कारोबार


दूध उत्पादनमा वृद्धि गर्न ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

दूध उत्पादनमा वृद्धि गर्न ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

दिनेश बुढा
कात्तिक २९, २०८१ बिहिबार १०:६, सुर्खेत

कर्णाली प्रदेशमा पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानका लागि ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण हुने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित तरल नाइट्रोजन प्लान्ट निर्माण गर्न लागेको हो। 

गाई र भैँसीको नश्ल सुधार र उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमै पहिलोपटक यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए। 

मन्त्री शाहका अनुसार नश्ल सुधारका लागि अहिले कर्णालीमा पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। ‘फेरि चाहेको समयमा सहज उपलब्ध पनि नहुने समस्या देखिएपछि सरकारले प्रदेशमै  नाइट्रोजन प्लान्ट निर्माणको काम अघि बढाउन लागेको हो,’ उनले भने। 

पशुपन्छी विकास निर्देशनालय सुर्खेत परिसरमा प्लान्ट निर्माणको काम चलिरहेको छ। मन्त्रालयले यस योजनाका लागि चार करोड ९८ लाख रकम बजेट विनियोजन गरेको छ। 
 

तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ भने बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा ७०० गुणा वृद्धि हुन्छ। यो रंगविहिन, गन्धविहिन ग्याँस हो। 

यसको उम्लने तापक्रम –१९६ डिग्री सेन्टीग्रेट र जम्ने तापक्रम –२१२ डिग्री सेन्टीग्रेट हुने मन्त्रालयका पशुपन्छी महाशाखाका पशु प्राविधिक कमलबहादुर विश्कर्माले जानकारी दिए। 

उनका अनुसार तरल भएको कारणले जमेको वीर्यसँग राम्रोसँग सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि हानिकारक नहुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग भइरहेको छ। नाईट्रोजन ग्यास हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा भएको यही नाईट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ। 

कर्णली प्रदेशका पहिलो पटक स्थापना गर्न लागिएको ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणले  बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले बताए।

कर्णाली प्रदेशमा हालसम्म बाहिरबाट वीर्य आपूर्ति गरिँदै आएको छ। तर कर्णालीमै यो प्रक्रिया सञ्चालन गर्नका लागि नाइट्रोजन उत्पादनका लागि प्लान्ट निर्माण आवश्यक रहेको उनको भनाइ छ। यस परियोजना कृतिम गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन यो कार्यक्रम महत्वपूर्ण हुने उनले बताए। 
 
‘प्रशोधित वीर्यका स्ट्रहरु संरक्षण तथा भण्डारणका लागि नभई नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँबाट कृत्रिम गर्भाधान केन्द्रहरूमा वितरण गर्ने लक्ष्य छ,’ सचिव थापाले भने, ‘कर्णालीमा निर्माण हुने प्लान्टले कृत्रिम गर्भाधानको विकास हुनुको साथै दूध उत्पादनमा वृद्धि हुन्छ। यसले कृषकको आम्दानी पनि बढ्ने अपेक्षा छ।’

मन्त्रालयले कर्णालीका विभिन्न जिल्लामा करिब दुईसय कृषकहरूलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको छ। विशेषगरी, दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार अत्यन्त प्रभावकारी मानिन्छ। 

प्लान्ट स्थापना गर्नुपूर्व मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीयसँग सार्वजनिक सुनुवाइ समेत गरिसकेको छ। स्थानीयले प्लान्टबाट दीर्घकालीन असर नपर्ने भन्दै निर्माणसँगै सञ्चालनमा कुनै अवरोध नगर्ने सहमति गरेका छन्। प्लान्ट निर्माणको क्षेत्रमा खानेपानीको भूमिगत स्रोत नभएका कारण कुनै पनि दीर्घकालीन असर समेत नपर्ने पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीले बताए। 

पंगेनीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म प्लान्ट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आगामी आर्थिक वर्षबाट कर्णाली प्रदेशमा तरल नाइट्रोजन उत्पादन गर्न थालिने छ। यस परियोजना सफल भएमा कर्णाली प्रदेशमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास सरकारको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad