कला


नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर?

नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर?

नेपालखबर
चैत १, २०७८ मंगलबार १३:३३, काठमाडौँ

किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना गरेको छ।

नेपाल चलचित्र विकास बोर्डमा सोमबार भएको कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल गरिएको थियो। मुख्य गरी तीन भागमा विभाजन गरी भएको कार्यक्रममा सहभागी अधिकांशले फिल्म तथा मिडिया दुवैमा महिलाको संख्या कम मात्र नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको बताएका थिए। 

ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविध कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वर्ल्ड फेस्टिभलअन्तर्गत फिल्म डेको रुपमा मनाउने निर्णय गर्दै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर एक दिने कार्यक्रम आयोजना गरेको हो। 

बिहान ११ बजेदेखि सुरु भई साँझसम्म चलेको कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला फिल्मकर्मीले बनाएका छोटा फिल्म देखाएर तिनमाथि छलफल चलाइएको थियो। ‘महिला र उनीहरूको कथा वाचन’शीर्षकमा समेटिएको फिल्म स्क्रिनिङ तथा छलफलमा फिल्मकर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएकी थिइन्। १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका फिल्ममा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका फिल्म देखाएर छलफल गरिएको थियो।

सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका फिल्मको बारेमा धारणा राखेका थिए। 

यही सत्रमा ग्रान्टमा फिल्म बनाइरहेका फिल्मकर्मीले यसरी संघ संस्थाबाट आर्थिक सहयोग पाएर फिल्म बनाउँदाको अनुभव बाँडेका थिए। प्रसुना डंगोलले सञ्चालन गरेको यो छलफलमा प्रशंसा केसी, बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव बाँडेका थिए।  

दोस्रो सत्रमा भने नेपाली फिल्ममा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो। कार्यक्रममा पिंकी शिरीष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए। सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्य देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो। यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो। 

कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो। अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा फिल्ममार्फत नारी सशक्तीकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो। कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी वरिष्ठ कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन फिल्मका सह संस्थापक सुरत गिरी, नेपाल फिल्म क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेती, ह्युमन राइट फिल्म फेस्टिभलकी बिधु माझी, डकस्कुलका सरोज सापकोटा, युएन वुमनका रविन राई, माउन्टेन फन्डका कार्यकारी निर्देशक स्कट म्यालेनन , पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना र किपालयकी सदस्य पुष्पा जोशीको सहभागिता थियो। 

छलफलमा सहभागी अधिकांशले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल निर्माणमा महिलाको सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराएका थिए। अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म यो क्षेत्रमा सोचेझैँ महिलाको प्रतिनिधित्व गराउन नसकिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad