काठमाडौं फिन्टेकको आयोजनामा जेठ १३ गते मानव संसाधन (एचआर) सम्मेलन आयोजना हुने भएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा नेतृत्वको भविष्य कस्तो हुन्छ र जनशक्तिलाई कसरी सही दिशा दिने भन्ने विषयमा केन्द्रित रहेर सम्मेलनमा बृहत् छलफल हुने आयोजकले जनाएको छ।
यो कार्यक्रमले एचआर, बैंकिङ, एआई र डिजिटल रूपान्तरण क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै मञ्चमा जोड्नेछ।
बदलिँदो परिवेशमा संस्थाहरूलाई प्रतिस्पर्धी, प्रविधिमैत्री र दूरदर्शी बनाउन एचआरका हरेक कार्यमा एआई, डेटा र डिजिटल प्रविधिलाई कसरी एकाकार गर्ने भन्ने कुरालाई सम्मेलनले मुख्य जोड दिने आयोजकले जनाएको छ। यस अन्तर्गत एचआरमा एआईको प्रयोग, डेटामा आधारित रणनीतिक निर्णय, डिजिटल कर्मचारी अनुभव, एआई युगमा नेतृत्व शैली र भविष्यको कार्यक्षेत्र एवं सीप विकासजस्ता समसामयिक विषयहरूमा गहन बहस हुने बताइएको छ।
सम्मेलनमा कर्पोरेट, प्रविधि र बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलेका विशेषज्ञहरूको विचार मन्थन हुनेछ।
भारतको बैंकिङ तथा वित्तीय क्षेत्रका स्थापित सीएचआरओ हर्ष कुमार कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ। उनले आफ्नै संस्थामा विभिन्न एआई परियोजनाहरूको नेतृत्व गरिरहेका छन्।
यस्तै, कर्पोरेट तथा बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व सम्हाल्नुभएकी वरिष्ठ सीएचआरओ एवं प्रमाणित एआई व्यावसायिक शिल्पा कार्यक्रममा सहभागी हुँदैछिन्। उनले व्यावसायिक नेतृत्वको आफ्नो अनुभवका आधारमा एआई र एचआरको संयोजन कसरी गर्ने भन्ने व्यावहारिक पाटोबारे चर्चा गर्ने आयोजकले जनाएको छ।
नेपालको बैंकिङ क्षेत्रमा एआईको प्रयोग र यससम्बन्धी प्राविधिक कार्यहरूमा प्रत्यक्ष रूपमा जोडिनुभएका विशेषज्ञ आलोक पनि सहभागी हुने तय भएको छ। उनले नेपाली बैंकिङ उद्योगमा एआई भित्र्याउँदाका वास्तविक अनुभव, मुख्य चुनौती र नयाँ अवसरहरूका बारेमा जानकारी गराउने तयारी छ।
काठमाडौं फिन्टेकका अनुसार यस सम्मेलनको मुख्य ध्येय एचआर क्षेत्रका उदाउँदा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको क्षमतालाई उजागर गर्नु रहेको जनाएको छ।
सम्मेलनमा विभिन्न उद्योग तथा व्यापारिक क्षेत्रका एचआर प्रबन्धकहरू, उच्चपदस्थ अधिकारीहरू, विभागीय प्रमुख, लाइन म्यानेजर, सुपरभाइजर र नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूका लागि उपयोगी हुने बताइएको छ।
Shares

प्रतिक्रिया