निर्वाचन विशेष


धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

उपमेयरमा माओवादीका उम्मेदवारले जिते
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

नेपालखबर
जेठ ८, २०७९ आइतबार १६:४६, काठमाडौँ

सुनसरीस्थित धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु सम्मिलित सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर राईलाई ५ हजार भन्दा धेरै मतले हराउँदै हर्कले बाजी मारेका हुन्।

कांग्रेसका उम्मेदवार राईलाई ४ हजार ७६२ मतान्तरले हराउँदै हर्क निर्वाचित भएका हुन्। उनले २० हजार ८२१ मत पाए। निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ६९ मत प्राप्त गरे।

एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्रै ल्याइन्। उनी साम्पाङभन्दा ८ हजार ९९६ मतले पछि परिन्। 

२०४६ सालयता पहिलो पटक धरानमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्। यसअघिको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसले कम्युनिष्ट गढ भत्काएको थियो। त्यसयता एमाले लगातार हारेको छ। 

२०७६ को उपनिर्वाचनमा पहिलो पटक तत्कालीन नेकपा उम्मेदवार प्रकाश राईलाई नेपाली कांग्रेसका तिलक राईले पराजित गरेका थिए। 

धरानको उपमेयरमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले २० हजार ५१० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वो १७ हजार ६०६ मत ल्याए। 

लामो समयदेखि धरानमा खानेपानी अभाव र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिलाई लिएर आन्दोलित हर्कलाई धरानबासीले मेयरका रुपमा अनुमोदन गरे। 

उनी विजयी भएको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी नै छ। 

उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा विजयी भए। नेकपा एमालेका पदम इस्बो लिम्बूलाई हराउँदै उनले उपमेयर पद पक्का गरेका हुन्। 

यहाँ नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारीले लज्जास्पद हार भोगेकी छन्। निवर्तमान उपमेयर उनलाई एमालेले टिकट दिँदै विवाद भएको थियो। उनले टिकट पाएपछि असन्तुष्ट नेताहरु मनोज मेयाङ्बोसहित निष्क्रिय बसेका थिए।

चुनावी अभियानका क्रममा हर्क साम्पाङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad