कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि दरखास्त मागिएको छ।
सिफारिस समितिले आज (बिहीबार) सूचना जारी गरी जेठ ५ गते स्वीकृत सहिद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम इच्छुक तथा योग्य नेपाली नागरिकलाई उक्त पदका लागि आवेदन दिन आह्वान गरेको हो।
उपकुलपति वा रजिस्ट्रार पदका लागि कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेस गर्न भनिएको छ।
आवेदन गर्न पाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

सिफारिस समिति संयोजक मनोनयनप्रति गम्भीर आपत्ति
यसैबिच नेपाल चिकित्सक संघले भने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिमा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक मनोनयन गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले बिहीबार विज्ञप्ति जारी गरी संयोजक मनोनयन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा भएको व्यवस्थाविपरीत भएको बताएको हो।
‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार कैलालीको गेटामा स्थापना स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रस्तावनामा स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापनद्वारा मानव स्रोत विकास गरी सहज, सुलभ र विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य विज्ञानसम्बन्धी शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन तथा अध्ययन, अनुसन्धान र नवप्रवर्धनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्याउन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्न भनी उल्लेख गरिएको र यसै ऐनको दफा २५ सिफारिस समिति (उपकुलपति र रजिस्ट्रारको नियुक्ति) को उपदफा (क) मा उल्लेख भएअनुसार दफा ७ को उपदफा (२) को खण्ड (ट) र (ठ) बमोजिमको सदस्य मध्येबाट सभाले मनोनयन गरेको सदस्य संयोजक हुने भन्ने व्यवस्था भएकामा स्वास्थ्य क्षेत्र बाहिरबाट संयोजक सिफारिस गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर आपत्ति रहेको छ र स्वास्थ्य क्षेत्रका विज्ञमध्येबाट नै संयोजक मनोनयन गर्न संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै उपकुलपतिको योग्यता दफा २४ (क) अनुसार विद्यावारिधी, डीएम, एमसीएच वा सो सरहको प्रावधान रहेकोमा नेपालको चिकित्सा क्षेत्रमा एमडी/एमएस/एमडीएसलाई उच्च तहको उपाधिको रूपमा मान्ने गरिएको र नेपालमा पीएचडी अध्ययन/अध्यापन न्यून संख्यामा हुने हुँदा उक्त प्रवाधान संशोधन गरी स्नातकोत्तर तहको मेडिकल शिक्षा प्राप्त विज्ञ राख्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

Shares

प्रतिक्रिया