ad ad

निर्वाचन विशेष


भरतपुरको वास्तविक मेयर रेनु हैन, प्रचण्ड हुन् : सरिता तिवारी (भिडिओ संवाद)

भरतपुरको वास्तविक मेयर रेनु हैन, प्रचण्ड हुन् : सरिता तिवारी (भिडिओ संवाद)

लेखक सरिता तिवारी भन्छिन्– भरतपुरमा यसपालि पनि मेयर र उपमेयरलाई मत नदिने निर्णयमा पुगेको छु (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख १९, २०७९ सोमबार २१:८, काठमाडौँ

२०७४ को स्थानीय निर्वाचनसम्म नेकपा माओवादीको संगठित सदस्य रहेकी लेखक तथा बौद्धिक सरिता तिवारीले त्यतिबेला न गठबन्धन दलका तर्फबाट मेयर पदमा उठेकी रेनु दाहाललाई मत दिइन्, न उपमेयर पार्वती शाहलाई। गठबन्धनको नाममा केन्द्रीकृत निर्णय लादेको र स्थानीय कार्यकर्तालाई अवसर नदिई तिनको मानमर्दन गरेको भन्दै महिला प्रतिनिधित्वको खरो वकालत गर्दै आइरहेकी उनले मतपत्र खाली छाडेर केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध ‘विद्रोह’ गरिन्। 

त्यसबेला रेनुलाई ‘शाहजादी’ र प्रचण्डलाई ‘महाराज’ सम्बोधन गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेकी सरिता भन्छिन्, ‘यसपालि पनि म वडाका उम्मेदवारलाई मात्र मतदान गर्नेछु। मेयर र उपमेयरलाई मत नदिने निर्णयमा पुगेको छु।’

आफ्ना प्रिय नेता प्रचण्ड ‘बिग्रिएर’ परिवारवादको चौघेरामा सीमित भएकोमा सरिता निकै आहत छिन्। रेनुलाई परिवारवादको प्रतीक ठान्ने उनले यसपालि पनि गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयर उम्मेदवार बनेकी उनलाई मत नदिने निर्णय गरेकी हुन्।

त्यसोभए उनी एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीलाई मतदान गर्छिन् त?

‘अहँ, उनलाई पनि दिन्नँ,’ विजयलाई मत नदिने कारण व्याख्या गर्दै सरिता भन्छिन्, ‘विजय व्यक्तिगत रुपमा राम्रा मान्छे हुन्। तर उनी वैचारिक रुपले यति दरिद्र छन् कि यदि केपी ओलीले नाडीमा समाएर पहाडको टुप्पोमा लगी ‘यहाँबाट हाम फाल’ भने पनि उनी नाइँनास्ती नगरी हामफाल्न सक्छन्।’

ओलीले पर्साको ठोरीमा रामजन्मभूमि रहेको दाबी गरेपछि विजयले ठोरीमा नभई माडीमा राममन्दिर प्रतिस्थापन गरी चितवनमा दक्षिणपन्थी राजनीतिको सुत्रपात गरे। 

सरिता भन्छिन्, ‘त्यसैले भद्र आवरणभित्रका विजय वैचारिक रुपले झन् बढी खतरनाक देखिए।’

सरिताको विश्लेषणमा केपी ओलीको अगुवाइमा विजयहरुको सक्रियतामा चितवनमा सुरु गरिएको भारतीय प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदी मोडलको हिन्दुत्व राजनीतिबाट अत्तालिएका प्रचण्ड पनि पछिल्लो समय त्यही वैचारिक राजनीतिको फेरो समाउन पुगेका छन्। रंगशाला बनाउने पैसा जम्मा गर्न मेयर रेनुको नेतृत्वमा आयोजना गरिएको महायज्ञमा प्रचण्डलाई प्रमुख अतिथि डाकिएको थियो। त्यसको माओवादीभित्रै विरोध भएपछि उनी पछि हटेका थिए। 

सरिता प्रचण्डको सांस्कृतिक क्षयीकरणमाथि टिप्पणी गर्दै भन्छिन्, ‘हिजो दक्षिणपन्थी राजनीतिविरुद्ध लडेका प्रचण्ड आज भोट गुम्ने डरले ओलीले जन्माइदिएको रामजन्मभूमिमा पुगी पूजाअर्चना गर्न थालेका छन्।’

सरिताको परिवारलाई चितवनको पुरानो वामपन्थी परिवार मानिन्छ। २०७४ सालको स्थानीय निर्वाचनमा चितवनको माडी नगरपालिकाबाट निर्वाचित मेयर ठाकुरप्रसाद ढकाल उनका ससुरा हुन्। उनी प्रचण्डका विश्वासपात्र मानिन्छन्। यस्तो राजनीतिक विरासत बोकेकी सरितालाई शुक्रबार साँझ नेपालखबर निर्वाचन विशेष टिमले उनकै निवासस्थानमा भेटेर सोधेको थियो– ‘प्रचण्डले भरतपुरलाई किन रणनीतिक थलो बनाएका हुन्?’

यस्तो छ सरिता तिवारीको जवाफः​

‘हिजो प्रचण्डले आवाजविहीनहरुको आवाज बनी १० वर्षे सशस्त्र संघर्षको नेतृत्व लिए। तिनै प्रचण्ड आज पुरै बदलिए। काठमाडौँ छिरेपछि उनी कर्पाेरेट जगतको सम्पर्कमा पुगे। तिनको घेराभित्र साँघुरिदै गए। पुष्पकमल दाहाललाई प्रचण्ड बनाउन ज्यानको बाजी लगाएर संघर्ष गरेकाहरुलाई उनैले विस्तारै किनारा लगाउँदै गए। इमान्दार सहयात्रीहरुले छाड्दै गएपछि प्रचण्ड एक्लिँदै गए। आफ्नो वरिपरि ‘स्वार्थको बाक्लो झुण्ड’ देखेपछि अत्तालिँदै गएका प्रचण्ड पछिल्लो समय शंकालु पनि बन्दै गएका छन्। 

प्रचण्डलाई कार्यकर्तामाथि नै विश्वास लाग्न छाडेको छ। हिजो कार्यकर्ताको बलमा राज्यसत्ता जित्न हिँडेका प्रचण्ड आज कार्यकर्ताको छायादेखि डराउन थालेका छन्। प्रचण्डलाई के लाग्न थालेको छ भने परिवारले मात्र उनको स्वार्थको रक्षा गर्नेछ। त्यसैले उनले आफ्ना परिवारका सदस्यहरुलाई सत्तामा चढाउन मरिहत्ते गरिरहेका छन्। त्यसका निम्ति आफ्नो वैचारिक राजनीतिलाई तिलाञ्जलि दिनसमेत उनी पछाडि हटिरहेका छैनन्।

हिजोका क्रान्तिनायक प्रचण्डलाई ओलीले थालेको हिन्दुत्वको दक्षिणपन्थी लाइनमा हिँड्न अप्ठेरो नलाग्नुलाई त्यही कोटीमा राखेर हेर्नुपर्ने हुन्छ। क्रान्तिका नायकको शनैः शनैः भैरहेको यस्तो पतनले मजस्ता प्रतिबद्ध समर्थकलाई निकै आहत बनाएको छ। म आहत हुनु र नहुनुभन्दा पनि प्रचण्डको अवसानले देशले थालेको अग्रगमनको राजनीतिलाई ‘रिभर्स गियर’ लगाउने काम गरेकोले यो सँच्चिकै दुःखद परिघटना हुन गएको छ। 

एकातर्फ केपी ओली जसरी पनि प्रचण्डको अस्तित्वसँग गाँसिएको भरतपुरबाट रेनुलाई हराउन सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छन् भने प्रचण्ड पनि जसरी हुन्छ, जित आफ्नो पक्षमा पार्न सम्पूर्ण शक्ति लगाइरहेका छन। कांग्रेसबाट उमेदवारी दिएका विद्रोही जगन्नाथ पौडेललाई पछाडि हटाउन प्रचण्डले जसरी राज्यशक्तिका हर्ताकर्ताहरुलाई चितवनमा ओराले, त्यसले भरतपुरकोे निर्वाचन उनका लागि ‘जीवनमरण’ को अस्तित्वसँग गाँसिएको देखिन्छ। 

भरतपुरको वास्तविक मेयर रेनु होइनन्, प्रचण्ड हुन्। उनैले भरतपुर चलाइरहेका छन। त्यसैले यसपालि पनि रेनुलाई जिताउन प्रचण्ड स्वयं चुनावी कमान्डर बनी खटिरहेका छन्। यसपालि पनि भरतपुरमा गएको चुनावमा झैँ शक्ति प्रदर्शन हुने सम्भावना देख्छु म।’

भिडिओः विशाल कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .