एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरुप २ हजार ६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछन्।
शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिका थिए। यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरेबमोजिम कुल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ।
क्रिकेटदेखि कक्षाकोठासम्मको पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ।
विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरुजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन्। यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन्। उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्।
त्यस्तै दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेलकाे २६ चौकाबापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छ।
त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए।
“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ र यसको लागि हामी क्रिकेट एसोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाइ तथा धन्यवाद दिन चाहन्छौँ। शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।
नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो। यसले सहयोग र स्रोत बढी आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पुर्याउन मद्दत गर्दछ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामग्रीहरु पुर्याउन एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।
कोशेढुङ्गा साबित भएको यो एनपीएल, नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोगी सिद्ध भएको छ।
एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरुप रहेको थियो।
एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्याउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।
Shares

प्रतिक्रिया