ad ad

कारोबार


काठमाडौँमै गाईभैँसी पालेर मासिक १० लाख आम्दानी

काठमाडौँमै गाईभैँसी पालेर मासिक १० लाख आम्दानी

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १२:१७, काठमाडौँ

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् - काठमाडौँको रामकोटमा भैँसीपालन व्यवसाय गरिरहेका गोरखाका इन्जिनियर कुमार लामिछाने।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गरिरहेका छन्। 

पेसाले सिभिल इन्जिनियर लामिछानेले २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गरिरहेका छन्। लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट व्यवसाय सुरु गरेका हुन्। अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उहाँले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पाल्न सुरु गरेका छन्। 

विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुन्। “सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, लामिछाने भन्छन्।

उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ। उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पुर्‍याउने गरेको उनले सुनाए। 

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० छ। उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन्। दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी भइरहे पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउने गरेका छन्। गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन्। 

लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन्। उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन्। 

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ। गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .