निर्वाचन विशेष


माओवादी भन्छ : भरतपुरमा जगन्नाथको उम्मेदवारीले रेनुको जित सहज

माओवादी भन्छ : भरतपुरमा  जगन्नाथको उम्मेदवारीले रेनुको जित सहज

नेपालखबर
जेठ ७, २०७९ शनिबार १९:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेनु दाहालको जित सहज भएको निस्कर्ष निकालेको छ ।

जगन्नाथले माओवादीमा नआउने कांग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई सजिलो भएको ठम्याई उसको छ ।

‘मतगणनामा देखिएको भोटिङ प्याटर्न हेर्दा जगन्नाथ जीको उम्मेदवारी नभएको भए कांग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओवादी केन्द्रका नेता वर्षमान पुनले शनिबार आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीसँग भने, ‘उहाँको उम्मेदवारीले हामीलाई नोक्सान भएन। बरु सजिलो भयो।’

यद्यपि बाहिर चर्चा चलाइएजस्तो गठबन्धनको योजनामा पौडेल उम्मेदवार नभएको स्पष्ट गरे। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उम्मेदवारीबाट पछि हट्न पटकपटक गरेको आग्रह पौडेलले अस्वीकार गरेको पुनले उल्लेख गरे।

मतगणनाका क्रममा भुइँकटहर चिह्नबाट स्वतन्त्रमा चुनाव लडेका पौडेलले समग्रमा १० प्रतिशत र कांग्रेसको संगठित मत ३० प्रतिशत ल्याएको  माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए। अधिकारीले पनि पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेनुको जित कठिन हुनसक्ने स्वीकार गरे।

भरतपुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभाबाट प्रधानमन्त्री देउवा र आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई गरेको आग्रह उनले अस्वीकार गरेको पुनको भनाइ थियो।

पुनले भरतपुरमा एमालेकै मतदाताको आकर्षण पनि माओवादीप्रति देखिएको बताए। भरतपुर महानगरमा कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो। रेनु गठबन्धनका तर्फबाट मेयर पदकी साझा उम्मेदवार हुन्।

राप्रपासँग गठबन्धन गरेको एमालेले बागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदीलाई राजीनामा गराएर मेयरमा उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad