कारोबार


काकडभिट्टाका पर्यटन व्यवसायीको गुनासो- सरकारले हामीलाई बेवास्ता गर्‍यो

काकडभिट्टाका पर्यटन व्यवसायीको गुनासो- सरकारले हामीलाई बेवास्ता गर्‍यो

सुमन सुस्केरा
चैत ४, २०८१ सोमबार ११:४६, काकडभिट्टा

झापाका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई राज्यले आवश्यक ध्यान नदिएको आरोप लगाएका छन्। ट्राभल्स एजेन्सी सञ्चालक, होटल व्यवसायी र पर्यटन व्यवसायीसँग नेपालखबरकर्मीले आइतबार काकडभिट्टामा गरेको छलफलमा उनीहरुले यस्तो आरोप लगाएका हुन्। 

काठमाडौँमा हुने गरेको केन्द्रीयताको अभ्यास प्रदेशमा पनि दोहोरिन थालेको गुनासोसमेत उनीहरुले गरेका छन्। काकडभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले केही व्यवसायीलाई च्यापेर प्रदेश सरकारले कार्यक्रम गर्ने गरेको आरोप लगाए। 

‘प्रदेश सरकारसँग नियमित धाउने, नजिकै हुनु पर्ने, बिहान-बेलुका नधाउँदासम्म कसैका पनि समस्याको सुनुवाइ नहुने प्रवृति छ,’ श्रेष्ठले भने, ‘सरकारले आगामी वर्ष-२०८२ लाई पर्यटन वर्षको रूपमा घोषणा गरे पनि अहिलेसम्म यस विष्यामा एकपटक पनि हामीसँग छलफल भएको छैन।’

पर्यटन वर्षमा सरकारले कस्ता पर्यटक भित्र्याउन खोजेको हो प्रष्ट नभएको उनको भनाई थियो। ‘यदि पर्यटन वर्ष मनाउने हो भने बाह्य पर्यटक भित्रिने कोसी प्रदेशको एक मात्रै काकडभिट्टा नाका हो, यहाँका पर्यटन व्यवसायीलाई नै सरकार वास्ता गर्दैन। अनि कसरी सफल हुन्छ पर्यटन वर्ष?’ 

उनले विराटनगरले कार्यक्रम गर्ने, संयोजक त्यहीँका तोकिने परिपाटी विगतदेखि नै चल्दै आएको बताए। ‘उनीहरुको काम गर्ने शैली यस्तो छ, अनि हामीले पर्यटन वर्ष सफल बनाइदिनु पर्ने हो भनेँ यस्ता पर्यटन वर्ष स्वीकार गर्न सकिँदैन’, उनले भने, ‘संघीयताभन्दा अघि पर्यटनको बारेमा केही नजानेका काठमाडौँका पर्यटन व्यवसायी हिरो हुने काम जसरी हुन्थ्यो, अहिले सङ्घीयता आएपछि विराटनगरका केही पर्यटन व्यवसायीलाई हिरो बनाउने र अनावश्यक रुपमा पैसा सक्ने काम भइरहेको छ।’

सरकारले पर्यटनसम्बन्धी नीति अन्दाधुन्द बनाउने गरेको आरोपसमेत यहाँका व्यवसायीले लगाएका छन्। आफ्ना नजिक रहेका व्यक्तिले जे भन्यो त्यसैलाई कानुन बनाउने गरेको समेत उनीहरूको आरोप छ। 

पर्यटन व्यवसायी निरबहादुर कार्कीले प्रदेश सरकारले देखेको पर्यटन विकासको क्षेत्र विराटनगर, धरान, बेतना र कोसीटप्पु मात्रै भएको बताए।  पर्यटनसँग सम्बन्धित विषयमा प्रदेश सरकारले चासो नै नदिएको उनको भनाई छ। 

यहाँका व्यवसायीले काकडभिट्टा भएर नेपाल आउने पर्यटकको लागि निकै समस्या रहेको बताएका छन्। भारतको पानीट्यांकी, काकडभिट्टा भएर पर्यटक आउँदा मेची पुललाई पार्किङको रूपमा प्रयोग गरेको, एसएसबीले नेपालीलाई असाध्यै दुःख दिने गरेको विषय राज्यको प्राथमिकतामा नपरेको विषय समेत उनीहरूले उठाएका छन्। 

भारत, बंगलादेश, भुटान र म्यानमारका पर्यटक नेपाल आउँदा स्थलमार्ग प्रयोग हुने भनेको काकडभिट्टा नाका नै हो।  ‘स्थल मार्ग भएर विदेशी पर्यटक भित्रिने कोसी प्रदेशको एक मात्र नाका काँकडभिट्टा मात्रै हो,’ कार्कीले भने, ‘सरकारका कार्यक्रम काकडभिट्टासम्म आइपुगेको छैन, इटहरी, धरान। विराटनगरकै सेरोफेरो नै प्रदेशको पर्यटन घुमेको छ।’  

विराटनगर, धरान, इटहरी लगायतका पर्यटन व्यवसायी टिकेटिङमा मात्रै केन्द्रित रहेको अवस्थामा काकडभिट्टाका पर्यटन व्यवसायीले भनेँ बंगाली, आसामी, उत्तर पूर्वका पर्यटकलाई लक्षित गरेर  प्याकेजिंगमा काम गरिरहेका दाबी कार्कीले गरे। 

‘बंगाली, आसामी, उत्तर पूर्वका पर्यटक नेपाललाई घुम्न चाहन्छन्, भारतीय ट्राभल्स एजेन्सीहरू पनि नेपालका गन्तव्य खोजी रहेका छन्,’ कार्कीले भने, ‘नेपालले आफ्नो पर्यटनमैत्री नीति लिन सकेको छैन।’ 

व्यक्तिगत लगानीमा मणिपुर र सिलोंगसम्मको मार्केटिङ गर्ने गरिएको उनीहरूको दाबी छ। पर्यटकको रोजाई कोसी प्रदेशको भन्दा पनि पोखरा हुँदै मुक्तिनाथसम्म काठमाडौँ, चितवन, लुम्बिनी प्याकेजिङ टुरमा पर्ने गरेको छ। 

अर्का व्यवसायी मोहन रिजालले सामान्य एक्सरे मेसिन नचलाउँदा समेत पर्यटकले दुःख पाउने गरेको बताए।  उनले पानीट्याङ्कीबाट नेपाल आउने पर्यटकलाई नेपाल प्रवेश गर्दासम्म नेपाली सुरक्षा निकायले मात्रै ५ ठाउँमा चेकजाँच गरेरै आतङ्कित पार्ने गरेको सुनाए।

‘कोसीबाट पर्यटक भित्र्याउने हो भने, काकडभिट्टा नाकालाई पर्यटन मैत्री बनाउन सक्नुपर्छ,’ उनले भने, ‘पर्यटक धेरै नेपाल भित्र्याउनको लागि यहाँको चेकिङ, पुलमा हुने अनावश्यक भिडभाड हटाउने, पुलमा भइरहेको पार्किङ हटाउने र पानीटंकीबाट आउँदा ३ ठाउँमा गाडी फेर्नु पर्ने बाध्यता हटाउन सक्नुपर्छ।’ 

पछिल्ला वर्ष यस्ता गतिविधिले गर्दा ४० प्रतिशत मानिस पनि काकडभिट्टा नभित्रिएको दाबी पर्यटन व्यवसायीले गरेका छन्।

‘पर्यटक नआउँदा हामी व्यवसायीलाई बढी मार परेको छ,’ उनले भने, ‘सरकारलाई चासो भएको छैन, सरकारले गर्ला नगर्ला ठेगान छैन। तर, अहिले हामी आफैँ लागेका छौँ।’

ट्राभल व्यवसायी राजु अधिकारीले काकडभिट्टा देशकै सबैभन्दा सुविधायुक्त नाका भएको बताए।  ‘हामी सरकारप्रति सकारात्मक छैनौँ,’ उनले भने, ‘हामीले लामो समयदेखि काम गर्दा पनि राज्यको तर्फबाट केही सहयोग नै भएको छैन।’ 

उनले भारतीय बजारमा पर्यटन प्रवर्द्धनको लागि गरिने कार्यक्रमहरूमा नेपालको उपस्थिति नै कमजोर हुने गरेको गुनासो गरे। 

होटल व्यवसायी सुरेश कुमार श्रेष्ठले सातसयको हाराहारीमा होटल रहेको काकडभिट्टामा कोभिडपछि तीनसय ५० को हाराहारीमा मात्रै होटल सञ्चालनमा रहेको बताए। पर्यटक कम आउन थालेपछि यस विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको, हरेक कार्यक्रममा आफ्ना समस्या राख्दै आएको भए पनि  सरकारको तर्फबाट कुनै सहयोग नभएको उनको गुनासो छ। 

होटल एवम् पर्यटन व्यवसायी मानबहादुर गिरीले सरकारको फितलो नीतिका कारण काकडभिट्टा नाक धराशायी बन्दै गएको बताए। कोरोना कालको समस्यालाई अहिले पनि यथाबत राखिएको उनको भनाई छ। 

 ‘कोरोना कालअघि कुनै पनि आईडी कार्ड नदेखाई जान पाउने व्यवस्था थियो,’ उनले भने, ‘अहिले आर्इडी कार्ड अनिवार्य गरिएको छ। यहाँबाट नक्सलवारी, पानीट्यांकी जान पनि सहज अवस्था छैन।’ 

पानीट्यांकीदेखि काकडभिट्टासम्म आउँदा सशस्त्र, नेपाल प्रहरी, भन्सारले पाँच पटक जाँच गर्ने गरेका भन्दै उनले मनि चेन्जर सञ्चालकहरुले झोलाबाट नै पैसा सटही गर्दा नियमन भएको छैन। 

भारतीय गाडीको स्टिकर नीति कार्यान्वयनमा नगएको पनि उनले बताए। पर्यटन प्रवर्द्धन र पर्यटन मैत्री प्रदेश हुने हो भने  काकडभिट्टाको पुलदेखि नै त्यसको सुरुवात गरेर जानु पर्नेमा उनीहरुको जोड छ। 

काँकडभिट्टा नाका भएर गत आर्थिक वर्षमा अमेरिकाबाट ४८ जना आएका छन्। इन्डियाबाट ३३ जना, क्यानडाबाट १७ जना, अस्ट्रेलियाबाट २५, बङ्गलादेशबाट २८, बेल्जियम नागरिक ३, जर्मन ४, बेलायतबाट ११, स्वीजरल्याण्ड ४, श्रीलङ्का, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, न्यु जिल्यान्ड र ताइवान १–१ जना आएका छन्।

त्यस्तै नेदरल्याण्डस् र फिलिपिन्सका ३–३ तथा रोमानियाबाट १२ जना यो नाका हुँदै नेपाल आएको अध्यागमन कार्यालय काँकडभिट्टाको तथ्याङ्कमा देखिन्छ। 

अन्य नाकाबाट नेपाल घुम्न आएका भारतीय नागरिक २९८ जना काँकडभिट्टा नाका भएर फर्किएको तथ्याङ्कमा देखिन्छ। अध्यागमनलाई थाहा नभई कति पर्यटक नेपाल आउँछन् त्यसको कुनै लेखाजोखा नभएको व्यवसायी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad