कारोबार


नास आईटी एक्स्पो नाेभेम्बरमा हुने

नास आईटी एक्स्पो नाेभेम्बरमा हुने

नेपालखबर
साउन ६, २०८३ बुधबार १५:३९, काठमाडौँ

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले नास आईटी एक्स्पो २०२६ आगामी नोभेम्बर २१–२२, २०२६ मा हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा आयोजना गर्ने भएको छ। 

दुई दिने यस एक्स्पोले नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई एकै थलोमा ल्याई नवप्रवर्तन, सहकार्य तथा व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ।

नास आईटी एक्स्पो २०२६ को सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोले प्रविधि कम्पनीहरूलाई आफ्ना नवीन समाधानहरू प्रस्तुत गर्ने, व्यवसायहरूसँग प्रत्यक्ष रूपमा जोडिने तथा दीर्घकालीन सहकार्य र साझेदारी विस्तार गर्ने अझ सशक्त मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ। 

साथै, यसले नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास लिइएको छ।

सन् २०२५ मा सम्पन्न नास आईटी एक्स्पोमा २ हजार ५०० भन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो, जसले यसलाई नेपालको सबैभन्दा ठूलो व्यवसाय–केन्द्रित प्रविधि प्रदर्शनीहरूमध्ये एकको रूपमा स्थापित गरेको थियो। 

एक्स्पोमा उद्योगका अग्रणी व्यक्तित्वहरू, सरकारी प्रतिनिधिहरू, विभिन्न देशका राजदूतहरू, लगानीकर्ताहरू, कर्पोरेट प्रतिनिधिहरू, स्टार्टअपहरू, विद्यार्थीहरू तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कम्पनीहरूले नयाँ व्यावसायिक सम्भावनाहरू पहिचान गर्ने, महत्वपूर्ण व्यापारिक सम्पर्क विस्तार गर्ने, नयाँ उत्पादन तथा समाधानहरू प्रस्तुत गर्ने र दीर्घकालीन साझेदारीका अवसरहरू सिर्जना गर्ने अवसर प्राप्त गरेका थिए।

गत वर्षको सफलतालाई आधार बनाउँदै नास आईटी एक्स्पोले नेपालको बढ्दो प्रविधि क्षमतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आईटी समाधानहरूको प्रवर्द्धन गर्नेछ। एक्स्पोले प्रविधि कम्पनीहरू र विभिन्न व्यवसायबीच सहकार्यको वातावरण सिर्जना गर्दै नवप्रवर्तन, ज्ञान आदानप्रदान तथा नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस वर्षको एक्स्पोका मुख्य आकर्षणहरूमा अग्रणी आईटी कम्पनीहरू तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी, व्यवसायका वास्तविक चुनौतीहरू समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानहरूको प्रदर्शन तथा प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच नेटवर्किङ तथा सहकार्यका अवसरहरू, 
डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिहरू सम्बन्धी ज्ञानमूलक सत्रहरू हुनेछन्।

त्यस्तै नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर मिल्नुका साथै प्रदर्शनीमा सहभागिता, आगन्तुक दर्ता, कार्यक्रमको विस्तृत कार्यसूची, वक्ताहरू तथा साझेदारीसम्बन्धी थप जानकारी आगामी दिनहरूमा सार्वजनिक गरिने आयोजकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad