रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारीलाई जिम्मेवारीबाट हटाउँदै भन्सार विभाग तानेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि जेठ २० गते रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको हो।
‘यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उनले भनेका छन्।
यस्तै मुस्ताङको कोरला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रूपमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको जानकारी उनले दिएका छन्।
उनले भनेका छन्, ‘अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमै हुनुहुन्छ। प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको छ। यसको विस्तृत विवरण आउने नै छ।’
तर छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने, बजेटलाई विवादमा पारिदिनेजस्ता उद्देश्य बोकेर प्रचारबाजी तथा मिडिया ट्रायल भइरहेको आरोप अर्थमन्त्री वाग्लेका स्वकीय उपसचिव ढुंगानाले लगाएका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, ‘यस्तो कार्यमा संलग्न केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केहीमाथि कानुनी उपचार खोजिने चरणमा छ।’
साथै उनले अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा विचार बनाउँदै गर्दा एकपटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोध्न, अर्थतन्त्र, बजेट, भन्सारजस्ता प्राविधिक विषय र यसको प्रक्रियामा सत्य जानकारी राखिदिन वा तथ्यले पुष्टि गरेर मात्रै समाचार सामग्री बनाइदिन सम्बन्धित सबै पक्षलाई अनुरोध पनि गरेका छन्।
Shares

प्रतिक्रिया