कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकायालाई अहिले फूल बिक्र गर्न भ्याइ–नभ्याइ छ। सुन्दरनगरमा उनले तिहारलाई लक्षित गरेर १२ कट्ठा जमिनमा फूल खेती गरेका छन्।
दोधारा चाँदनी क्षेत्रमा मात्रै होइन् प्रेमलाई सदरमुकाम महेन्द्रनगरदेखि पनि फूलको माग आउने गरेको छ।
खेतमा मखमली र सयपत्री फूल बिक्रीका लागि तयार भएका छन्। ‘माग धेरै छ। सबैतिर पुर्याउन भ्याइनभ्याइ छ,’ उनले भने, ‘अब एक क्विन्टल फूल बिक्री गर्न मात्रै बाँकी छ।’

उनी २ वर्षअघिसम्म भारतमा काम गर्थे। परिवार पाल्न होटलमा काम गर्ने उनी २ वर्षअघि घर फर्किए।
उनका बुवा सुन्दरनगरमै परबल खेती गर्थे। भारतबाट फर्किएपछि प्रेमले पनि आफ्नै ठाउँमा कृषि उद्यम गर्ने सोच बनाए। ‘विदेशमा १२ घण्टासम्म काम गर्नुपर्ने, त्यसमा मालिकको पनि किचकिच खेप्नुप¥थ्यो,’ प्रेम भन्छन्, ‘अर्काको काम गर्नु भन्दा त स्वदेशमै केही काम गर्ने भनेर गाउँमै कृषि गर्न थालेको हो।’
महाकाली नदी पारि दोधारा चाँदनी नगरको जोगबूढा नदीले घेरेको बिरानो बस्ती हो, सुन्दर नगर। प्रेम भारतसँग जोडिएको पुछारको नेपाली बस्तीको उर्वरभूमिमा कृषि कर्ममा जमेका छन्।
दोधारा चाँदनीको टापुमा कृषि उब्जाउ गरेर सदरमुकाम महेन्द्रनगरलगायत क्षेत्रमा उनी बिक्री गर्ने गरेका छन्। प्रेमले पुष्प व्यवसाय र तरकारी खेती गरेका छन्। फूलसँगै तरकारी खेती पनि गर्ने उनले कृषि उद्यमबाट नै जीविकोपार्जन गर्दै आएका छन्। भारतबाट फर्किएपछि सुरुमा प्रेमले ५ लाखको लगानीमा बंगुरपालन गरे।
बंगुरपालन उनलाई फापेन। बजार नपाउँदा घाटा लागेर बंगुरपालन छोड्नु प¥यो। त्यसपछि पनि उनी हरेश नमानेर स्वदेशमै उद्यम गर्ने सोचबाट पछि हटेनन्।
बंगुरपालन छोडेर उनी पुष्प खेतीमा जोडिए। तर उनलाई पुष्प खेती सम्बन्धी कुनै ज्ञान, सीप थिएन। अनलाइन प्लेटफर्म युट्युबबाट फूल खेती सम्बन्धी सीप सिकेको प्रेम बताउँछन्।
‘बंगुरपालन निकै घाटा लागेपछि पुष्प खेतीतिर लागेँ। तर त्यसबारेमा केही थाहा थिएन’, उनले भने, ‘अनलाइनमा युट्युब हेरेर पुष्प खेती सम्बन्धी सीप सिकेँ। पुष्प खेतीमा युट्युबले निकै सघाउ पुर्यायो।’
उनका अनुसार सुरुवातमा भारतको कलकत्ताबाट फूलको बिउ मगाएर आफैंले बेर्ना उत्पादन गरेका थिए। अहिले भने फूलको बेर्ना आफैले तयार पारेका थिए।
फूल र माला बेचेर वार्षिक एक लाख भन्दा बढी आम्दानी हुने गरेको प्रेमले बताए। उनका अनुसार यसैबाट परिवारको गुजारा चलेको छ।’
असार अन्तिमतिर फूल बर्ना राखिन्छ। एक महिनामा खेतमा सार्नका तयार हुन्छन्। खेतमा सारेको अढाइ तीन महिनाभित्र फूल बिक्रीका लागि तयार हुने गरेको छ।
फूल र माला उनेर बिक्री हुने गरेको प्रेमको भनाइ छ। उनका अनुसार दसैँ तिहारमा तीन सय रुपैयाँ प्रतिकिलोग्राम मूल्यमा फूल बिक्री भइरहेको छ।
गतवर्ष उत्पादित फूल र माला दोधारा चाँदनी क्षेत्रमै बिक्री गरेर एक लाख १५ हजार आम्दानी गरेको उनले बताए। ‘गतवर्ष दोधारा चाँदनीमै खपत भयो। यसपाली फूल महेन्द्रनगरसम्म पु¥याएको छुँ,’ उनले भने। उनको परिवारमा श्रीमती र दुई छोराछोरी छन्।
फूल खेतीमा श्रीमती, दिदीले पनि सघाउँदै आएका छन्। आवश्यक परेका बेला मजदुर लगाएर पनि खेतमा काम गर्ने गरेको प्रेमको भनाइ छ।
आम्दानीको स्रोतको रुपमा रहेको फूल र तरकारी बिक्री गरेर उनले घरखर्च र बालबालिकाको विद्यालय खर्च जोहो गर्दै आएका छन्। फूल खेतीमा ४५ हजारसम्म खर्च लाग्ने गरेको छ।
Shares

प्रतिक्रिया