अभिनेता राजेश हमालले फिल्ममा बाबु बन्न नमानेको खबर अहिले चर्चामा छ। केही फिल्म निर्माताले माटो पारिश्रमिक दिएर बाबुको भूमिका निर्वाहका लागि अफर गर्दा पनि हमालले अस्वीकार गरे। उनको यो अस्वीकृतिलाई उद्योगका मानिसहरुले आआफ्नै ढंगले विश्लेषण गरिरहेका छन्।
सामाजिक सञ्जालमा आफ्नो अस्वीकृतिबारे बहस भइरहँदा मौन रहेका हमालले ठट्यौली पारामा जवाफ दिएका छन्।
उनले फिल्ममा महँगो पारिश्रमिकसहित बाबुको भूमिका अफर आउँदा अस्वीकार गर्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उल्टै प्रतिप्रश्न गरे ‘यो बाबु बन्ने उमेर हो मेरो?’
उनले छोराछोरीको बाबु नबन्नेसमेत बताउन भ्याए।
टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’को चौथो सिजनमा अतिथि बनेर पुगेका हमालले आफूलाई सच्याउने प्रयत्न पनि गरे। उनले भूमिका यो त्यो नहुने भन्दै राम्रो, सशक्त, मुख्य क्यारेक्टरवाला भूमिकामा अभिनय गर्न तयार रहेको बताए।
घुमाउरो शैलीमा उनले यसपटक पनि आफू अझै लिड क्यारेक्टरमै देखिन चाहेको कुरा लुकाएनन्।
Shares
प्रतिक्रिया