नेकपा एमालेले निर्वाचनमा सत्तापक्षमाथि धाँधलीको आरोप लगाइरहेका बेला युवा नेता महेश बस्नेतले टिकट वितरणमा भएको कमजोरीले पराजित हुनुपरेको बताएका छन्।
वैशाख ३० मा सम्पन्न निर्वाचनअन्तर्गत विभिन्न तहको मतगणना सार्वजनिक भइरहँदा उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा टिकट वितरणमा भएको कमजोरीले पराजित हुनुपरेको बताएका हुन्।
‘एमालेविरुद्ध सबै दलहरु गठबन्धन बनाएर लागेको बेलामा पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौँ,’ बस्नेतले भनेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रमहरुलाई समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरुको बारेमा गरिएका कु–प्रचार तोड्न नसक्दा, हामीप्रति जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नपामा हामीले जित्ने १, २, ५ वडामा अध्यक्ष पराजित भएका छन्।’
निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दियो १५ ‘प्रमाण’
उनले ती वडाहरुमा मिश्रित परिणाम आएको, प्रमुख र उपप्रमुखमा एमालेको मत घटेको र लगभग हारको नजिक पुगिएको पनि उल्लेख गरेका छन्।
नेता बस्नेतले मत परिणाम स्वीकार गरेर कमजोरी हटाउँदै सशक्त ढंगबाट जनताको सेवामा लाग्ने पनि उल्लेख गरेका छन्।
‘जे होस् यो परिणाममार्फत् जनताले दिनुभएको आदेशलाई स्वीकार गरेर हामी भित्र जान अन्जानमा भएका कमजोरी हटाएर अझ सशक्त ढंगले अगाडि बढ्दै जनताको सेवामा आउने छौँ’, उनले लेखेका छन्।

Shares

प्रतिक्रिया