ad ad

गण्डकी


युवराज महेन्द्रले माओलाई ‘राजा त्रिभुवनलाई मार्छु’ भन्ने चिठी पठाएका खगराजको दाबी

होला त खगराजसँग त्यो चिठी?
युवराज महेन्द्रले माओलाई ‘राजा त्रिभुवनलाई मार्छु’ भन्ने चिठी पठाएका खगराजको दाबी

नेपालखबर
असार १६, २०८१ आइतबार २०:५१, पोखरा

गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीले युवराज हुँदा महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर माओत्से तुङलाई चिठी पठाएको दाबी गरेका छन्।

संसद दिवसको अवसरमा आइतबार संसदमा बोल्दै उनले सो चिठी आफूसँग रहेको जिकिर पनि गरेका छन्।

‘मैले आज भन्नैपर्छ, म सँग त्यो तथ्य र प्रमाण छ। मेरै प्रदेशका एकजना दूतलाई राजा महेन्द्रले भूमिगत बाटो (तिब्बतको बाटो) हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्यो भनेको चिठी मसँग छ,’ उनले भने।

राजा महेन्द्रको दूत भएर लमजुङका खगेन्द्रजंग गुरुङ चीन गएका थिए। राजसभाको सदस्य तथा दुईपटक मन्त्री भएका खगेन्द्रजंगले चीन लगेको र आफ्नै पिताको हत्याको आग्रह गरेको चिठी भएको उनको दाबी छ।

अधिकारीले अगाडि भने, ‘राजाहरू इमानदार हुन्छन् भन्ने भ्रम कहीँ कतै छ भने धेरै सोचेर भन्न म निवेदन गर्न चाहन्छु। कसैको आस्था उहाँहरूको निजी कुरा हो। सबै राजा इमान्दार छन् भन्ने हुँदैन। गणतन्त्र संविधानसभाबाटै गराउँछु भन्ने राजा त्रिभुवन पनि इमानदार हुन सकेनन्।’

राजतन्त्र निर्मम भएकै कारण अहिले गणतन्त्रात्मक शासन व्यवस्था आएको पनि उनले जिकिर गरे।

‘राजतन्त्र यतिसम्म पनि निर्मम हुन्छ। कहिलेकाहीँ भन्ने गर्छौं, म राजतन्त्रको पक्ष–विपक्षमा उभिएको होइन। तर, निरंकुश राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र अलि सापेक्षतामा ठीक हुन्छ भनेका हौँ, हामीले। त्यसले पनि नसकेपछि गणतन्त्रको व्यवस्था हामीले मिलेर गरेका हौँ,’ उनले भने।

गण्डकीमा यतिबेला राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा बनेको कांग्रेस नेतृत्वको सरकार छ। गण्डकीमा राप्रपाका दुईजना सांसद छन्।

अन्तिम समयसम्म पनि खगराजले राप्रपालाई आफूतिर तान्ने प्रयत्न गरेका थिए। उनी राप्रपाकै समर्थनमा अघिल्लोपटक मुख्यमन्त्री बनेका थिए। राप्रपाले कित्ता फेरेपछि खगराज राप्रपासँग रुष्ट छन्।

२०१५ सालको निर्वाचनपछि असार १६ गते पहिलोपटक संसद बैठक बसेको स्मरणमा संसद दिवस मनाइन्छ। खगराजले पनि १५ सालमा राजा रहेका महेन्द्रलाई सम्झे र राजाहरू षड्यन्त्रकारी भएको भन्दै राप्रपामाथि पनि घुमाउरो प्रहार गरे।

उनले संविधानले व्यवस्था गरेको संसद भएको र संसदले सांसदलाई दिएको अधिकार कमजोर बनाउने काम सरकारबाट किमार्थ गर्न नहुने पनि बताए।

‘सांसदका योजना माग्ने तर त्यो अनुसार नहुने काम भइरहेको छ, यसले न संसद बलियो हुन्छ न सांसद बलिया हुन्छन्। न सरकार सरकार जस्तो हुन्छ। हामी संसदलाई बलियो बनाऊँ। सांसदहरु बलियो बनाऊँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .