ad ad

निर्वाचन विशेष


भरतपुरमा रेनुलाई हराउन, प्रचण्डको वेग रोक्न एमालेका सात रणनीति (देवी ज्ञवालीसँग भिडिओ वार्ता)

भरतपुरमा रेनुलाई हराउन, प्रचण्डको वेग रोक्न एमालेका सात रणनीति (देवी ज्ञवालीसँग भिडिओ वार्ता)

देवी ज्ञवाली भन्छन्ः चितवनमा माओवादीको ३० प्रतिशत मत यताउति गरिदिएका छौ (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख १५, २०७९ बिहिबार १८:२३, भरतपुर

२०७४ सालको स्थानीय तह निर्वाचनमा चाहेर पनि बिर्सिन नसकिने पात्रको नाम हो, देवी ज्ञवाली। २०३ मतको झिनो अन्तरले माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेनु दाहालसँग भरतपुर महानगरको मेयरमा हारेका एमाले नेता ज्ञवालीलाई मैदानबाट किनारा लगाउन दुई–दुई चोटि निर्वाचन गराउनुपरेको थियो। ज्ञवालीले जित्ने जित्ने अवस्था आएपछि कांग्रेसको सहयोगमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेर दोस्रो निर्वाचन गराइएको र रेनुलाई जिताइएको आरोप लाग्दै आएको छ।

२०७४ को निर्वाचन ‘प्राविधिक रुपमा’ आफूले जितेको ठान्ने एमाले चितवन इन्चार्ज ज्ञवाली यसपालि आफ्ना उम्मेदवारलाई भरतपुर महानगरमा जिताउने अभिभारा बोकी चुनावी रणमैदानमा खटिएका छन्। राजनीतिमा कोही स्थायी शत्रु हुँदैनन्। २०७४ को स्थानीय निर्वाचनमा मारामार गरेका माओवादी–एमाले त्यसलगत्तैको संसदीय निर्वाचनमा एक भई होमिएका थिए। त्यो चुनावमा प्रचण्डलाई जिताउन काँध थापेका ज्ञवालीले चुनावी परिचालनको नेतृत्व आफैँले लिएका थिए।

तर, अहिले समयले कोल्टो फेरेको छ। हिजो नेकपाको गठजोडमा संगठन बिस्तारमा जुटेका दुई दलबीच अहिले ‘पानी बारबार’ छ। गएको केही वर्षयता प्रचण्डले भरतपुरलाई ‘थवाङ’ बनाउन सम्पूर्ण शक्ति खर्चिरहेको टिप्पणी स्थानीय कांग्रेसले मात्र होइन एमालेले पनि गरिरहेको छ। त्यही वेग रोक्न आफू यसपालि प्रतिद्वन्द्वी कित्ताको नेतृत्वमा उभिएको ज्ञवाली बताउँछन्।

ज्ञवालीलाई भेट्न सोमबार बिहान ६ बजे नेपालखबर टिम उनको भरतपुरको ​लक्ष्मीपुरस्थित निवासमा पुग्दा उनी ‘मर्निङवाक’ का निम्ति निस्किसकेका थिए। करिब एक घण्टापछि घर फर्किएका उनले आफ्नो व्यस्तता सुनाए, ‘राप्रपासँगको बैठक र चुनावी तालमेलबारे छलफल गर्दागर्दै समय बितेको पत्तै भएन। घर आइपुग्दा राति एक बजिसकेको थियो। बिहान उठेर निस्कियो, सबै बाटामा भेट हुन्छन के गर्ने!’

माओवादीले ‘युद्ध’ ठानेको भरतपुरको चुनावी मैदानको मुख्य प्रतिद्वन्द्वी एमालेका चुनावी रणनीतिकार ज्ञवाली कांग्रेसभित्र चर्किएको असन्तुष्टिले निकै हौसिएका देखिन्थे। यसपालिको निर्वाचनमा छोरी रेनुलाई जिताउन प्रचण्ड स्वयं मैदानमा खटिएका छन्। त्यसकारण एमालेले भने ज्ञवालीको भूमिका बढी महत्वपूर्ण हुने ठानेको देखिन्छ। 

प्रचण्डलाई काँध थापेकोमा कार्यकर्ता मात्र होइन आफ्नै परिवार पनि रुष्ट भएको स्मरण गर्दै ज्ञवालीले एउटा रोचक प्रसंग सुनाए, ‘प्रचण्डसँग घाँटी जोड्यौ भन्दै परिवारले एक महिना राम्ररी खान दिइनन्।’

प्रचण्डका निम्ति भरतपुर जीवनमरणको प्रश्न भएकोले उनी मरिमेटेर लागेको बताउने ज्ञवालीले ‘प्रचण्डलाई रोक्न’ तयार गरिएका एमालेका विभिन्न रणनीति सुनाए। जसलाई हामीले सात बुँदामा समेट्ने प्रयास गरेका छौँ। यसपालि पनि निकै घम्साघम्सी हुने ठानिएको भरतपुरको चुनावमा एमालेले बनाएका सात रणनीति ज्ञवालीकै शब्दमाः

१. एमालेको ‘सरप्राइज’ उम्मेदवार
धेरैले यसपालि पनि एमालेबाट भारतपुर ममहानगरमा देवी ज्ञवाली नै मेयरमा उठ्छन् भन्ने सोचिरहेका थिए। विजय सुवेदीको उम्मेदवारीबारे केन्द्रीय नेतृत्वबाहेक कसैलाई भेउसम्म दिइएको थिएन। विजय स्वयंलाई पनि यसबारे बताइएको थिएन।

हामीले मसिनोगरी गठबन्धन दलको क्रियाकलाप अध्ययन गरिरहेका थियौँ। त्यसैको आधारमा मैले कांग्रेसको गढ शारदानगरबाट राजनीति गरेका, इमान्दार छविका र जनस्तरमा भिजेका विजयलाई छनौट गर्ने निर्णय गरेँ। उनको नाम केन्द्रीय नेतृत्वबाट सदर गराएँ। पार्टी हितको निम्ति घरीघरी मैले उम्मेदवारी दिनु ठिक हुन्थेन। त्यसमाथि जिल्ला इन्चार्ज आफैँ उम्मेदवार बनेपछि चौतर्फी ध्यान दिन सम्भव हुन्थेन। आफ्नो क्षेत्रमा मात्र एकाग्र हुनुपथ्र्याे। 

यो घोषणाले उम्मेदवार विजय स्वयं चकित परे। यसले राम्रो काम गरेको छ। गठबन्धनविरुद्ध एमालेले एउटा बलियो उम्मेदवार पाएको छ। विजय सर्वदलीय सहमतिका आधारमा भरतपुरको विकासका निम्ति बनाइएको गुरुयोजनाका संयोजक पनि हुन्। त्यसैले उनको चयन एमालेका निम्ति सञ्जीवनी बुटी हुने पक्का छ। 

२. राप्रपाको १० हजार मत  
नेकपा माओवादीले रेनु दाहाललाई जिताउन कांग्रेससँग गठबन्धन गरेको हुनाले हामीले पनि राप्रपासँग चुनावी तालमेल गरेका छौँ। यसपालि राप्रपा राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचनमा गएकाले त्यसले मत बढाउने देखिन्छ। लिङ्देनप्रति जनतामा एकखालको ‘सेन्टिमेन्ट’ पलाएको छ।

भरतपुरमा राप्रपाको मत ७ हजार हो। मुसा फुल्लिएर हात्ती नभएझैँ हात्ती सुकेर मुसा हुनेपनि होइन। त्यसैले हाम्रो हिसाबकिताबमा यसपालि राप्रपा बढेर १० हजारसम्म पुग्नसक्छ। त्यसको फाइदा हामीलाई हुन्छ।

३. कांग्रेसी विद्रोहको भरमग्दुर उपयोग
२०७४ सालको स्थानीय निर्वाचनमा पनि केन्द्रबाट गरिएको गठबन्धनविरुद्ध स्थानीय कांग्रेसी नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाएका थिए। त्यसको सिधा प्रभाव मतदानमा देखिएको थियो। सभापति शेरबहादुर देउवाले चुनाव प्रचारमा लागिसकेका मेयर पदका उम्मेदवारको टिकट खोसिदिएपछि रिसाएका करिब ७ हजार मतदाताले रुख चिह्नमा मतदान गरी नेतृत्वविरुद्ध असन्तुष्टि पोखेका थिए।

रिसाएका मतदाताले मलाई पनि मतदान गरेका थिए। यसपालि अवस्था गएको निर्वाचन भन्दा जटिल छ। विद्रोहीहरुले जिल्ला सभापतिको कार्यकक्षमै तालाबन्दी गरेका छन्। तिनलाई जिल्लाका पाका नेताहरुले बोकेर हिँडेका छन्। त्यसबेला विद्रोही उम्मेदवार नै उठ्नेगरी असन्तुष्टि देखिएको थिएन। यसपालि जिल्लाका प्रभावशाली नेता बागी उम्मेदवारमा उठेका छन्। उनलाई पाका नेता कृष्णलाल सापकोटाले बोकेका छन्। यस्तो परिस्थतिको एमालेले भरमग्दुर उपयोग गर्नेछ।

४.  प्रचण्डको मनोबल गिराउन एमाले महाधिवेशन
केन्द्रीय बैठकमा भएको छलफलले यसपालिको १०औँ महाधिवेशन पनि बुटवलमा गर्ने छनक देखिएपछि बैठकलगत्तै मैले अध्यक्ष कमरेड केपी ओलीलाई भेटेर महाधिवेशन चितवनमा गर्न प्रस्ताव गरेँ।

‘चितवनमा महाधिवेशन गर्ने आधार के के हुन्?’ वहाँको पहिलो प्रश्न थियो। 

मैले बुटवलमा यसअघि नै महाधिवेशन गरिसकिएकोले यसपालि सबैलाई पायक पर्ने केन्द्र चितवनमा गर्न उपयुक्त हुने तर्क राखेँ। खासमा प्रचण्डको ‘जीवनमरण’ सँग जोडिएको भरतपुरमा शक्ति प्रदर्शन गरी उनको मनोबल गिराउन आवश्यक रहेको र त्यसले आधा चुनाव जितिने हुनाले चितवनमै महाधिवेशन गराउनुपर्ने थियो। 

अध्यक्ष कमरेडको दोश्रो प्रश्न थियो– ‘व्यवस्थापन गर्नसक्नुहुन्छ त?‘ 

मेरो जवाफ थियो– ‘ढुक्क हुनुहोस्, हामी व्यवस्थापन गर्न सक्षम छौं।’ 

त्यसपछि मैले वहाँलाई कार्यक्रम कसरी व्यवस्थापन गर्न सकिन्छ भनी मोटामोटी प्रारुप सुनाएँ। मेरो योजना सुनेपछि अध्यक्ष कमरेड चितवनमा महाधिवेशन गर्न राजी हुनुभयो। मैले आफ्नो योजना सफल बनाउन रातदिन नभनी काम गरेँ। हजारौँको संख्यामा कार्यकर्ता परिचालन गरेँ। मान्छे जम्मा गर्ने रणनीतिबमोजिम तिनलाई घरदैलो गराएँ। केन्द्रीय नेतृत्वले ३ लाख भेला होलान् भनी आकलन गरिरहेको थियो हामीले ५ लाख मान्छे चितवनमा ओराल्यौँ। त्यत्रो मान्छेको व्यवस्थापन गरियो। महाधिवेशन प्रतिनिधिलाई ‘वाकिङ डिस्टेन्स’ मा होटलको व्यवस्थापन गर्न तिनलाई सौराहामा बास बसालियो। नारायणी किनारमा आमसभा गरियो। 

महाधिवेशन भव्य भयो। यसले अरु धेरै कुरा पनि सँगसँगै भएको छ। हतियार जति चलायो त्यति धारिलो हुन्छ। मैले चितवनका कार्यकर्तालाई कहिल्यै खाली बस्न दिइँन। महाधिवेशनले तिनलाई झन बढी धारिलो बनाउने काम गरेको छ। यो धारिलो हतियारले आउँदो मतदानमा देखिनेगरी प्रतिफल दिनेमा म ढुक्क छु। 

५. माओवादीको ३० प्रतिशत मत यताउति  
माओवादीसँगको पार्टी एकीकरणले एमालेका पुराना कार्यकर्ताको धार भुत्ते बनाउँदै गएको रहेछ। पार्टी पुरानै अवस्थामा फर्किएपछि हामीले आफूलाई सम्हालेनौँ मात्र, एमालेबाट माओवादी हुनथालेकाहरुलाई रोक्ने रणनीतिमा पनि काम गर्यौँ। त्यसमा हामी सफल भयौँ।

माओवादी नेतृत्वमा आएको बिचलनले त्यहाँ भित्रका धेरै इमान्दार कार्यकर्ताहरु निराश र हतास थिए। ती अहिले हाम्रो संगठनमा आबद्ध भैसकेका छन्। हामीले चितवनमा रहेका माओवादी समर्थकहरुको ३० प्रतिशत मत यताउति गरिदिएको हिसाबकिताब निकालेका छौँ। एमालेबाट चोइटिएर गएकाहरुको भर्पाइ गर्न यसले हामीलाई मद्दत गर्नेछ।

६. भरतपुरमा मात्र एमालेका एक हजार टोल कमिटी  
एमाले कार्यकर्तामा आधारित पार्टी भएकोले हामीले यसपालिको निर्वाचन गठबन्धनबाट नभई आफ्नै संगठन र जनाधारबाट जित्ने योजना बनाएका हौँ। मैले भरतपुरमा मात्र एक हजार टोल कमिटी बनाएर तिनलाई चुनावी अभियानमा लगाएको छु। यसले हाम्रो संगठन झन सुदृढ हुँदै गइरहेको छ। 

गठबन्धनका कारण माओवादीले कांग्रेसका मतदाता चोरिरहेको छ। तर उसको संगठन कमजोर भएकोले एमालेको कार्यकर्ता र मतदाता माओवादीमा नगण्य गएका छन्। किनकि हामीले संगठन बलियो बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छौँ। 

७. कांग्रेसका विद्रोहीले ५० प्रतिशत मत रोक्छन् 
भरतपुरमा दलहरुको अवस्था बुझ्न गएको निर्वाचनमा दलहरुले उपमेयर पदमा पाएको मतलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ। गठबन्धन तर्फबाट कांग्रेसको उपमेयरले ४७ हजार मत पाएकी हुन्। ४७ हजार मतमा कांग्रेसको मत ३४ हजार र माओवादीको मत १३ हजार देखिन्छ। हाम्रो उपमेयरले ३९ हजार मत पाएका हुन्। यसरी हेर्दा एक्ला–एक्लै लड्दा हामी बलियो रहेछौँ।

यसपालि हामीसँग गठबन्धन गर्ने राप्रपाको मत बढेर १० हजार पुग्यो होला। विद्रोहीले ५० प्रतिशत खाने स्थिति देख्छु। यो सबै मिलान गर्दा एमाले जित्ने अवस्थामा छ।  

भिडिओ: विशाल कार्की

डेटलाइन भरतपुर– थप स्टोरीः

१. कांग्रेस पार्टी कब्जा हुँदैछ, नेतृत्वविरुद्ध अगाडि बढ्नु छः कृष्णलाल सापकोटा (भिडिओ)

२. भरतपुरमा ‘मिल्न’ कांग्रेसका बागी उम्मेदवार पौडेललाई एमालेको ‘लुज प्रस्ताव’ (भिडिओ)

३. कांग्रेसको भोट नखन्याई रेणुले जित्नुहुन्न, प्रचण्डले मिलाए मिल्छ स् टेकप्रसाद गुरुङ (भिडिओ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .