निर्वाचन विशेष


निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गर्‍यो : विशाल भट्टराई

‘गठबन्धन गरेर एमालेलाई एक्ल्याउने प्रयास भयो, आइरहेको मतपरिणाममा उत्साहित छौँ’
निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गर्‍यो : विशाल भट्टराई

फाइल फाेटाे


नेपालखबर
जेठ ३, २०७९ मंगलबार १३:१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन गरेर सत्तापक्षले प्रमुख प्रतिपक्षलाई एक्ल्याउने प्रयास गरेको बताएको छ। 

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेलाई एक्ल्याउने प्रयास भए पनि डटेर सामना गरेको बताएका हुन्। 

उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताए। 

उनले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभई नेपालमा मात्रै भएको जिकिर गरे। 

उनले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताए।

उपाध्यक्ष नेम्वाङले भने, ‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु । नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो । संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरुले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो । त्यो कतै भएको छैन, यहीँ नेपालमा मात्र भएको छ । अहिले हामीले गरेको कामबाट आएको परिणामबाट हामी उत्साहित छौँ ।’ 

उनले एमालेलाई सबै मिलेर एक्ल्याउने प्रयास भए पनि दृढतापूर्वक सामना गरेर आएको परिणामबाट उत्साहित रहेको बताए। 

‘जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरु देश र जनताको हितमा हुँदैनन् । त्यही सम्बन्धित पार्टीकै हितमा पनि हुँदैन । यसै पटक पनि जनताले गरेको निर्णयमा कता कता त्यसको झलक देखिन्छ’, उनले निर्वाचनको परिणामबारे भने। 

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताए। उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए।

प्रमुख सचेतक भट्टराईले भने, ‘वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । केही ठाउँ बाहेकका अधिकांश स्थानको मत परिणाम आउने क्रममा नै छ । नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन । हाम्रो विरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर हामीविरुद्ध दुईवटा घेराबन्दी गरिएको थियो । त्यसबा बाबजुद पनि हाम्रो ठिकै रिजल्ट आइरहेको छ । त्यसको समीक्षा हुनेछ ।’

प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताए। 

उनले स्थानीय तह सदस्य निर्वाचनको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad