कारोबार


काठमाडौँका तारे होटलमा माग बढेपछि तेह्रथुममा व्यावसायिक सिस्नुखेती

काठमाडौँका तारे होटलमा माग बढेपछि तेह्रथुममा व्यावसायिक सिस्नुखेती

नेपालखबर
असार २५, २०८२ बुधबार १४:५०, तेह्रथुम

सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि तेह्रथुमका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्।

लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ।

सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।

डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १० लाख मूल्य बराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ । आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए ।

“हाल निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेका छन्, सिस्नु प्रशोधन गर्ने मेसिन ल्याएर धुलो बजारमा पठाउँदा निजी जग्गाको सिस्नुले मात्र माग नधान्ने भएकाले वन क्षेत्रका खाली जग्गामा पनि सिस्नु रोपेका हौँ”, उनले भने । साउनदेखि सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना उनले सुनाए ।

गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्छ । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ । होटलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको वसन्तपुरस्थित टुटे देउराली हिमगङ्गा गेष्टहाउसका सञ्चालक यशोदा कार्कीले बताए । उनका अनुसार वसन्तपुर बजारका हरेक होटलमा सिस्नुका परिकार पाक्छ ।

स्थानीयले बजारका होटलसम्म सिस्नु पुर्याउँछन् । वसन्तपुर बजार भएर यात्रा गर्ने यात्री र पर्यटकले प्रायः सिस्नु किन्ने गरेका रुपा स्टोरका सञ्चालक रुपा रायले बताए । “वसन्तपुरबाट हरेक दिन कम्तीमा पनि एक गाडी तराईका जिल्लामा पहाडको निगुरो, च्याउ र सिस्नु पठाउने गरेको छु”, उनले भने ।

अस्थायी रुपमा तेह्रथुमा बसोबास गर्दै आएका सङ्खुवासभाको धर्मदेवी गाउँपालिका–१ का ६० वर्षीय रमेश गुरुङ र उहाँकी श्रीमती हर्कमाया दिन बिराएर वसन्तपुरका होटलमा सिस्नु बेच्न ल्याउँछिन् । प्रतिमुठा रु २५ देखि ३० मा सिस्नु बेचेर रु एक हजार ५०० सम्म आम्दानी गरी घर फर्कने गरेको गुरुङ दम्पतीले बताए । निजी जग्गा र जङ्गलमा उम्रिएका सिस्नु टिपेर ल्याउने गरेको उनीहरूले सुनाए ।

लेकको पात्ले सिस्नु स्वादिष्ट हुने भएकाले यसको माग बढेको हो। लालीगुराँस नगरपालिका क्षेत्रमा प्रशस्त सिस्नु उत्पादन हुने भएकाले सामुदायिक वनलाई सिस्नु प्रशोधन मेसिन उपलब्ध गराउन पहल गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए ।

सिस्नुको व्यावसायिक खेती गर्न तथा यसको धुलोको ‘लेबलिङ र प्याकेजिङ’मा ध्यान दिई गुणस्तरीय उत्पादन गरेर अन्तरराष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad