करिना कपुर यश स्टारर फिल्म ‘टक्सिक’ बाट कन्नड फिल्ममा डेब्यु गर्ने तय भएको थियो। तर, व्यस्तताका कारण उनले फिल्म छाडिन्।
करिनाले फिल्म छाडेपछि अब यस फिल्ममा साउथ ‘लेडी सुपरस्टार’ नयनताराको प्रवेश भएको छ। करिनाको ठाउँमा नयनताराको इन्ट्री भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पिंकभिल्लाका अनुसार टक्सिकका निर्देशक गीतु मोहनदास र यशबीच पछिल्लो हप्ता नयनतारासँग पटकपटक भेटघाट भएको छ। प्रतिवेदनमा नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले लजिस्टिकको काम भइरहेको उल्लेख छ।
फिल्ममा यशकी बहिनीको क्यारेक्टरको पटकथा निकै राम्रोसँग बनाइएको छ। त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खान्छ। स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा निकै खुसी छिन् ।
करिनाले यस फिल्ममा यशकी बहिनीको भूमिकामा देखिने खबर आएको थियो। एक अन्तर्वार्तामा उनले यसबारेमा संकेत पनि गरेकी थिइन् । तर, व्यस्तताका कारण उनले फिल्मबाट हात झिक्नुपर्यो।
नयनताराले गत वर्ष फिल्म शाहरुख खान स्टारर ‘जवान’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनको पान इन्डिया छवि विकसित भएको छ।
यसअघि नयनतारा सन् २०१० मा कन्नड फिल्म ‘सुपर’ मा देखिएकी थिइन्। नयनताराको यो दोस्रो कन्नड फिल्म हुनेछ।
Shares
प्रतिक्रिया