कारोबार


जमुनाह नाकामा कडाइ

जमुनाह नाकामा कडाइ

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:५१, काठमाडौँ

सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न बाँकेकाे नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ।

दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगञ्‍जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए।

‘एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगन्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो’, उनले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाहनाकामा कडाइ गरिएको छ।’

ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको उनको भनाइ छ। नेपालगञ्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाहनाकामा भन्सार कडाई गर्न पटकपटक आग्रह गर्दै आएका थिए।

‘भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ। एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ।’

नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । गत आवमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१/८२ का लागि गत आवको तुलनामा रु एक अर्ब घटाइएको थियो।

गत आव २०८०/८१ का लागि रु २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकामा घटाएर चालु आवमा भन्सार असुली लक्ष्य रु २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो।

यद्यपि गत आवमा रु १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजस्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आवका लागि रु २७ अर्ब बढी तोकिएकाले चालु आवमा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौती देखिएको छ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ साउनदेखि फागुनसम्म रु १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आवमा रु २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिनामा ४६ दशमलव पाँच प्रतिशतमात्र राजस्व सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad