ad ad

राजनीति


सहायक हवल्दारलाई रविको फोन, सोधे– कहिल्यै गृहमन्त्रीसँग कुरा गर्नुभएको छ?

सहायक हवल्दारलाई रविको फोन, सोधे– कहिल्यै गृहमन्त्रीसँग कुरा गर्नुभएको छ?

नेपालखबर
असार १६, २०८१ आइतबार १८:३०, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रीलाई भन्नुहोस् भन्ने एउटा ‘स्किम’ सार्वजनिक गरेका छन्। यसमा क्युआर कोड स्क्यान गरेर गुनासो दर्ता गराउन मिल्छ।

दर्ता भएका गुनासाको सम्बोधन गर्ने क्रममा मन्त्री लामिछाने र सशस्त्र प्रहरी बल, नेपालका एकजना सहायक हवल्दार नहकुल गौतमबीचको रोचक संवाद भएको छ।

मन्त्रालयको ल्यान्डलाइन फोनबाट ‘ह्यान्डफ्री’ (बाहिरै सुनिने) गरी मन्त्रीले फोन लगाएका छन्। उताबाट हलो भनेपछि मन्त्री भन्छन्, ‘नहकुल गौतमजी बोल्नुभएको हो?’

उताबाट सुनिन्छ, ‘हो।’

मन्त्रीः नहकुलजी, नमस्ते। म रवि लामिछाने बोलेको।
सहायक हवल्दारः सर नमस्कार। जय नेपाल सर।

मन्त्रीः तपाईं प्रहरीमै हुनुहुन्छ?
सहायक हवल्दारः म एपीएफ (सशस्त्र)मा छु सर।

मन्त्रीः कुन पदमा हुनुहुन्छ?
सहायक हवल्दारः सहायक हवल्दारमा सर।

मन्त्रीः ए, ल। तपाईंले गुनासो गरेको मैले पाएँ। गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्युआर कोडबाट गुनासो गर्नुभएको रहेछ। जहाँ तपाईँले जायज कुरा राख्नुभएको रहेछ। जागिर १६ वर्ष भए अति उत्तम हुने थियो भन्नुभएको रहेछ।

भिडिओ

यति भनेर मन्त्री लामिछाने नीति तथा कार्यक्रम र बजेटमा उमेर हद हेरफेरको विषय समेटेको, गृह मन्त्रालयले सुझाव समिति गठन गरेकोलगायतका जानकारी दिन्छन्। यसमा तीव्र रूपमा काम भइरहेको उनले बताएका छन्।

त्यसपछि मन्त्री लामिछाने ती सहायक हवल्दारलाई केही निजी प्रश्न सोध्छन्।

मन्त्रीः तपाईँको दरबन्दी कहाँ छ?
सहायक हवल्दारः म अहिले सिन्धुपाल्चोक १६ नं वार्ड सर।

मन्त्रीः सिन्धुपाल्चोकमा हुनुहुन्छ, ए ठिक छ। परिवारमा कोको हुनुहुन्छ?
सहायक हवल्दारः परिवारमा आमा, दाइ, भाइ, मेरो परिवार, दाइको परिवार, बालबच्चा।

मन्त्रीः ए, ल ठिक छ। सबै राम्रो छ? 
सहायक हवल्दारः राम्रो छ, एकदम राम्रो छ।

मन्त्रीः १६ वर्षमै रिटायर्ड भएपछि के गर्ने प्लान छ? 
सहायक हवल्दारः अब सकेसम्म नेपालमै केही गर्ने सर, नेपालमा केही भएन भने विदेशतिर यसो...।

मन्त्रीः कति वर्ष भयो तपाईँले जागिर खाइरहेको?
सहायक हवल्दारः मेरो अहिले १८ रनिङ छ सर।

मन्त्रीः ल ठिकै छ, यसको कोसिस हामीले गरिराख्या छौँ। 
सहायक हवल्दारः हजुर सर।

मन्त्रीः तपाईँले क्युआर कोड कहाँबाट थाहा पाउनुभयो?
सहायक हवल्दारः हाम्रो अफिसमै राख्या थियो सर।

मन्त्रीः फाइदा भयो नि त्यल्ले गर्दा हैन?
सहायक हवल्दारः हजुर सर, एकदम फाइदा।

मन्त्रीः पहिला गृहमन्त्रीसँग कुरा गर्नुभा’छ कहिल्यै?
सहायक हवल्दारः फर्स्ट टाइम हो सर यो।

मन्त्रीः ल गृहमन्त्रीको हिसाबले भन्दा पनि दाजुभाइको हिसाबले तपाईँहरुलाई मद्दत गर्नुपर्छ भन्ने सोचेर भन्दै आएको छु म। त्यो आफ्नो ठाउँमा छँदै छ। यसलाई सकारात्मकरुपमा सम्पन्न गर्न कामकुरा भइराख्या छ। अरु साथीभाइलाई पनि भन्दिनुहोला है त।
सहायक हवल्दारः हस् सर।

मन्त्रीः ल धन्यवाद। 
सहायक हवल्दारः त्यसपछि मन्त्री आफै फोन काट्छन्। 

लामिछाने राजनीतिमा लाग्नुअघि टेलिभिजन प्रस्तोता छँदा यसैगरी टेलिफोनमा भएका कुरा प्रत्यक्ष प्रसारण गर्थे। उनले टेलिफोनमा भएका कुरा कतै रेकर्ड भइरहेको वा उक्त रेकर्ड सार्वजनिक गर्ने विषयमा सम्बन्धित पक्षको सहमति लिएको भने भिडिओमा देखिँदैन।

उक्त भिडिओ गृह मन्त्रालयको वेबसाइट वा सामाजिक सञ्जालमा सरकारका आधिकारिक खातामा देखिँदैन। बरु जय घण्टी भन्ने एक्सको भेरिफाइड खातामा राखिएको छ। यो मात्र होइन, अन्य टेलिफोन वार्ता पनि यसैगरी सञ्जालतिर राखिएको छ। 

जयघन्टीको लोकेसन काठमाडौँको चमती क्षेत्रमा देखाउँछ। जबकि गृह मन्त्रालय सिंहदरबारमा छ। उक्त खाताको परिचयमा ‘जयघन्टीको आधिकारिक खाता’ लेखिएको छ। घन्टी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिन्ह हो।

मन्त्री लामिछानेले केही जिल्लाका प्रमुख प्रमुखसँगको वार्ता पनि रेकर्ड गरेर सार्वजनिक गरेका छन्। गृहमन्त्रीको यस शैलीबारे नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीले लेखेका छन्, ‘यो प्रत्यक्ष अप्रेसनल शैली नेपाल प्रहरी, उपत्यका प्रहरी र ७ प्रदेश प्रहरी गरेर ९ थरीको फ्रयाग्मेन्टेसनले नेपालको प्रहरी प्रणाली डिफङ्क्ट पार्ने ग्रान्ड्ली डिजाइन्ड खतरनाक तयारीको अन्तको संकेत हो। या प्रहरी संगठनको मौजुदा रणनीतिक र अप्रेसनल कमान्ड चेन भंग गरिएको सूचना हो? कान्फ्यूजन!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .