निर्वाचन विशेष


कसको दिमाग र शक्तिले चल्दैछन् धनगढी र जनकपुरका ‘स्वतन्त्र’?

कसको दिमाग र शक्तिले चल्दैछन् धनगढी र जनकपुरका ‘स्वतन्त्र’?

फाइल फोटो


जेवी पुन मगर
जेठ ३ , काठमाडौँ

राजनीतिशास्त्रीका निम्ति यसपालिको स्थानीय निर्वाचनमा ‘स्वतन्त्र उमेदवार’ हरुले अध्ययनका निम्ति राम्रो सन्दर्भ सामग्री छाडेर जाने भएका छन्। 

स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार बालेन साहले संगठित दलहरूको संरचनामाथि ठाडै चुनौती दिनेगरी जे–जसरी मत परिणाम ल्याइरहेका छन्, त्यो राजनीति र समाजशास्त्रीहरुका निम्ति गतिलो अध्ययनको बिषय हुनुपर्दछ।

देशको राजकाज सञ्चालन हुने मगज जमघट थलो काठमाडौं महानगरपालिका हाँक्छु भन्दै मैदानमा उत्रिएका साहको ‘चुनावी इन्जिनियरिङ’ ले गहिरो अध्ययनको माग गर्दछ, अहिले त्यसतर्फ नजाऔँ।

यस आलेखमा मूलत दलभित्रको असन्तुष्टि विद्रोहमा परिणत भएको जस्तो देखिएको मधेस प्रदेशको राजधानी जनकपुरधाम उप–महानगरपालिकाको केस स्टडीलाई मसिनो गरी केलाउने प्रयत्न गरिएको छ। अर्को, सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीलाई अध्ययनको विषय बनाइएको छ।

यी दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र भनिएका उम्मेदवारहरूले ल्याइरहेको राम्रो मतपरिणाम तिनले के–कसरी प्राप्त गरिरहेका छन्? त्यसको ‘इन्जिनियरिङ’ कसले गरिरहेको छ ? त्यसका पछाडिको खास राजनीति के हो ? अध्ययन सुरुचिपूर्ण हुने ठानी यो आलेखको आँखीझ्यालबाट ती ‘स्वतन्त्र उम्मेदवार’हरुको शक्तिको स्रोत चियाउने प्रयत्न गरिएको छ।

धनगढी : दलको छहारी त्याग
यस श्रृंखलाको कडी जोड्न मानव विकास सूचकांकको हिँडाइमा पुछारतिरबाट घस्रँदै अघिल्तिर बढ्न प्रयत्नशील सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकालाई बनाइएको छ।

त्यहाँ कांग्रेसी गढ भत्काउँदै मतपरिणाम आफ्नो पक्षमा पारिरहेका स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमालले यो आलेख तयार पार्दासम्म ४ हजार बढी मत ल्याइसकेका छन्। 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले करिब २४ सयको मतान्तरले हमाललाई पछ्याइरहेका छन्।

गएको स्थानीय निर्वाचनमा गोपीलाई २७९७ मतान्तरले पराजित गरी मेयरको कुर्सीमा उक्लिएका वडलाई यसपालि पुरानै प्रतिद्वन्द्वीले आफ्नो ताज खोस्न व्यवस्थित र आक्रामक चुनावी रणनीतिसहित मैदानमा उत्रिएपछि उनी ठूलो तनावमा देखिएको धनगढीस्थित हाम्रा संवाददाता यज्ञराज जोशीको बुझाइ छ। प्रारम्भिक मतदाताको रुझानले वडको चिन्ता स्वाभाविक पनि देखिन्छ।

आफूले निर्माण गरेको छविको बलमा गएको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हमालले दलको संगठित प्रयत्नका अगाडि हारेका कारण हुनसक्छ, रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको संगठित सदस्यको रुपमा दलीय आबद्धता लिए।

हमालले पार्टीको सुदुरपश्चिम इञ्चार्जसीप लिए पनि दलको ओतबाट नजितिने विश्लेषणका आधारमा उनले अन्तिम समयमा राजीनामा दिई यसपालि पनि स्वतन्त्र हैसियतमा मेयर पदमै उम्मेदवारी दिए।

दलबाट राजीनामापछि उम्मेदवारी मनोनयन दर्ता गराउन पुगेका हमालसँग नेपालखबरले कुराकानी गरेको थियो। त्यतिबेला उनले ५ महिना लामो मत सर्वेक्षण लगायतका विधि अपनाई जनमत बुझ्दा धेरैले ‘स्वतन्त्रबाट लडे मत दिइन्छ’ भन्ने जवाफ दिएपछि साझा पार्टीबाट राजीनामा दिई चुनावी दौडमा उत्रिएको बताएका थिए।

उनले अपनाएको जनमत बुझ्ने विधिले काम गरेको देखिन्छ। व्यवसायिक क्षेत्रबाट राम्रो समर्थन बटुलेका हमालले अहिलेसम्म शहरीया क्षेत्रमा गरिएको मतगणनामा अग्रता लिइरहेबाट उनलाई शहरिया मतदाताले दिएको बाचा पूरा गरेको देखिन्छ।

धनगढीमा ‘दिनेश ग्रुप’ नामक व्यवसायिक घरानाको नेतृत्वकर्ता भएकाले मात्र नभई हमालले गरेका पेशागत र सामाजिक कार्यका कारण उनले बजार क्षेत्रमा राम्रो छवि बनाएको ठानिन्छ। 

आफ्नो नेतृत्वकाल (विस २०६३–२०६६) मा कैलाली उद्योग बाणिज्य संघलाई देशकै उत्कृष्ट शाखाको रुपमा चिनाई धेरैको ध्यान आफूतर्फ तान्न सफल हमालले ‘सुन्दर सुदुरपश्चिम अभियान’ को थालनी र अगुवाइ पनि आफैंले गरे।

सुदुरपश्चिम महोत्सव शुरु गरी त्यस भेगलाई चर्चामा ल्याउने हमालले २१ वटा मुख्य प्राथमिकताहरुको सूचीकरण गरी त्यसलाई पूरा गर्न आफू मेयर पदमा आउन चाहेको बताइरहेका छन्। मेयरमा जिते पनि पालिकाको कुनै सुविधा नलिने बताएर उनले मतदाताको ध्यान तान्ने प्रयत्न गरेका थिए। 

दलले जिते पालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउने हुनाले भ्रष्टाचार मौलाउने, तर आफु कुनै दलमा आवद्ध नभएकाले ‘राम्राजति हाम्रा’ नीतिअनुरुप काम गर्ने हुनाले धनगढीको विकासले गति लिने तर्क गरेका हमालको आश्वासनलाई धेरैले मन पराइदिएको देखिन्छ।

साथै, हारे पनि, जिते पनि यो आफ्नो अन्तिम उम्मेदवारी रहेको बताएकाले पनि मतदाताले ‘एकचोटि मौका दिइहेरौँ न’ भनेर उनलाई मतदान गरेका हुन सक्छन्।

अहिलेसम्म हमालको प्रभाव क्षेत्र मानिएको शहरभित्रको मतगणना भइरहेकाले उनको बढी मत आएको पनि हुन सक्छ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण पनि हमालले मत पाएको विश्लेषण गरिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला मात्र नभई उनले यसअघि दुई-दुई चोटि संसदीय निर्वाचन जितेको यस क्षेत्रमा गएको संसदीय निर्वाचनमा पत्नी आरजु राणालाई टिकट दिँदा स्थानीय नेतृत्व असन्तुष्ट मात्र भएन, तिनले उनलाई चुनावमै हराइदिए।

आउँदो संसदीय निर्वाचनमा पुनः आरजुलाई उठाउने गरी आधारभूमि बनाउन खोजिरहेका देउवाले प्रचण्डलगायतका गठबन्धनका शीर्ष नेताहरुलाई धनगढीमा भेला गरी बैशाखको अन्तिम साता आमसभा गरे पनि त्यसले काम गरेको देखिएन।

धनगढीमा मेयरका आकांक्षी ७ जनालाई उपेक्षा गरी आफ्ना विश्वासपात्र नृपबहादुरलाई नै डोहोर्याएपछि वडा नम्बर ४ का अध्यक्ष दीपकबहादुर थापा क्षेत्रीसहित ५७ जना कांग्रेसका क्रियाशील सदस्यहरुले राजीनामा नै दिए। त्यसको सिधा प्रभाव चुनावमा पर्यो। ती आफ्नै उमेदवारको ‘क्याम्पेन’ मा खुलेर लागेनन्।

यो राजनीति बुझेका हमालले त्यसलाई आफ्नो बलियो अस्त्र बनाई कांग्रेसी गढमा हमला गरे। त्यसले मतपरिणाममा गजबको असर देखाइरहेको छ।

नेपालखबरका धनगढीस्थित सम्वाददाता यज्ञ भन्छन्, ‘यहाँको माहोल र मतपरिणामको रुझान हेर्दा यसपालि हमालले बाजी मार्ने देखिन्छ। यो नेतृत्वको मनोमानीप्रतिको असन्तुष्टि पनि हो।’

देउवा भर्सेस निधि
जति सुदूरपश्चिम प्रदेशलाई पिछडिएको प्रदेशका रुपमा अगाडि सारिन्छ, त्यसरी नै मधेस प्रदेशलाई पनि विकासको नापजोखमा पुछारतिर राखेर त्यहाँको अर्थ–सामाजिक–राजनीतिक विश्लेषण गरिन्छ।

संयोग कस्तो मिलेको छ भने धनगढीमा झैं मधेस प्रदेशको केन्द्र जनकपुरधाम  उपमहानगरमा पनि ‘स्वतन्त्र उम्मेदवार’ मनोजकुमार साह गठबन्धन दलका उमेदवारलाई पछाडि पार्दै दौडिरहेको देखिन्छ।

२६ सय बढी मत ल्याई पहिलो स्थानमा  रहेका मनोज कुमारलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार शिवशंकर साहले १ हजार मत मात्र ल्याएका छन्। अर्काे संयोग, पार्टी सभापति तथा प्रधानमन्त्री देउवा परोक्ष रुपमा यहाँ पनि जोडिन आइपुग्छन्।

जनकपुरका उम्मेदवार साह विशुद्ध राजनीतिक जोडघटाउका कारण परिदृश्यमा उदाएको देखिन्छ। यो द्वन्द्वको उद्भव कांग्रेसको चौधौं महाधिवेशनबाट प्रारम्भ हुन्छ। 

यसपालिको महाधिवेशनबाट सभापति देउवाले कुर्सी छाडिदिने आशमा बसेका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई त्यसबेला धक्का लाग्यो, जतिबेला आफ्ना ‘राजनीतिक गुरु’ देउवाले पुनः सभापतिमा उम्मेदवारी दर्ता गराउने छनक देखाए।

देउवाविरुद्ध निधिले पनि उम्मेदवारी दिए। त्यसपछि शुरु भएको ‘निधिलाई थकाउने गलाउने’ देउवाको तिगडमले कुनै बेला कुम जोडेर हिँडेका सहयात्रीबीच निकै तिक्तता जन्माउने काम गर्यो।

देउवाले निधिलाई एक्ल्याएर सभापतिको प्रतिस्पर्धाको रिङबाट बाहिर धकेलेनन् मात्र, निधिको शक्तिको श्रोत मधेस प्रदेशबाट नै उनलाई विच्छेद बनाउने खेल खेल्न थाले।

सहमहामन्त्री महेन्द्र यादवको काँधमा बन्दुक राखि निधिको जनाधारमाथि नै प्रहार गर्न थाले। संघमा दुर्बल बनाइएका निधिलाई प्रदेशमा पनि उठ्न दिइएन। प्रदेशसभा निर्वाचनमा निधिपक्षीय उमेदवार रामसरोज यादव लाई नराम्ररी पराजित गराइयो। उनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा संसदीय दलका नेता पनि हुन्।

देउवाको घेराबन्दीमा परेका निधिका अगाडि एउटा मात्र अवसर उपलब्ध थियो। अगाडि जिल्ला सभापतिको निर्वाचन आउँदै थियो। त्यहाँबाट पनि निधिको नेतृत्व खोस्न गृहमन्त्री बालकृष्ण खाँड नै जनकपुर गई डेरा जमाई बसे। चौतर्फी आक्रमणमा परेका निधिले केही सीप नलागी आफ्नो अस्तित्व जोगाउन अन्तिममा शेखर कोइरालासँग गुहार मागे।

त्यसले काम गर्यो। कोइरालाको समर्थनमा जिल्ला सभापति पदमा उठेका निधि पक्षीय उमेदवार योगेन्द्र पञ्जियारले विजय हासिल गरे। यहाँ देउवा हारे।

आफ्नो जनाधारबाट उठीबास लगाउन देउवाले खेलेको राजनीतिले क्रुद्ध बनेका निधि मौकाको ताकमा थिए। यसपालिको स्थानीय निर्वाचनमा ‘गठबन्धन राजनीति’ ले उनलाई बदला लिने राम्रो मौका दियो।  

गएको निर्वाचनमा लगभग पुछारमा रहेको जसपालाई मेयर पद दिने निर्णय गरेपछि निधिले आर्थिकरुपले बलियो जग्गा कारोबारी एवं मेयर समेत रहेका साहलाई ‘स्वतन्त्र’ उठ्न तयार पारे। निधिको निर्देशनमा साहले राजीनामा दिए। गठबन्धनबाट बिच्किएका कांग्रेसका असन्तुष्ट स्थानीय नेतृत्व अधिकांश निधिलाई समर्थन दिन तम्तयार थिए।

चुनावको मुखमा निधिको मधेसमा तारन्तार चलेको दौडधुपका पछाडि यी सबै गणित मिलाउन रहेको बताइन्छ। स्थानीय संगठनको समर्थन निधि पक्षीय नेतृत्वबाट मात्र आएको थिएन, गठबन्धन विरोधी कोइराला पक्षीय नेतृत्वको समेत निधिलाई समर्थन प्राप्त थियो। त्यसैका आधारमा निधिले साहलाई मैदानमा उतारे।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिले साहको जन्म गराएकाले त्यहाँ भैरहेको प्रतिस्पर्धामा दृश्यमा साह देखिए पनि खास लडाइँ चाहिँ पार्टी सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच चलिरहेको छ, जसमा शेखर कोइरालाको परोक्ष समर्थन रहेको छ। त्यसैले जनकपुरमा बुनिएको चुनावी ‘इन्जिनियरिङ’ ले  राम्ररी काम गरिरहेको देखिन्छ।

अहिले शहरीया क्षेत्रमा भैरहेको मतगणनामा निधिका उमेदवारले राम्रो परिणाम ल्याइरहेका छन्। हाम्रा जनकपुरस्थित सम्वाददाता शैलेन्द्र महतो भन्छन्, ‘कांग्रेसको गाउँमा पनि राम्रो जनाधार भएकाले यसपालि स्वतन्त्र उमेदवारले जित्ने निश्चित जस्तै छ।’ 

जेठ ३, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad