कारोबार


दही, पनिर र खुवा बेचेर मासिक ९० हजार बचत

दही, पनिर र खुवा बेचेर मासिक ९० हजार बचत

नेपालखबर
पुस १०, २०८१ बुधबार १३:४६, सुनसरी

सुनसरी सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन्।

रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन्।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे। उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन्।

यादवले अहिले सबै खर्च कटाएर मासिक रु ९० हजारसम्म आम्दानी भइरहेको जानकारी दिए। हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे।

दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार आम्दानी हुनेमा सबै खर्च कटाउँदा रु। ९० हजार बचत भइरहेको छ।

‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार हुँदै आएको छ।’

रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad