ad ad

कारोबार


एकातिर हटाउने अभियान, अर्कोतिर सडक पार्किङबाटै रकम असुल्दै महानगर

नीति परिवर्तन हुँदै जान्छ : महानगर
एकातिर हटाउने अभियान, अर्कोतिर सडक पार्किङबाटै रकम असुल्दै महानगर

वसन्त अर्याल
भदौ १६, २०७९ बिहिबार १८:१५, काठमाडौँ

सडक पार्किङ व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले दोहोरो चरित्र देखाएको छ। 

एकातिर पार्किङको लागि व्यापारिक भवनका बेसमेन्ट धमाधम खाली गर्ने, अर्कोतिर सडकको पार्किङबाटै शुल्क उठाउने गर्दा महानगरको कार्यशैली बाझिएको हो।  

महानगरपालिका आफैँले पार्किङ गर्न दिने गरी कम्पनीहरुसँग सम्झौता नै गरेको छ। २०७५ माघमा महानगरले केही स्थानमा पार्किङको लागि ह्विल्स ट्रली र एड गुरुसँग सम्झौता गरेको थियो। 

त्यसअनुसार महानगरले सडकमा पार्किङबाट शुल्क उठाउँदै आएको छ। 

सम्झौताअनुसार महानगरपालिकाले ‘ह्विल्स ट्रली’ र ‘एड गुरु’लाई पाँच वर्षको लागि दरबारमार्ग, खिचापोखरी, पाको, प्युखा, विशालबजार र धर्मपथमा स्मार्ट पार्किङको जिम्मा दिएको छ। यसअनुसार ती कम्पनीबाट पहिलो ३ वर्षमा पार्किङबाट उठेकोमध्ये २० प्रतिशत र पछिल्लो २ वर्षमा ३० प्रतिशत रकम महानगरले लिइरहेको छ। 

महानगरपालिकाले ‘ह्विल्स ट्रली’ र ‘एड गुरु’लाई पाँच वर्षको लागि दरबारमार्ग, खिचापोखरी, पाको, प्युखा, विशालबजार र धर्मपथमा स्मार्ट पार्किङको जिम्मा दिएको छ।

पार्किङ शुल्कसम्बन्धी सम्झौता

नीति परिवर्तन हुँदै जान्छ : महानगर 
काठमाडौं महानगरले अब सडकमा पार्किङ गर्ने नीति परिवर्तन हुँदै जाने बताएको छ। 

‘अहिले बेसमेन्ट खाली गराइरहेका छौँ। हामी सडकमा पार्किङ गर्नुहुँदैन भन्ने पक्षमा छौँ’, महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘सडकको पार्किङ त हटाउने तर कहाँ पार्किङ गर्ने विकल्प पनि दिनुपर्छ।’

मानन्धरले व्यवस्थापनको लागि शुल्क उठाउनुपरेको बताए। उनले सम्झौताको अवधि अझै बाँकी रहेको र पार्किङको तत्काल व्यवस्था नहुँदा कसरी जाने विषयमा महानगरले छलफल गरिरहेको जानकारी दिए। 

‘सडकबाट पार्किङ त हटाउने अभियानमै छौँ तर त्यसको विकल्प खोजिरहेका छौँ’, उनले भने, ‘वैकल्पिक ठाउँको व्यवस्था हुनेबित्तिकै सडकमा पार्किङ हुँदैन।’

महानगरपालिकाको सम्झौतामा प्युखा, खिचापोखरी, पाको, विशालबजार, दरबारमार्गमा गरी जम्मा सात सय ८१ वटा सवारी पार्किङ गर्नसक्ने व्यवस्था छ। त्यस्तै दरबारमार्गमा ३३ वटा र धर्मपथमा ५० वटा चारपाङ्ग्रे गरी ८३ वटा पार्किङ गर्नसक्ने सम्झौता छ। 

दरबारमार्गमा केही व्यवस्थित भए पनि न्यूरोडमा पार्किङ व्यवस्थित हुनसकेको छैन। 

काठमाडौं महानगरपलिकाले सुरुमा एक घण्टा पार्किङ गर्दा दुईपांग्रे सवारीको लागि २५ र चारपांग्रेको लागि ८० रुपैयाँ तोकेको थियो।

एकैछिन पार्किङ गर्दा पनि धेरै शुल्क लिएको भन्दै सेवाग्राहीले आलोचना गरेपछि ३० मिनेट पार्किङको दुईपांग्रेको १५ रुपैयाँ र ४ पांग्रेको ५० रुपैयाँ प्रतिघण्टा उठाउन पाउने व्यवस्था गरेको छ। १ घण्टा केही मिनेट हुनेबित्तिकै २ घण्टाको पार्किङ शुल्क लिने गरेका छन्। 

तोकिएको पार्किङ शुल्क दर

स्मार्ट पार्किङमा महालेखाको प्रश्न
काठमाडौं महानगरपालिका र एक कम्पनीबीच न्यूरोड तथा दरबारमार्गका केही भूभागमा आधुनिक प्रविधिको प्रयोग गरी सवारीसाधन पार्किङ गर्ने कार्यको लागि २०७५ माघ ८ गते ५ वर्षको लागि सम्झौता भएको छ। 

सम्झौतामा करार अवधिको अघिल्लो ३ वर्ष प्रतिसवारी पार्किङ शुल्कको २० प्रतिशत र त्यसपछिका वर्षमा ३० प्रतिशत महानगरले प्राप्त गर्ने उल्लेख छ। 

महानगरलाई ३ वर्षमा ७३ लाख ८२ हजार रुपैयाँ राजस्व बुझाएको छ। महालेखाले दैनिक कति गाडी पार्किङ हुन्छन् त्यसको विवरण नबुझाएको जनाएको छ। 

‘सवारीसाधन पार्किङ र राजस्व प्राप्तिको अद्यावधिक अभिलेख पेश गरेको छैन’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘सार्वजनिक निजी साझेदारी अवधारणाअनुरुप प्रतिस्पर्धा गराई पार्किङ व्यवस्थापन र राजस्व असुल गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .