ad ad

कला


जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचन

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचन

नेपालखबर
माघ १, २०७९ आइतबार ८:११, काठमाडौँ

झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरेका छन्।

‘आतोओडा’को अर्थ हुन्छ - गाउँवस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित भएको वक्ताहरुले बताए। गौरादहका सीमान्तकृत सन्थाल फुलमुनी, बुधिन, तुरसा, लुखीहरुको जीवन संघर्ष, सन्थाल गाउँवस्तीको भाषा, लवाइखवाइ र दैनिक व्यवहार उपन्यासमा लेखिएको छ। 

सन्थाल समुदायका लक्खी हेमरमहरुले नागरिकता नपाएको कथा सुनाइन् लेखक जानुका खतिवडाले। ‘झापा विद्रोहमा साथ दिने सन्थालरुलाई आज पहिचान र अधिकारविहिन बनाइएको छ’, उनले भनिन्। 

विन्दु शर्माले सन्थाल पात्रहरुको दुःखले किताब पढ्दा पढ्दै स्तब्ध बनेको बताइन्। ‘रोकिँदै रोकिँदै पढिरहेँ’, उनले भनिन्, ‘उपन्यासको फूलबारीमा फुलेको सुन्दर फूल हो आतोओडा। समाज विकासको गतिमा नसमेटिएका समुदायको संघर्षको गाथा बनेको छ उपन्यास।’

महेशविक्रम शाहले ‘आतोओडा’मा भुइँमान्छेका कथा लेखिएको बताए। ‘उपन्यासमा पुरुष पात्रभन्दा नारी पात्र सशक्त रुपमा आएका छन्, उपन्यासको शक्ति यसमा छ। सन्थाललाई राज्यले कुन हदसम्म ठगेको छ भन्ने कुरा उपन्यासमा आएको छ’, शाहले भने। 

‘यो किताब पढेपछि केही प्रश्न उब्जिन्छन्। झापा विद्रोहमा सघाउने ती सन्थाल अहिले राजनीतिमा कहाँ छन्? झापा विद्रोह गर्ने हाम्रा कमरेडहरुलाई यो प्रश्न छ,’ नारायण ढकालले भने। 

किताब कलम प्रकाशनले छापेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .