काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ। जहाँ श्रेष्ठले आजभन्दा नौ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिए।
लामो अन्तरालपछि पलेँटीमा पुनः सांगीतिक प्रस्तुति दिएका विधानले झण्डै डेढ दर्जन गीत गाए। विधानले प्रस्तुत गरेका अधिकांश गीत उनका पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठले सिर्जना गरेका र संगीत भरेका थिए।
कार्यक्रमको थालनी विजयको शब्द र दीप श्रेष्ठको स्वर, संगीतमा प्रसिद्ध बनेको गीत ‘म पत्थरको देवता होइन’ बाट भएको थियो। कार्यक्रमको पहिलो चरणमा सेन्टिमेन्टल गीतको प्रधानता रहेको थियो। जसमा बुहारी झार झैँ, तिमीलाई साथ, बिर्सुँ भनेर चोट, जाँदैछु टाढा, र जलन छातीको शीर्षकका गीत थिए।
अन्तरमुखी स्वभावका विधानको गायन शैली भने बोल्ड र खुलस्त सुनिन्थ्यो। कार्यक्रमको दोस्रो चरणमा रोमान्टिक गीतको पालो परेको थियो। जसमा आज नाच्छे मेरी गौरी, हिँड लौ मायालु र तारा जून शीर्षकका गीत रहेका थिए।
कार्यक्रमको तेस्रो चरणमा विजयबाहेक अन्य रचनाकारका गीत समेटिएको थियो। यस चरणको पहिलो प्रस्तुतिमा दार्जिलिङका प्रसिद्ध गीतकार तथा संगीतकार पारस गजमेरको रचना ‘ती रमाइला याद’ रहेको थियो।
यसैक्रमको दोस्रो प्रस्तुति ‘सोल्टिनी भनी बोलाको’ बोलको गीत रहेको थियो। यो गीतलाई हङकङको कुनै बेलाको चर्चित ब्यान्ड ‘संगम’ ले सिर्जना गरेको थियो। पछिल्लो चरणमा भने विधानले नै यस गीतलाई दर्शक, श्रोतामाझ प्रस्तुत गर्दै आएका छन्।
यसपछि केही लोकगीतको प्रस्तुति रहेको थियो। लोकगीत प्रस्तुत गर्ने क्रममा विधानले आफ्ना अग्रज सुन्दर श्रेष्ठ र तीर्थकुमारीले कुनै बेला रेडियोमा गाएको गीत ‘भक्तपुरे दही’ बोलको गीतलाई छानेका थिए। लोकपाराकै गीत प्रस्तुत गर्ने क्रममा अर्को गीत ‘कान्छीको अल्लारे जोवन’ प्रस्तुत भएको थियो। यस गीतलाई ध्रुव बस्नेतले सङ्कलन गरेका थिए।
कार्यक्रममा गायक प्रेमध्वजको स्वरमा प्रसिद्ध बनेको ‘यो नानीको सिरैमा इन्द्र कमल फूल फुल्यो’ पनि प्रस्तुत भएको थियो। यस गीतलाई प्रसिद्ध लोक कलाकार झलकमान गन्धर्वले संकलन गरेका हुन्।
कार्यक्रमको अन्तिम चरणमा देशभक्तिपूर्ण गीतको प्रस्तुति रहेको थियो। जसमा ‘ज्ञानबहादुर छोरो’ बोलको काव्यात्मक गीतका साथै ‘एकता नै बल हो’ र ‘माछी मार्न जाउन दाजै कालापानीमा’ जस्ता चर्चित गीतहरू रहेका थिए।
कार्यक्रमको अन्त्यमा प्रस्तुत भएको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ गीतपछि दर्शकले विधानलाई ‘स्ट्यान्डिङ ओवेसन’ दिएका थिए।
यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा आशिष श्रेष्ठ, रिदम सेक्सनमा सुन्दर कुमार महर्जन र पारसमणि सुवेदीको सहभागिता रहेको थियो। आगामी महिनाको पलेँटीमा कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी दिएका थिए।

प्रतिक्रिया