शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन्। त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्। निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ।
सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए। उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन्। सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्।
कात्तिकमा ३१६, मङसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन्। साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ। आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए। त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए।
दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ। नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ।
निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन्।
निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन्। रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन्। निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन्। रासस
Shares

प्रतिक्रिया