छोटा भिडिओ सेवाप्रदायक सामाजिक सञ्जाल टिकटकका सहसंस्थापक चीनकै सर्वधनाढ्य व्यक्ति बनेका छन्।
४१ वर्षीय झाङ यिमिङ चीनकै धनी व्यक्ति बनेका हुन्।
उनी टिकटकको मातृकम्पनी बाइटडान्सका सहसंस्थापक हुन्। मंगलबार हुरुन चाइना धनी सूचीमा उनी ४९.३ अर्ब अमेरिकी डलरसहित अगाडि आएका हुन्।
अनुसन्धान, मिडिया र लगानी समूह हुरुन इंकले चिनियाँ धनाढ्यहरुको वरीयता प्रकाशित गर्दै आएको छ।
बाइटडान्सको विश्व आय गत वर्ष ३० प्रतिशतले बढेको थियो। योसँगै कम्पनीले १ खर्ब १० अर्ब अमेरिकी डलर आम्दानी गरेको हुरुनले जनाएको छ।
सन् २०१७ मेमा आधिकारिक रुपमा टिकटक लन्च भएको थियो। त्यसयता विश्वमा यसको लोकप्रियता र विवाद बढ्दो क्रममा छ।
बाइटडान्समा झाङको २० प्रतिशत स्वामित्व छ। यसका अर्का सहसंस्थापक लियाङ रुबो रहेका छन्। उनीहरुले सन् २०१२ मा बेइजिङमा बाइटडान्सको सहसंस्थापना गरेका थिए।
टिकटकबाहेक बाइटडान्सका चीनमा टाउटियाओ र डाउविन नामका भगिनी कम्पनी छन्।
झाङको उदयले बोटलपानी बिक्रेता झोङ शानशानलाई पछि छोडेको छ। झोङ ३ वर्षपछि पछि परेका हुन्। उनी अब दोस्रो धनाढ्यमा पुगेका छन्।
यता कुल अर्बपति संख्या भने चीनमा घटेको छ। अमेरिकी डलरवाला अर्बपति ७५३ मा संकुचित भएको हो। जुन अघिल्लो वर्षभन्दा १४२ जना कम हो।
Shares

प्रतिक्रिया