ग्लोबल


भारतमा साना २ छोरीका साथ गुफाभित्र भेटिइन् रुसी महिला, जो नेपाल पनि आएकी रहिछन्

भारतमा साना २ छोरीका साथ गुफाभित्र भेटिइन् रुसी महिला, जो नेपाल पनि आएकी रहिछन्

कर्नाटकमा गुफाभित्र दुई साना छोरीसहित भेटिएकी रुसी महिला।


नेपालखबर
असार ३०, २०८२ सोमबार ६:२२, काठमाडौँ

भारतीय प्रान्त कर्नाटकस्थित उत्तरा कन्नडको दुर्गम क्षेत्रमा गुफाभित्र प्रहरीले दुई साना छोरीसहित रुसी महिला फेला पारेको छ।

प्रहरी गस्ती टोलीले गुफामा रुसका नागरिक ४० वर्षीया निना कुटिना, उनका दुई छोरीहरू प्रेमा (६ वर्ष) र एम्मा (४ वर्ष) लाई फेला पारेको हो। 

प्रहरीले गुफाको प्रवेशद्वारमा लगभग ७००/८०० मिटर तल केही लुगा देखेपछि मानिस रहेको संकेत पाएको थियो। 

जंगल हुँदै गस्ती टोली जाँदै गर्दा एक विदेशी बालिका गुफाबाट दौडिँदै बाहिर निस्किइन्। 

उत्तरा कन्नड जिल्लाका प्रहरी अधीक्षक एम नारायणले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हामीले गुफा वरिपरि सर्पहरू घस्रिरहेको देख्यौँ। यो क्षेत्र किन पनि खतरनाक छ भने गत वर्ष रामतीर्थ पहाडवरिपरि पहिरो गएको थियो। त्यसैले प्रहरी टोलीले यस क्षेत्रमा राम्ररी गस्ती गरिरहेको थियो।’

तर रुसी महिला र उनका ससाना २ छोरी त्यो ठाउँमा सहज रूपमा बसिरहेका थिए।

‘त्यहाँ बस्नु खतरनाक छ भनेर उनीहरूलाई सम्झाउन हामीलाई केही समय लाग्यो’, प्रहरी अधीक्षक नारायणले भने।

उनका अनुसार निनाले एक हप्ताअघि केही तरकारी र राशनका सामान ल्याएकी रहिछन्। खाना पकाउन वनको काठ प्रयोग गरेकी रहिछन्। प्रहरीले त्यहाँ चाउचाउका प्याकेट र लोकप्रिय ब्रान्डको सलादको प्याकेट पनि फेला पारेको छ। 

प्रहरी अधिकारीका अनुसार महिला पाण्डुरंग विठ्ठलको मूर्तिको पूजा गरिरहेकी थिइन्। अनि उनले आफूलाई भगवान् कृष्णले आफूलाई ध्यान गर्न पठाएको बताइन्। 

निनाले प्रहरीसँग आफ्नो राहदानी हराएको बताइन्। तर प्रहरी र वन अधिकारीले उनको राहदानी फेला पारे।

ती महिलाले बारम्बार भारत आउने गरेको बताउँदै आफ्नो भिसाको म्याद २०१७ मा सकिएको जानकारी गराइन्।

रुसी महिला निना अक्टोबर १८, २०१६ देखि अप्रिल १७, २०१७ सम्म व्यापार भिसामा भारत आएकी थिइन्।

गोवा विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ)  ले उनलाई अप्रिल १९, २०१८ मा एक्जिट परमिट जारी गरेको थियो। उनी नेपाल आइन् र पछि सेप्टेम्बर ८, २०१८ मा भारत फर्किइन्।

अहिलेका लागि प्रहरीले महिलालाई आश्रम र बच्चीहरूलाई बालगृहमा लगेको छ।

अधिकारीहरूले निना र उनका बच्चाहरूलाई बेंगलुरुमा रहेको विदेशी नागरिकहरूका बनाइएको डिटेन्सन सेन्टरमा लगिने र त्यसपछि रुस पठाइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad