ad ad

कला


‘भाइरल’ बनाएर पाखा लगाइन्छन् केटाकेटीः कता हराए अशोक दर्जी र सचिन परियार?

भ्युजको लोभमा रोकिएन बालप्रतिभाको दुरुपयोग
‘भाइरल’ बनाएर पाखा लगाइन्छन् केटाकेटीः कता हराए अशोक दर्जी र सचिन परियार?

राधिका अधिकारी
पुस १३, २०७८ मंगलबार १५:४८, काठमाडौँ

मध्ये माघको चिसो। झापाको बाटोमा गीत गाउँदै गरेका एक बालक। उनलाई सोधियो, ‘किन बाटोमा गीत गाउँदै हिँडेको?’

‘बाटोमा गीत गाएर दिनको हजार रुपैयाँ जति कमाउँछु। कमाएको पैसाले चामल किन्छु। खेती गर्छु। बुबा थला पर्नु भएको छ,’ ती बालकले जवाफ दिए।

उनको स्वर र त्यो जवाफले धेरै मानिसको ध्यान खिच्यो। त्यसपछि उनको खोजी सुरु भयो। उनी थिए, अशोक दर्जी।

नवराज उप्रेतीले पहिलो पटक ०७४ मा अन्तर्वार्ता लिएर युट्युबमा प्रसारण भयो। अनि त एकपछि अर्को युट्युबर उनको पछि लागे र उनी ‘भाइरल’ भए। उनको चर्चा र गायनलाई नजिकबाट नियालेका संगीतकार टंक बुढाथोकीले अशोकलाई स्टार बनाउने सपना देखे।

त्यसपछि टंकले अशोक दर्जीलाई लिएर ‘धनबिनाको मन ठूलो कि मनबिनाको धन’बोलको गीत रेकर्ड गराए। त्यसपछि उनको चर्चा झनै चुलियो। उनको उमेरका अरु केटाकेटी खेल्दै हुर्कंदै गर्दा ८ वर्ष टेक्दै गरेका अशोक ‘स्टार’ भए। उनका नाममा भनेका अनेक भिडिओले लाखौँ भ्युज पाए।

झापाबाट उनलाई काठमाडौँको स्टुडियो पुर्याइयो र गीत रेकर्ड गर्न लगाइयो। अशोकलाई स्टुडियो के हो, रेकर्डिङ कसरी हुन्छ, सुरताल मिलाएर कसरी गाउने, कोसँग कसरी व्यवहार गर्ने, केही थाहा थिएन। उनलाई केही नसिकाइ लहडकै भरमा ‘अटो ट्युन’ चलाएर गीत रेकर्डिङ गरियो। 

धेरैले त्यतिबेलै ‘अटो ट्युन’ले अशोकको प्राकृतिक स्वरलाई छायाँमा पार्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। अशोकलाई गाउन लगाउने टंकमाथि नै प्रश्न उठेको थियो, ‘नियत भाइरल हुने÷बनाउने मात्र त होइन?’

त्यसरी उनको दुइटा गीत रेकर्ड गरियो। केही समय उनी मेला-महोत्सवमा समेत सहभागी भए। तर, त्यसपछि उनी कता हराए, पत्तै भएन। हिजोआज उनी कहाँ छन्, के गर्दैछन् कसैलाई थाहा छैन। गत सेप्टेम्बरमा टंक बुढाथोकीको युट्युब च्यानलबाट अशोकको एउटा गीत अपलोड भने भएको छ।

यसैगरी चर्चामा ल्याइएका अर्का बालक हुन् सचिन परियार। ९ वर्षको कलिलो उमेर। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो। 

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट भए। सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो।

केही समय अघिसम्म सार्वजनिक भएका म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो। चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको याम पनि सकिएको छ। उनको चर्चा पनि सामाजिक सञ्जालमा सेलाइसकेको छ। 

लगभग यही अवधिमा कमला घिमिरे, आयुषा गौतम, वसन्त लामालगायत बालबालिकालाई ‘भाइरल’ बनाइयो। उनीहरु सबैलाई युट्युबरहरुले तानेर चर्चामा ल्याएका थिए। 

एक समय धादिङ मलेखुको सडकमा गीत गाउँदै हिँड्ने प्रेम परियारको पनि राम्रै चर्चा थियो। उनले केही समय निकै राम्रा गीत गाए। चलचित्र ‘नाइँ न भन्नु ल–२’मा गीत गाउने अवसर पाएपछि उनी रातारात हिट बनेका थिएन। उनको जीवनमा छोटो समयमा धेरै परिवर्तन देखा पर्यो। उनी विदेशी ‘शो’मा समेत सहभागी भए।

तर, त्यसपछि उनी पढाइमा लागे। पछिल्लो समय फिल्ममा आउने चर्चा चले पनि अहिले उनी गीत संगीतको क्षेत्रमा सक्रिय छैनन्। 

यसरी बालबालिकालाई अरु कसैको लहडका भरमा ‘भाइरल कन्टेन्ट’ बनाउने कार्यले उनीहरुको मनोदशा र भविष्यमा कस्तो असर पर्ला भनेर कसैले सोचेको देखिँदैन। 

बालबालिकालाई मिडिया र चर्चाको लोभ देखाएर प्रयोग गर्ने गरिएको विज्ञहरु बताउँछन्। यो बालबालिकामाथि शोषण र ज्यादती भएको तथा यसले तिनको मनोविज्ञानमा समेत गम्भीर असर पार्ने उनीहरुको भनाइ छ।

मनोविद् गोपाल ढकाल बालबालिकालाई यसरी प्रयोग हुनबाट रोक्नुपर्ने बताउँछन्। 

‘यसरी प्रयोग भएका बालबालिकाको मनोविज्ञानमा गम्भीर खालको असर पर्छ,’ उनले भने, ‘बालबालिका काँचो माटो हुन्। उनीहरुलाई के कुराको असर कस्तो पर्छ भन्ने थाहा हुँदैन। तर, उनीहरुको मनोविज्ञानमा भने गम्भीर असर गरिरहेको हुन्छ। त्यसतर्फ अभिभावक तथा राज्यले ध्यान दिन जरुरी छ।’ 

प्रायः कमजोर आर्थिक अवस्था भएका तथा अशिक्षित समुदायका बालबालिका यसको सिकार बन्ने गरेको उनको भनाइ छ। 

जिल्ला बाल सञ्जाल काठमाडौँमा लामो समय काम गरेकी नेहा गुरुङ डलरको लोभमा बालबालिका माथि ‘इमोसनल ब्ल्याकमेलिङ’ भइरहेको बताउँछिन्। बालबालिकालाई प्रयोग गरेर सामग्री बनाउनु गलत भएको उनको भनाइ छ। 

बालबालिकालाई अन्तर्वार्ताका नाममा बोझिला र अन्टसन्ट प्रश्न गर्न नहुने बालअधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन्। 

‘साना–साना बालबालिकालाई भाइरल गराएर कन्टेन्ट बिकाउन उमेरले नै नधान्ने प्रश्न गरिदिनाले बालबालिकामा नकारात्मक असर देखिन्छ,’ उनी भन्छिन्, ‘भाइरल बनाइएका बालबालिकाको उमेरलाई ध्यान नदिई बोझिला प्रश्न सोधेको धेरै देखेको छु, यो राम्रो होइन।’

केही समय चर्चामा ल्याउने र भ्युज जान छाडेपछि वास्ता गर्न छाड्दा बालबालिकाको भविष्यमा नकारात्मक असर पर्ने गुरुङ बताउँछिन्। 

यस्ता बालबालिका प्रायः युट्युबरको निसानामा पर्ने गरेका छन्। आफूहरुले प्रतिभालाई स्थान दिएको उनीहरुको तर्क हुन्छ।

रोकिएको छैन दुरुपयोग

स्थान दिने बहानामा कसैलाई प्रयोग गर्न नहुने गायक कन्हैया सिंह परियार बताउँछन्। उनी भन्छन्, ‘कयौँ प्रतिभा हरेक बस्तीमा छन्। सबै मिडियामा आउन पाउँदैनन्। सानै उमेरमा मिडियामा आउन पाउनु कतिपयका लागि सौभाग्यको कुरा हो। तर भ्युज जाँदासम्म सबैले हाई–हाई गर्ने, पछि कुनै खोज खबर नगर्ने गरियो भने त्यो राम्रो होइन।’ 

बेलाबेला कलाकारहरुले नै भाइरल प्रतिभालाई जथाभावी प्रयोग गरेर कला क्षेत्रलाई फोहोर बनाएको दुखेसो समेत गर्ने गरेका छन्। प्रतिभा भएका मानिसलाई पनि शिक्षा दिएर, गीत–संगीतबारे ज्ञान दिएर मात्रै गाउन लगाउनुपर्ने उनीहरुको भनाइ छ।

बालप्रतिभालाई भाइरल गराएर पैसा कमाउने र केही समयपछि पाखा लगाउने काम रोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .