मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले विस्तारै गति लिन थालेको छ।
कृषि विकास निर्देशनालय लुम्बिनीका बाली प्रसार अधिकृत नविन गैरेका अनुसार प्रदेशभर धान रोपाइँयोग्य कुल तीन लाख नौ हजार ३७२ हेक्टर क्षेत्रमध्ये हालसम्म ६२ हजार ६७०.८७ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यो कुल रोपाइँ हुने जमिनको २०.८ प्रतिशत मात्रै हो।
निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, पहाडी जिल्ला प्युठान धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। जिल्लाको ६ हजार ४२४ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये चार हजार ७४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। यो ८८ प्रतिशत हो।

समयमै खेत तयारी तथा किसानको सक्रियताका कारण प्युठानमा रोपाइँले उल्लेखनीय गति लिएको देखिएको छ। समयमा पानी नपर्दा तराईका जिल्लामा भने रोपाइँ हुन सकेकाे छैन। मध्य असारसम्म पानी नपर्दा किसान चिन्तित बनेका छन्।
तराईका प्रमुख कृषि जिल्ला रुपन्देहीमा पनि रोपाइँ सन्तोषजनक रूपमा अघि बढिरहेको छ। जिल्लाको ६३ हजार ४४० हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये २७ हजार ३२६.५ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न हुँदा प्रगति ४३ प्रतिशत पुगेको छ। त्यसैगरी नवलपरासी (पश्चिम) मा ४० प्रतिशत अर्थात् १० हजार ४४३.५ हेक्टर तथा रोल्पामा पनि ४० प्रतिशत अर्थात् एक हजार २३० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
त्यस्तै रुकुम (पूर्व) मा २४ प्रतिशत, बर्दिया मा १९.३९ प्रतिशत, दाङमा १४ प्रतिशत, अर्घाखाँचीमा ११.२ प्रतिशत, कपिलवस्तुमा ९.५८ प्रतिशत, गुल्मीमा ७ प्रतिशत र पाल्पामा ४ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
यद्यपि प्रदेशका तराईका जिल्लामा रोपाइँको गति अझै सुस्त देखिएको छ। विशेषगरी बाँकेमा ३३ हजार ७८० हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये हालसम्म केवल १६८.९ हेक्टर क्षेत्रमा मात्र रोपाइँ भएको छ। बाँकेमा ०.४ प्रतिशत मात्रै रोपाइँ भएको छ।

त्यस्तै धेरै धान उत्पादन हुने जिल्ला कपिलवस्तुमा पनि ६६ हजार २६४ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये एक हजार ४० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशमा कुल ६ लाख ७९ हजार ६९३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये ३ लाख नौ हजार ३७२ हेक्टर क्षेत्रमा धान खेती गरिने लक्ष्य निर्धारण गरिएको छ। हालसम्मको प्रगतिअनुसार अझै करिब दुई लाख ४६ हजार ७०१ हेक्टर क्षेत्रमा धान रोपाइँ गर्न बाँकी रहेको छ।
बाली प्रसार अधिकृत गैरेले मनसुन थप सक्रिय भएसँगै आगामी दिनमा प्रदेशभर धान रोपाइँले अझ गति लिने बताए। उनका अनुसार पर्याप्त वर्षा हुने क्रम जारी रहे अधिकांश जिल्लामा रोपाइँ उल्लेखनीय रूपमा बढ्नेछ भने समयमै रोपाइँ सम्पन्न भए यस वर्ष धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
धान देशको प्रमुख खाद्यान्न बाली र कृषकको मुख्य आयआर्जनको आधार भएकाले समयमै रोपाइँ सम्पन्न हुनु खाद्य सुरक्षा र कृषि उत्पादनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

Shares

प्रतिक्रिया