ad ad

कला


गायक प्रकाश सपूत नेपाल भ्रमण वर्षको सद्भावना दूत नियुक्त

गायक प्रकाश सपूत नेपाल भ्रमण वर्षको सद्भावना दूत नियुक्त

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:४०,

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो।

गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए।

गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्यांकन गरेको धारणा राखे। ‘म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु’, उनले भने, ‘मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु।’

भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए। ‘विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ’, उनले भने, ‘विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ।’

गायक सपूत अहिलेको नेपाली लोकसंगीत जगत्मा सफल प्रतिभा हुन। सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन्। केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ।

डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो। प्रेदशमा प्रियजन गुमाउने परिवारको बेदनामा आधारित उक्त गीत ‘युट्युव ट्रेन्डिङ’ को १ नं मा आउन सफल भएको थियो। त्यसयता गायक सपूतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । सपूत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यसमेत छन्।

गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त भएका छन्। गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .