ad ad

निर्वाचन विशेष


भरतपुरमा ‘मिल्न’ कांग्रेसका बागी उम्मेदवार पौडेललाई एमालेको ‘लुज प्रस्ताव’ (भिडिओ)

भरतपुरमा ‘मिल्न’ कांग्रेसका बागी उम्मेदवार पौडेललाई एमालेको ‘लुज प्रस्ताव’ (भिडिओ)

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसका मेयर पदका बागी उम्मेदवार जगन्नाथ पौडेल (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख १४, २०७९ बुधबार ९:४१, भरतपुर

चितवनको भरतपुर महानगरमा सोमबार दिउँसो सवा एक बजे गठबन्धनका उम्मेदवारभन्दा अगाडि नै नेपाली कांग्रेसका मेयर पदका बागी उम्मेदवार जगन्नाथ पौडेलका समर्थकको जुलुस बाजागाजासहित जिल्ला निर्वाचन कार्यालयतिर बढ्यो। जिल्ला प्रहरी कार्यालय आइपुग्दा थप समर्थकहरूको झुण्ड पनि मिसियो।

केही क्षणपछि गठबन्धन दलको नेतृत्व गर्दै मेयर पदकी उम्मेदवार रेनु दाहालसहित अन्य उम्मेदवारहरू पनि नाचगान र चुनावी गीत बजाउँदै आयोगको कार्यालय परिसरबाहिर आइपुगे। 

रोचक दृश्य के थियो भने नाम दर्ता गराउन आएका यी दुई भिन्न भिडमध्ये कांग्रेसको झण्डा बोकेका समर्थकहरूको संख्या बागी उम्मेदवार पौडेलको समूहको जुलुसमा बढी देखिन्थ्यो। 

त्यसैले होला भिडको मनोवैज्ञानिक असर गठबन्धनका उम्मेदवारहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो। त्यसमाथि अहिले भरतपुरमा धेरैको भनाइ छ, ‘अन्य दलका निम्ति भरतपुर महानगरपालिको निर्वाचन मात्र प्रतिस्पर्धा हो। तर माओवादीका निम्ति यो चुनाव मात्र होइन संग्राम नै हो।’

भरतपुरमा रेनुको नेतृत्व र प्रचण्डको रणनीतिक तयारीसहित माओवादी रणमैदानमा उत्रिए पनि विजय दिलाउने लडाकु चाहिँ माओवादीसँग धेरै छैनन्। त्यसैले उसले २०७४ को निर्वाचनमा झैँ यसपालि पनि नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेको छ। यद्यपी भरतपुरका धेरै कांग्रेसी नेताहरू पनि पहिले भन्दा यसपाली माओवादीले महानगरमा आफ्नो जनसमर्थन र भोट निकै बढाएको स्वीकार गर्छन्। 

तर जितका लागि माओवादीलाई कांग्रेसको भोट आवश्यक पर्छ र त्यसमा निर्णायक भूमिका खेल्ने एकथरि कांग्रेसी मतदाता माओवादीसँग आक्रोशित छन्।

कांग्रेसको जनाधारको बलमा घरीघरी आफैँले मेयर पद ओगट्न खोजेको भन्दै तिनले यसपालि माओवादीकी रेनु दाहाललाई मतदानमा असहयोग गर्ने बताएका छन्। तिनले यसपालि कांग्रेसले मेयर पद पाउनुपर्ने आफूहरुको माग नसुनेको भन्दै आफ्नै पार्टीका जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी सम्म गरेका छन्। यस्तो अवस्थामा विद्रोही उम्मेदवार पौडेलले भरतपुरका पाका कांग्रेसी नेता ८४ वर्षीय कृष्णलाल सापकोटालाई अगाडि लगाई उम्मेदवारी दर्ता गराएका हुन्।

साँझसम्म चलेको उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सकिएपछि हामी वडा नं. ७ मा पर्ने कृष्णपुरको पिपलचोक स्थित पौडेलको घरमा गयौँ। 

‘तपाईंले पार्टीलाई दबाब सिर्जना गर्न मात्र उम्मेदवारी दिएको हो कि चुनावी मैदानमा पनि भिड्नुहुन्छ?’ हामीले उनलाई सोधेका थियौँ। 

दिनभरीको धपेडीले गलेका पेसाले वरिष्ठ अधिवक्ता पौडेल आफ्ना केही कानुन व्यवसायी र कार्यकर्ताहरूसँग बसी उम्मेदवारी दर्ताको समीक्षा गरिरहेका थिए। चुनाव परिचालन र त्यसको व्यवस्थापनबारे पनि कुरा गरिरहेका थिए। उम्मेदवारी दर्ताका कारण दबाबमा देखिएका पौडेलले दिएको जवाफ कूटनीतिक थियो। 

‘राजनीतिमा असम्भव भन्ने त केही हुँदैन, तर कुनै लोभलालच र डरधम्कीका आधारमा म नाम फिर्ता लिन्नँ,’ उनले जवाफ दिए।

कांग्रेसका स्थानीय नेताहरुले भरतपुरका कुल मतदाता एक लाख ८५ हजारमध्ये कांग्रेसको मतदाता मात्र ४० हजारबाट बढेको दाबी गर्दै आइरहेका छन्। यही मतको आधारमा गत निर्वाचनमा रेनुले जितेको उनीहरुको भनाइ छ।

त्यसैले कांग्रेसको आक्रोशित मत तान्नसक्ने पौडेलले उम्मेदवारी फिर्ता लिन्छन् कि लिँदैनन् भन्ने प्रश्नले धेरै अर्थ राख्दछ। किनकि गएको स्थानीय निर्वाचनमा पनि असन्तुष्ट करिब ७ हजार मतदाताले रुख चिह्नमा मतदान गरेर नेतृत्वप्रति रिस पोखेका थिए।

२०६० सालमा सांसद पद जितेका पौडेल कांग्रेसको गढ मानिएको क्षेत्रमा रही पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन्। २०४९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित तत्कालीन भरतपुर नगरपालिकाका उपमेयर पौडेल २०४२ सालमा कांग्रेस नगर सभापति थिए। उनको व्यक्तित्वले मतदातामा केही असर पार्ने देखिन्छ।

केन्द्रबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको उनी सुनाउँछन्। साथसाथै उम्मेदवारी फिर्ता नलिन शुभचिन्तकहरुले दिइरहेको सुझाव मान्ने बताएर उनी तिनलाई पनि आश्वस्त पार्दै थिए। केन्द्र हुँदै भरतपुर आइपुग्ने गठबन्धन बचाउने र गठबन्धनका उम्मेदवार रेनुलाई जिताउने दबाबसँगै उनले आफ्ना समर्थकहरूबाट ‘विद्रोही कदम’ प्रति प्रशंसा पनि पाइरहेका छन्।

दुई व्यक्तिले अमेरिकाबाट चुनाव खर्चबापत पाँचपाँच हजार डलर पठाइदिने घोषणाबाट उनी फुरुङ्ग थिए।

नेपालखबरसँग कुराकानी गर्दागर्दै एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले दिएको मनोनयन दर्ताको शुभकामना र कसरी मिलेर जान सकिन्छ भन्ने प्रारम्भिक ‘लुज प्रस्ताव’ सुनेर उनी थप उत्साहित भए। 

भरतपुरमा कांग्रेसको असन्तुष्टिमा खेल्ने रणनीति बनाइरहेको एमालेका चुनावी रणनीतिकार देवी ज्ञवालीले सोमबार बिहान नेपालखबरसँग आफ्नै निवासमा कुरा गर्दा त्यसको संकेत गरेका थिए। गठबन्धनमा देखिएको गडबडीले यसपालि एमालेलाई फाइदा पुग्ने हुनाले सो पार्टी यस्तो रणनीति बनाउन लागिरहेको देखिन्छ।

भरतपुरमा विकसित यी सबै घटनाक्रमले मुखैमा आइसकेको निर्वाचन परिणाममा के कति असर पार्छ, प्रक्षेपण गर्न नसकिए पनि यसपालिको निर्वाचन त्यति सुखद हुने छाँटकाँट भने देखिँदैन। 

हेर्नुहोस्, पौडेलसँग गरिएको भिडिओ कुराकानीः


 

भिडिओ : विशाल कार्की

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .