कलात्मक चेतको दर्शन पनि दिएको छ। कलात्मक चेतकै कुरा गर्नुपर्दा फिल्ममा पात्रहरूमाथि वस्त्रका माध्यमबाट प्रयोग गरिएका रङहरूको विविधता पनि अर्थ पूर्ण र बिम्बात्मक लाग्छ। फिल्मको सुरुवातमा जब म्याडी आफू टाइम लुपमा फसेको भेउ पाउँदैन तब ऊ ब्ल्याक एन्ड ह्वाइट सर्टमा देखिन्छ। सपना हो या विपना? भ्रम हो या यथार्थ? रङको माध्यमबाट उसको मनस्थिति चित्रण गर्न खोजिएको छ।

र बीचबीचमा जब म्याडीका दिनहरू सामान्य अवस्थामा फर्किन्छन् त्यतिबेला ऊ प्रायः न्युट्रल रङका लुगा लगाइरहेको अवस्थामा भेटिन्छ। किताबहरूको प्रयोग, थिएटरको दृश्य आदिले पनि निर्देशकको कलाप्रतिको प्रेम र चेतलाई प्रतिबिम्बित गरेको छ।

जाँदाजाँदै, मास अडियन्सलाई टार्गेट गरेर बनाइएको भए पनि फिल्मले आर्ट फिल्म रुचाउने सीमित अडियन्सलाई पनि नेपाली सिनेमा क्षेत्रमा नौला प्रयोग हुन थालेकोमा आशावादी बनाउन भने पक्कै सहयोग गर्नेछ। पुन: एकपटक दोहोर्‍याउँ, कमर्सियल नेपाली सिनेमाले आफ्नो सेरोफेरोमा ठड्याउँदै आएको जुन पारम्परिक सूत्रको बाँध छ त्यसलाई अलिकति हिजो सन् २०१२ को 'लुट'ले भत्काएको थियो भने त्यसको १२ वर्षपछि आज अलिकति 'फर्की फर्की'ले भत्काएको छ।

पख्नुस् त, यसले तपाईंलाई 'बाह्र वर्षपछि खोलो पनि फर्कन्छ' भन्ने नेपाली उखान त सम्झाएन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .