निर्वाचन विशेष


कांग्रेस-एमाले मिलेर झापाको कचनकवलमा राप्रपा ‘क्लिन स्वीप’

अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा राप्रपालाई धक्का
कांग्रेस-एमाले मिलेर झापाको कचनकवलमा राप्रपा ‘क्लिन स्वीप’

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०७९ बुधबार १२:५९, काठमाडौँ

स्थानीय तहको पहिलो निर्वाचन (२०७४) का क्रममा झापाको कचनकवलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष–उपाध्यक्षसहित बहुमत वडामा आश्चर्यजनक रुपमा विजय हासिल गरेको थियो।

तर त्यही राप्रपा यसपटक ‘क्लिन स्वीप’ हुन पुगेको छ। २०७४ को तुलनामा मत संख्या वृद्धि गरे पनि कांग्रेस–एमाले गठबन्धनका कारण अध्यक्ष-उपाध्यक्षका अलावा सबै वडामा समेत राप्रपा ‘क्लिन स्वीप’ हुन पुगेको हो। 

गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनबाट नेपाली कांग्रेसका कालेन्द्रप्रसाद राजवंशी विजयी भएका छन्। 

२०७४ मा अध्यक्षमा पराजित कांग्रेस उम्मेदवार राजवंशीले एमालेसँगको गठबन्धनबाट राप्रपाबाट अध्यक्षका उम्मेदवार अञ्जार आलमलाई झण्डै ५ हजार मतान्तरले पराजित गरेका छन्। 

आलम २०७४ को निर्वाचनमा राप्रपाबाट यो गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। 

विजयी राजवंशीले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। पराजित आलमले ६ हजार ६ सय ६७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका बुद्धिप्रसाद नेपालले ६ सय ६४ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा गठबन्धनबाट एमाले उम्मेदवार नवराज भट्टराई ८ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी राप्रपाकी निमसरा राजवंशीले ६ हजार ८ सय २ र तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी भागीरथा अधिकारीले १ हजार २ सय ५७ मत प्राप्त गरेकी छन्।  

राप्रपा ‘हिन्दू राष्ट्र’ पक्षधर भएपनि २०७४ को निर्वाचनमा मुस्लिम बहुल कचनकवल गाउँपालिकाले मुस्लिम समुदायकै अञ्जार आलम राप्रपाबाट कचनकवल गाउँपालिकाको अध्यक्ष निर्वाचित गरेपछि यो घटना निकै चर्चित भएको थियो। 

त्यो निर्वाचनमा कचनकवलमा २०७४ को निर्वाचनमा राप्रपा उम्मेदवार अञ्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका थिए। उपाध्यक्षमा पनि राप्रपाकै निमसरी राजवंशी ५ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएकी थिइन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलेन्द्रप्रसादसिंह राजवंशीले ५ हजार ३ सय ७३ मत प्राप्त गरेका थिए। 

तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार शेरबहादुर खत्रीको ३ हजार ९ सय ७२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका हंशनारायणसिंह राजवंशीको मत १ हजार २ सय ५० थियो।  

गाउँपालिकाका अध्यक्षमात्र होइन, ६ मध्ये ३ वटा वडामा पनि राप्रपाकै उम्मेदवार विजयी भएका थिए। बाँकी २ वडामा नेपाली कांग्रेस र एउटा वडामा एमाले उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेका थिए। 

तर, कांग्रेस–एमालेबीचको गठबन्धनका कारण राप्रपाले ठूलो मतान्तरका साथ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष पदमात्र गुमाएको छैन, सम्पूर्ण वडामा पनि पराजय भोगेको छ।  

नेपाली कांग्रेसले ६ मध्ये ५ वटा वडा एमालेले एउटा वडामा विजय हासिल गरेको छ। स्मरणीय छ, कचनकवल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ अन्तर्गत पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad