कारोबार


३ वर्षपछि गाउँ फर्किए, बने कृषिबाटै आत्मनिर्भर

३ वर्षपछि गाउँ फर्किए, बने कृषिबाटै आत्मनिर्भर

नेपालखबर
असार ३०, २०८२ सोमबार ६:६, म्याग्दी

रोजगारी र अवसरका लागि गाउँ छाड्ने क्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन्। 

गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटक पटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उनले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाएका थिए।

गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्म गाउँ काफल डाँडा फर्किएका थिए । गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएका छन् । डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म रहेको छ। 

दुई वटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडा खेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न सुरु गरेका छन् । टनेलमा स्थानीय स्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडा खेती गरिएको छ। 

एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडा खेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए। 

‘मैले उत्पादन गरेको गोलभेँडा स्थानीय स्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेँडा उत्पादन गर्ने गरेको छु, गाई भैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग कीरा लागेमा गाई भैँसीको गहुँत र तीतेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन’, उनले भने।

कुमार पुर्जा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब रु छ लाख लगानी गरिसकेको जानकारी दिए।

लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गरेका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्किएका  थिए भने इराकमा दुई पटकसम्म पुगेर फर्कनुपरेको थियो । श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थालेका छन्।

जीवनमा धेरै दुःख, कष्ट र हन्डर खेप्नुभएका पुर्जाले बाउ बाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुनेका छन् । बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारी दिने गरेका छन् । गोलभेँडा खेतीसँगै पुर्जाले काफल डाँडामा परीक्षणको रूपमा स्याउ खेती विस्तार गरेका छन्। 

करिब पाँच रोपनी जग्गामा कृषि खेती गर्दै आएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएका छन् । यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तारमा जुटेको उनले बताए । कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad