काठमाडौंसहित देशभर सिमेन्ट र डन्डीको भाउ घट्दा बालुवा तथा रोडाको भने बढेको छ। इँटाको मूल्य भने स्थिर देखिन्छ।
सरकारी ठेक्कामार्फत हुने विकास निर्माण र व्यक्तिगत निर्माणको काम अपेक्षाकृत ढंगले नबढ्दा सिमेन्ट र डन्डीको भाउ घटेको हो।
पछिल्लो समय सरकारले निर्माण व्यवसायीमाथि धरपकड गरेको घटनाले पनि निर्माण क्षेत्र त्रसित बन्दा माग बढ्न सकेको छैन। जसको असर सिमेन्ट र डन्डीको मूल्यमा देखिएको छ। सिमेन्टको मूल्य बोरामा एक सय रुपैयाँभन्दा बढीले घटेको छ।
पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य अहिले प्रतिबोरा ५६५ रुपैयाँ हाराहारी पर्छ। सिमेन्ट उद्योगको दूरीअनुसार त्यसमा ढुवानी खर्च ८० देखि १८६ रुपैयाँसम्म थपिन्छ। जसका कारण काठमाडौंमा पीपीसी सिमेन्टको प्रतिबोरा मूल्य उपभोक्तालाई ६४५ देखि ७५० रुपैयाँसम्म पर्न जाने व्यापारी बताउँछन्।
यस्तै, ओपीसी सिमेन्टको मूल्य पीपीसीभन्दा ९० देखि १०० रुपैयाँ बढीमा बिक्री भइरहेको छ।
नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका उपाध्यक्ष विकास बज्राचार्यले उद्योगीहरुले विभिन्न कारण देखाएर सिमेन्ट र डन्डीको मूल्य घटबढ गर्ने गरेको बताए।
अमेरिकी डलरको दर, कच्चापदार्थ तथा त्यसको ढुवानी लागतमा भएको मूल्यवृद्धिका कारण सिमेन्ट र डन्डीको भाउमा प्रत्यक्ष असर परेको थियो। सिमेन्ट उत्पादन गर्न चाहिने चुनढुंगामा नेपाल आत्मनिर्भर भए पनि जिपसम, कोइलालगायत आयात गर्नुपर्छ। पछिल्लो समय यी कच्चा पदार्थको मूल्य पनि बढेको छ।

माग पनि घट्ने र मूल्य पनि बढी हुँदा सञ्चालन खर्चसमेत उठाउन नसक्ने देखेर उद्योगीहरुले सिमेन्ट र डन्डीको मूल्य घटाएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउँदै आएका छन्। सरकारले कानुनअनुसारको मूल्य समायोजन सुविधा नदिएको र भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाब बढाइएको भन्दै निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुर्याइएको भन्दै दु:खेसो प्रकट गरे।
यस्तै, डन्डीको मूल्य केही समयअघि किलोको ११८ रुपैयाँसम्म पुगेकामा अहिले ब्रान्डअनुसार १०० रुपैयाँ हाराहारीमा पाइने बज्राचार्यले जानकारी दिए। इँटाको मूल्य प्रतिगोटा १६ रुपैयाँसम्म पर्छ। धेरै मोटो नहुने भक्तपुरे इँटाको मूल्य साढे १३ रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन्।
सिमेन्ट र डन्डीको मूल्य घटे पनि बालुवा र रोडाको भाउ पनि बढेको छ। बज्राचार्यका अनुसार क्रसर सञ्चालन गर्न चाहिने इन्धनको मूल्य बढ्दा उत्पादन लागत बढ्न पुगेको छ। साथै, इन्धनको मूल्यमा भएको वृद्धिका कारण ढुवानी खर्च पनि बढेकाले बालुवा र रोडाको भाउ प्रतिटिपर चार हजार रुपैयाँसम्म महँगिएको छ।
बालुवाको मूल्य यसअघि प्रतिटिपर २५/२६ हजार रुपैयाँ पर्नेमा अहिले बढेर २९/३० हजार रुपैयाँ पुगेको छ। रोडाको भाउ प्रतिटिपर २८ हजार रुपैयाँ पर्नेमा बढेर ३१/३२ हजार रुपैयाँ पुगेको बज्राचार्यले जानकारी दिए।
Shares

प्रतिक्रिया