त्यतिबेला चितवनलाई ७६ औँ जिल्ला भनिन्थ्यो। नेपालका प्रायजसो जिल्लाबाट मानिसहरु बसाइँ सरेर आउँथे। सहज जीवनयापनका लागि आफू जन्मेहुर्केको गाउँ छाडेर आएका मानिसहरुसँगै बिताए अभिनेता सरोज खनालले बाल्यकाल।
आफ्ना सामान बोकेर बसाइँ आउनेको ताँती देख्दा सरोजको बाल चेतनाले प्रश्न गथ्र्यो, ‘मानिसहरुलाई केले बाध्य गराउँछ होला, आफ्नो पुख्र्यौली गाउँ छाड्न?’
‘नभएका चिजको खोजीमा रहेछ मान्छेले घर छाड्ने। परिवार छाड्ने। गाउँ, जिल्ला र देशै छोड्ने,’ सरोज हिजोआज घोत्लिएर सोच्छन्, ‘उनीहरुलाई पनि मलाई जस्तै छोराछोरीको सुन्दर भविष्यको चिन्ता नहुँदो हो त किन छाड्थे होला र आफू जन्मेहुर्केको गाउँ।’
सरोजले पनि सानै उमेरमा चितवन छाडे। बसाइँ आउनेहरुको जिल्ला मानिने चितवनमा जन्मिएका सरोजको यात्रा त्यस्तै अर्को जिल्ला काठमाडौँतिर सोझियो। उनी ८ पास गरेर थप अध्ययनका लागि काठमाडौं आए। जिल्लामा भनेको जस्तो स्कुल थिएन। कलेज पढ्न त झन देशभरबाट काठमाडौं आउनुपर्ने अवस्था थियो।
उनको स्मृतिमा काठमाडौँको अहिलेको भन्दा बिल्कुल भिन्न चित्र अंकित छ। आकाशबाट नियाल्दा हरिया फाँट देखिन्थे। कतैकतै देखिने बस्ती निक्कै कलात्मक लाग्थे। नेवारी शैलीका मठमन्दिर, बौद्ध र स्तुपले अलग्गै रंग थपेको थियो। जसरी उनकै आँखा अगाडि फेर्यो काठमाडौंले आफ्नो चोला, त्यसैगरी फेरियो सरोजको जीवन पनि।
अध्ययनका लागि आएका काठमाडौंले धेरैथोक दियो सरोजलाई। भविष्यको उज्यालो बाटो देखायो। रंगमञ्च हुँदै सिनेमाको पर्दामा स्थापित गरायो। देशभरका दर्शकको माया दियो। घर परिवार र सन्तान सुख सबै दियो।
सरोजका बुबाले भविष्यको चिन्ता गरेर छोरालाई काठमाडौं पठाएका थिए। सरोज आफैं बुबा भएपछि उनलाई पनि आफ्नो भन्दा छोराहरुको भविष्यको चिन्ताले सतायो। दुई छोराका पिता सरोज एकदिन कार्यक्रमका लागि अमेरिका पुगे। उनीसँगै गएका साथीहरु फर्किने क्रममा थिए। उनी भने उतै बसे। जीवनका १७ बसन्त अमेरिकामै बिताए। तर पटकपटक उनले भनिरहे ‘अमेरिका यात्रा मेरो जीवनको एउटा दुर्घटना थियो।’
धेरैलाई लाग्छ अमेरिका पसेर धेरैथोक पाए सरोजले। सरोजलाई भने पटक्कै पाएको लाग्दैन। उनी भन्छन्, ‘पाएको भन्दा गुमाएको धेरै छु।’
उकालो यात्रामा रहेको करिअर छुट्यो। करिअरसँगै छुट्यो यहाँको मान–सम्मान र आफूप्रतिको क्रेज। यहाँका सेलेब्रिटी सरोजलाई चिन्ने समाज त्यहाँ कहाँ थियो र?
यहाँको सम्झनाले उनको छातीमा कयौँ पटक ऐठन पर्यो। तर उनले कहिल्यै गुनासो गरेनन्। कारण उनका छोराहरुको भविष्य सुन्दर बन्दै गएको थियो। छोराहरुको सुदूर भविष्यका लागि आफ्नो उज्यालो वर्तमानमा बिराम लगाएका सरोज विगतलाई फर्किहेर्छन् र लामो श्वास लिन्छन्।
‘अमेरिका गएर मैले पाएको भनेको छोराहरुको भविष्य हो। जुन भविष्य यहीँ बसेको भए त्यस्तै राम्रो नबन्न पनि सक्थ्यो,’ उनी भन्छन्।
सरोज अमेरिका पस्दा उनका जेठा छोरा ९ वर्षका थिए। आफू स्टार कलाकारको छोरा भन्ने थाहा भइसकेपछि उनी अटेरी स्वभावका हुँदै गएका थिए। छोरा सानैबाट गलत संगतमा परेको सरोजलाई भान हुन्थ्यो। त्यही पिरले उनी अमेरिकाबाट फर्किन सकेनन्।
‘कुनै बेला मेरो छोरो अहिलेको जस्तो शान्त बन्ला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ,’ उनी भन्छन्, ‘धेरैथोक गुमाएर पनि पाएको खास कुरा यही हो मैले।’
सरोजलाई जिल्ला छोड्दाभन्दा निक्कै गाह्रो भएको थियो देश छोड्दा। उनलाई त्यतिबेला आफ्नोभन्दा श्रीमतीको गुमनाम जीवनले पिरोल्थ्यो। सूर्यमाला खनालले नेपालमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी थिइन्।
सरोजलाई लाग्थ्यो, ‘म आफू त गुमनाम भएँ नै। श्रीमतीको आफ्नै पहिचान थियो। उनको पनि करिअर पनि सकिदिएँ। मैले यो के गरेको होला?’
छोराहरुको भविष्यका लागि देश छाडेका सरोजलाई पिर थियो, एकदिन छोराले आफूलाई छाड्लान्। देशसँगै संस्कार र संस्कृति छुट्यो। आत्मियता र प्रेम छुट्यो। छोराहरु हुर्कदै जाँदा सरोजको मनमा पिर पनि हुर्किरहेको थियो।
‘अमेरिकामा १८ वर्ष पुगेपछि छोराछोरी घर छाडेर निस्कन्छन्। कतिपयलाई आमाबाबुले नै घर छाडेर जाऊ भन्छन्। त्यसपछि बाबुआमाले छोराछोरी भेट्ने वर्षमा एकपटक हो,’ उनी भन्छन्, ‘त्यसैले उनीहरुमा परिवारप्रतिको अपनत्व विकास हुँदैन।’
अरुका जस्तै आफ्नो छोराले पनि बा–आमा छोडेर हिँड्यो भने के गर्ने भन्ने पिरले कयौं रात अनिँदो बिताए उनले। तर, उनका छोराले १८ वर्ष पुरा भएपछि भनिदिए, ‘बुबाआमा छोडेर म कहाँ जान्छु! म हजुरहरुसँगै बस्ने हो।’
यसपछि बल्ल सरोजले सन्तोषको सास फेरे।
१७ वर्षपछि स्वदेश फर्केपछि पनि उनले नेपालको भविष्य राम्रो भने देखेका छैनन्।
‘यहाँका नागरिकले आफ्नो भविष्य सुरक्षित महसुस गर्न कहाँ पाउँछौँ र? हाम्रो त देशको भविष्य नै के हुन्छ भन्न सक्ने अवस्था छैन। त्यसको मार गरिखाने वर्गका मान्छेले भोग्नु परिरहेको छ,’ उनी भन्छन्, ‘देशमा यही क्रम जारी रहने हो भने यहाँका हरेक नागरिकको सानो सपना खाडी र ठूलो सपना अमेरिका बन्ने छ।’
Shares
प्रतिक्रिया