कारोबार


मधेसमा घट्यो आँपको उत्पादन

मधेसमा घट्यो आँपको उत्पादन

सुभाष कर्ण
असार १३, २०८३ शनिबार १९:२७, जनकपुरधाम

आँपको प्रमुख केन्द्र मधेस प्रदेशमा यस वर्ष उत्पादन घटेको छ। 

कृषि विकास निर्देशनालय, धनुषाले सार्वजनिक गरेको तथ्यांकअनुसार, आँप खेतीको क्षेत्रफल विस्तार भए पनि यस वर्ष उत्पादनमा गिरावट आएको छ। हुरीबतास, रोग किराको प्रकोप तथा मौसमीय प्रतिकूलताका कारण उत्पादन घटेको निर्देशनालयको भनाइ छ। 

निर्देशनालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको थियो। प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका आधारमा यस वर्ष दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप मात्र उत्पादन भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.४३ मेट्रिक टन आँप उत्पादन भएको थियो। गत वर्ष तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप फलेको निर्देशनालयको तथ्यांक छ। 

यस वर्ष आँप खेती दुई हजार ६९४ हेक्टरले क्षेत्रफल बढेको थियो। तर, उत्पादन भने ४६ हजार ८७८ मेट्रिक टनले घटेको निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार यस वर्षको उत्पादन गिरावटमा प्रमुख कारण हुरीबतास तथा रोग किराको प्रकोप रहेको छ। फूल फुल्ने र फल लाग्ने समयमा आएको हुरीबतास र कीराको प्रकोपले उत्पादनमा प्रत्यक्ष असर पारेको यादवले बताए। 

उनका अनुसार पछिल्ला वर्षहरूमा किसान उन्नत जातका बिरुवा प्रयोग गर्न थालेका छन् र बगैंचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको छ। तर, प्राकृतिक विपद् र रोग नियन्त्रण प्रभावकारी नहुँदा अपेक्षित उत्पादन हासिल हुन सकेको छैन। 

मधेश प्रदेशका प्रमुख आँप उत्पादक जिल्ला सिरहा र सप्तरी भए पनि यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा १३.८० मेट्रिक टन प्रतिहेक्टर रहेको छ। त्यस्तै, सबैभन्दा कम सर्लाहीमा ६.२० मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ। 

जिल्लागत रूपमा हेर्दा धनुषामा तीन हजार ३२४ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टरबाट २९ हजार सात सय मेट्रिक टन, सप्तरीमा आठ हजार ३८७ हेक्टरबाट ७५ हजार पाँच सय मेट्रिक टन र सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार चार सय मेट्रिक टन आँप उत्पादन भएको छ। 

यसैगरी, रौतहटमा चार हजार ७७ हेक्टरमा ५४ हजार ३७८ मेट्रिक टन, बारामा एक हजार ४९५ हेक्टरमा २० हजार ६३१ मेट्रिक टन, सर्लाहीमा दुई हजार एक सय हेक्टरमा १३ हजार मेट्रिक टन र पर्सामा ४४७ हेक्टरमा पाँच हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको छ।

मधेश प्रदेशमा बम्बई, माल्दह, कृष्णभोग, दशहरी, जर्दा, अम्रपाली, बिजु, गुलाबखास र कलकतियालगायतका आँपका जात व्यावसायिक रूपमा लगाइँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad