कारोबार


असार २२ गतेदेखि एनसेलले पनि बन्द गर्दै छ थ्रीजी सेवा, उही शुल्क पर्ने फोरजीमा अपग्रेड गर्न अपिल

असार २२ गतेदेखि एनसेलले पनि बन्द गर्दै छ थ्रीजी सेवा, उही शुल्क पर्ने फोरजीमा अपग्रेड गर्न अपिल

नेपालखबर
असार १५, २०८३ सोमबार ११:३५, काठमाडौँ

एनसेलले पाँचवटा प्रदेशमा थ्रीजी सेवा असार २२ गतेदेखि बन्द गर्ने भएको छ। 

नयाँ प्रविधि अपनाउँदै फोरजी सेवामा स्तरोन्नती गर्ने योजनाअनुरूप एनसेलले कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूमा थ्रीजी सेवा असार २२ गतेदेखि बन्द गर्न लागेको हो।

'उही शुल्कमा अझ राम्रो र निर्वाधरूपमा गुणस्तरीय भ्वाइस तथा डेटा सेवाको लाभ लिनका लागि ग्राहकलाई भोल्टे सेवा सक्रिय गर्न आग्रह गर्दछौं', एनसेलको सूचनामा उल्लेख छ।

यो सेवा सक्रिय गर्न *१२३*११# डायल गर्न र आफ्नो मोबाइल फोनको सेटिङमा गएर भोल्टे सेवा अन गर्नुपर्ने एनसेलले जनाएको छ। 

देशभर करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्क विस्तार भइसकेको अवस्थामा पुरानो थ्रीजी प्रविधिमा रहेका ग्राहकलाई फोरजीमा माइग्रेट गराउँदै गुणस्तरीय भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने एनसेलले जनाएको छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि केही समयदेखि थ्रीजी सेवा क्रमश: बन्दै गर्दै लगिरहेको छ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार वैशाखसम्म एनसेलसँग ९० हजार ६७१ र टेलिकमसँग ६ लाख ७४ हजार ६७३ थ्रीजी ग्राहक छन्। फोरजी ग्राहकको संख्या भने निरन्तर वृद्धि भइरहेको छ। 

वैशाखसम्म देशभर एनसेलसँग १ करोड २१ लाख र टेलिकमसँग १ करोड ४६ लाख फोरजी ग्राहक छन्।

हाल एनसेलको कुल ग्राहक संख्या १ करोड ४१ लाख पुगेको कम्पनीले जनाएको छ।

पाँच प्रदेशका १३ वटा जिल्लाअन्तर्गत २२० भन्दा बढी टावरबाट प्रवाह भइरहेको थ्रीजी सेवा असार २२ गतेदेखि एनसेलले बन्द गर्न लागेको छ। 

कुल ग्राहक संख्यामध्ये थ्रीजी ग्राहक संख्याको हिस्सा जम्मा ०.७ प्रतिशत रहेको एनसेलले जनाएको छ। आजको दिनसम्म एनसेलको नेटवर्कमा सक्रिय थ्रीजी ग्राहक भने ९२ हजार ११९ छन्।

यी हुन् थ्रीजी सेवा बन्द गरिने जिल्लाहरू
एनसेलले भोजपुर, दाङ, धनकुटा, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, संखुवासभा, सप्तरी, तेह्रथुम र उदयपुरका स्थानीय तहहरूबाट चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्दै लैजानेछ।

एनसेलकाअनुसार थ्रीजी जनसंख्या कभरेज हाल ३० प्रतिशत रहेको छ। एनसेलले चरणबद्ध रूपमा देशैभरी थ्रीजी सेवा बन्द गर्दै लैजाने योजना बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad